
युरोकप अन्तर्गत आजको पहिलो खेलमा साबिक विजेता स्पेन र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ।
लगातार तेस्रो पटक पनि युरो जित्दै उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा रहेको स्पेनका लागि चेकविरुद्धको खेल निकै महत्वपूर्ण हुनेछ। सन् २००८ र २०१२ मा लगातार दुई पटक युरो जितेको स्पेन जर्मनीसँगै सर्वाधिक तीन पटकको च्याम्पियन हो। यसबीचमा स्पेनले सन् २०१० मा विश्वकप उपाधि समेत जितेको थियो। तर पछिल्लो पटक ब्राजिलमा भएको विश्वकपमा खराब प्रदर्शन गर्दै समूह चरणबाट बाहिरिएपछि स्पेन आलोचित बन्न पुग्यो। उक्त पीडालाई भुल्दै युरोमा आफ्नो पुरानै लय कायम राख्ने दाउमा छ स्पेन।
मुख्य खेलाडी डिएगो कोस्टा, फर्नान्डो टोरेस मिडफिल्डरहरु इस्को, हुवाँ माटा, जाभी मार्टिनेज जस्ता खेलाडीलाई टीममा समावेश नगरेका प्रशिक्षक भिसेन्ट डेल बोस्कले नयाँ र पुराना खेलाडीहरुलाई समावेश गरेका छन्। तर स्पेनको लागि चेक सजिलो भने पक्कै हुनेछैन। नेदरल्याण्ड्स रहेको समूह ए बाट चेक शीर्ष स्थानमा रहँदै युरो २०१६ को लागि छनोट भएको हो। सन् १९७६ मा चेकोस्लोभाकिया अन्तर्गत युरोकपको उपाधि जितेको चेक पहिलो खेलमा स्पेनलाई टक्कर दिने तयारीमा छ।
क्रोएसिया र टर्की पनि यसै समूहमा रहेकाले प्रत्येक टीमका लागि सबै खेल महत्वपूर्ण हुनेछ। गत मार्चमा रोमानिया र इटलीसँग मैत्रीपूर्ण खेलमा बराबरी खेलेको स्पेन गत साता भएको युरो वार्मअफ खेलमा फिफा बरियतामा १३७ औं स्थानमा रहेको जर्जियासँग पराजित भएको थियो। तर युरोका पछिल्ला १२ खेलमा अपराजित स्पेन त्यसैलाई निरन्तरता दिने दाउमा छ।
स्पेनका डेभिड शिल्भा चेकविरुद्ध मैदान उत्रे उनको स्पेनका लागि १०० औं खेल पूरा हुनेछ। शिल्भासँगै फरवार्ड अल्भारो मोराटा, सेस फाब्रेगासको प्रदर्शन हेर्नलायक हुने अपेक्षा गरिएको छ। यस्तै इंग्लिस क्लब चेल्सीबाट गत सिजन आर्सनल पुगेका गोलरक्षक पिटर चेक रिपब्लिकका भरपर्दा खेलाडी हुन्।
स्वतन्त्र भएपछि सन् १९९६ बाट युरो खेल्न थालेको चेकले त्यसपछिका हरेक संस्करणमा सहभागिता जनाउँदै आएको छ। पहिलो संस्करणमै उपविजेता बनेको चेकले त्यसपछि भने उक्त प्रदर्शन दोहोर्याउन सकेको छैन। चेक स्वतन्त्र भएपछि स्पेन र चेकबीच भएको ४ खेलमा स्पेन अपराजित छ, जसमा स्पेनले तीन खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो। यस्तै चेकोस्लोभाकियासँगको खेलमा भने स्पेन चार खेलमा मात्र विजयी भएको थियो भने सात खेलमा हार बेहोरेको थियो। एक खेल बराबरीमा सकिएको थियो।