PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

Special: ​राष्ट्रिय गानको धूनका सर्जकलाई श्रद्धाञ्जलि दिन न राष्ट्रपति पुगिन्, न प्रधानमन्त्री



सविन ढकाल

Special: ​राष्ट्रिय गानको धूनका सर्जकलाई श्रद्धाञ्जलि दिन न राष्ट्रपति पुगिन्, न प्रधानमन्त्री

काठमाडौँ : गणतन्त्रलाई संस्थागत गर्ने प्रतीकमध्येको एक राष्ट्रिय गानको धूनका सर्जक अम्बर गुरुङलाई श्रद्धाञ्जलि दिन न राष्ट्रपति विद्यादेवी भण्डारी पुगिन्, न प्रधानमन्त्री केपी शर्मा ओली नै।

सामान्य कार्यक्रमको पनि उद्घाटन गर्न पनि पुग्ने राष्ट्रपति भण्डारी गुरुङलाई अन्तिम श्रद्धाञ्जलि दिन राखिएको प्रज्ञा प्रतिष्ठानको डबलीमा पुगिनन्। के आज उनी कुनै कार्यक्रममा व्यस्त थिइन्?

हामीले राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीलाई सोध्यौँ। उनको जवाफ थियो, 'हैन। मंगलबार उहाँको कुनै कार्यक्रम थिएन। राष्ट्रपति दिनभर निवासमा नै हुनुहन्थ्यो।'

बिसन्चोको कारण पो हो कि? अधिकारी भन्छन्, 'राष्ट्रपतिको स्वास्थ्य स्थिति सामान्य नै छ।'

राष्ट्रपतिको केही कार्यक्रम नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको भने पूर्व निर्धारित कार्यक्रम थियो। बिहान ३ नबज्दै गुरुङको निधनको समाचार सार्वजनिक भइसके पनि उनले यतै बसिरहन जरुरी ठानेनन् र सुर्खेत उडे।

त्यहाँ उनले मध्यपश्चिमाञ्चल विश्वविश्वविद्यालयको केन्द्रीय भवनको शिलान्यास गर्ने, विश्वविद्यालयको पाँचौ सिनेटको अध्यक्षता गर्ने, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल भवनको उद्घाटन गर्ने र वीरेन्द्रगरको खुलामञ्चमा एमाले सुर्खेतले आयोजना गर्ने वृहत जनसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो।

भवनको शिलन्यास गर्ने क्रममा २३ मिनेटको भाषण गरी प्रधानमन्त्रीले पटक पटक दर्शक हँसाए।

प्रधानमन्त्री सुर्खेतमै रहे पनि यता उनको स्वकीय सचिवालयले आधिकारिक लेटरप्याड बिनाको प्रेस नोट मिडियामा पठायो। प्रेस सल्लाहकार प्रमोद दाहालको नाममा पठाइएको प्रधानमन्त्रीको शोक सन्देशमा अम्बर गुरुङलाई 'सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने तारा'का रुपमा प्रशंसा गरिएको छ।

साँझ ६ बजे गुरुङको शव आर्यघाटमा खरानी भइसक्दासम्म पनि राष्ट्रपतिको सचिवालयले भने ‍औपचारिक विज्ञप्ति जारी गरिसकेको थिएन।  स्वकीय सचिव भेषराज अधिकारीले भने केही समयमै विज्ञप्ति आइहाल्ने जानकारी दिएका थिए।

गुरुङ सेनाका मानार्थ कर्णेल पनि हुन्। त्यसैले आर्यघाटमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायत सेनाका उच्च पदस्थ अधिकारीहरुले स्यालुट ठोके, श्रद्धाञ्जलि दिए। रक्षामन्त्री भीम रावलले राष्ट्रिय झण्डा ओढाए। तर परमाधिपतिसमेत रहेका राष्ट्रपति भने श्रद्धाञ्जलि दिनसमेत पुगिनन्।

राष्ट्रप्रमुख र सरकार प्रमुख दुवैले राष्ट्रिय गानका सर्जकलाई अन्तिम श्रद्धाञ्जलि दिन जान जरुरी नठाने पनि उपराष्ट्रपति नन्दकिशोर पुन भने प्रज्ञा प्रतिष्ठानको डबलीमा पुगेका थिए। त्यस्तै सार्वजनिक कार्यक्रममा कमै जाने पूर्व राष्ट्रपति डा. रामवरण यादव पनि श्रद्धाञ्जलिका लागि पुगेका थिए। 

प्रधानमन्त्रीको अनुपस्थितिमा गुरुङलाई राजकीय सम्मान दिने नदिने पनि टुङ्गो लागेन। तर राष्ट्रगानका सर्जकलाई भने गृह मन्त्रालयले निर्णय गरी 'राष्ट्रिय सम्मान' दिने निर्णय गर्‍यो।  

पारी (दार्जिलिङ) बाट आएको नाममा गुरुङ आफ्नो जीवनभर नै यसरी नै भेदभावको शिकार भइरहे। महेन्द्रले बोलाएको भरमा नेपाल फर्कने धेरैजसोले राजासँग घर,जग्गा, सम्पति मागे। तर संगीत नै ठूलो सम्पति ठानेर बस्ने अम्बरले धर्तीका सानातिना कुरा माग्ने मन कहिल्यै गरेनन्। र त, उनीसँगै नेपाल आएकाहरु कहाँबाट कहाँ पुगे, उनी जीवनको अन्तिम समयसम्म बूढानिलकण्ठमा भाडाको घरमै बसिरहे जसको भाडा परदेशमा बस्ने उनकी छोरी अलकाले तिर्दै आएकी थिइन्। 

'घरको माया बिर्सेर किन पो यहाँ आयौ नि', 'मनको आगो निभाउन किन पो यहाँ आयौ नि'  जस्ता अर्थपूर्ण शब्द भएका कारण ५५ वर्षअघि भारतको सरकारी अल इन्डिया रेडियोले प्रतिबन्ध लगाएको गीत 'नौ लाख तारा उदाए...' मा  संगीत उनैले भरेका थिए। तर राष्ट्रवादी सरकारका राष्ट्रप्रमुख र सरकार प्रमुखको बेवास्ताका बीच अम्बर हामी सबबाट दूर भए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell