
युरो २०१६ अन्तर्गत प्रिक्वाटरफाइनलको दोस्रो खेलमा क्रोएसिया र पोर्चुगल भिड्दैछन्। खेल नेपाली समयअनुसार राति १२:४५ बजे यो भिडन्त हुनेछ।
क्रोएसिया र पोर्चुगल दुवै टोली समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन्। तर समूह चरणमा दुवै टोलीको कथा फरक रह्यो।
क्रोएसिया समूह चरणको दोस्रो खेलपछि अन्तिम १६ मा प्रवेश गर्ने निश्चित भएको थियो भने अन्तिम खेलको पनि अन्त्यतिर मात्र पोर्चुगलको नकआउट चरणको यात्रा तय भएको थियो।
क्रोएसियाको लागि साबिक विजेता स्पेन, चेक टर्की जस्ता टोली रहेको समूह डी बाट विजेता बन्दै नकआउट चरणमा छानिनु आफैंमा ठूलो उपलब्धि थियो। अन्तिम खेलमा स्पेनलाई अन्तिम समयतिर गोल गर्दै पराजित गरेको क्रोएसियालाई अझै माथि जाने टोलीको रुपमा हेरिएको छ।
यता समूह एफ बाट सहजै नकआउट चरणमा पुग्ने अनुमान गरिएको पोर्चुगललाई अन्तिम १६ मा पुग्न निकै संघर्ष गर्नुपर्यो। युरो २०१६ मा पोर्चुगल मात्र एउटा यस्तो टोली हो, जो समूह चरणको तीन वटै खेल बराबरी गर्दै नकआउट चरणमा छानिएको हो। समूहको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि तीन पटक पछि परेको स्थिति उल्टाउँलै पोर्चुगलले हंगेरीसँग ३–३ गोलको बराबरी खेलेको थियो।
अघिल्ला दुई खेलमा गोल गर्न नसकेको भन्दै आलोचित बनेका रोनाल्डो फर्ममा फर्कनु पोर्चुगलका लागि फाइदाजनक बनेको छ। अहिलेसम्मको हरेक सहभागितामा क्वाटरफाइनसम्म पुगेको पोर्चुगल सन् २००४ मा घरेलु मैदानमा उपविजेता बनेको थियो। रोनाल्डो फर्ममा आउनु र साबिक विजेता स्पेन, जर्मनी, फ्रान्स, इंगल्याण्ड, इटली भन्दा फरक पटमा पर्नुले पनि पोर्चुगललाई अझै अगाडिसम्म पुग्न मद्दत मिल्नेछ। फ्रान्चका मिचेल प्लाटिनीको ९ गोलको रेकर्ड बराबरी गर्न रोनालडोलाई एक गोलको आवश्यकता छ। यस्तै क्रोएसियाविरुद्ध मैदान उत्रे नानीले पोर्चुगलका लागि १०० क्याच जित्नेछन्।
तर समूह चरणमा शानदार प्रदर्शन गर्दै अघि बढेको क्रोएसियालाई कमजोर आँक्न भने मिल्दैन। सन् १९९६ को पहिलो सहभागितामा युरोको क्वाटरफाइनलसम्म पुगेको क्रोएसिया त्यसको दुई वर्षपछि विश्वकपमा तेस्रो हुँदै सनसनी मच्चाएको थियो। युरो कपमा भने क्रोएसिया क्वाटरफाइनलबाट माथि उठ्न सकेको छैन।
समूह चरणमा सन्तुलित प्रदर्शन गरेको क्रोएसियाका खेलाडीहरु उत्कृष्ट लयमा छन्। स्पेन विरुद्धको खेलमा चोटका कारण अनुपस्थित भएका स्टार खेलाडी लुका मोडरिच पोर्चुगल विरुद्धको खेलमा खेल्ने सम्भावना रहेको छ। यस्तै क्रोएसियालाई कप्तान डारियो श्रनाको प्रेरणादायी नेतृत्व, इभान पेरिसिकको उत्कृष्ट फर्म, मिडफिल्डमा इभान राकिटिक जस्ता खेलाडीको साथ रहनेछ।
विशेष गरी आजको खेल क्रोएसियाको टोलीविरुद्ध रोनाल्डो हुन सक्नेछ।
एकै स्तरका टीम र फर्मले गर्दा युरो २०१६ मा क्रोएसिया र पोर्चुगलको म्याच हेर्नलायक हुने अपेक्षा गर्न सकिन्छ।
इतिहास भने पोर्चुगलको पक्षमा छ। यी दुई टोलीबीच अहिलेसम्म भएका तीन वटा खेलमा पोर्चुगल अपराजित छ। तीन वटै खेलमा पोर्चुगलले कुनै गोल नखाई खेल जितेको थियो। सन् १९९६ को युरो समूह चरण खेलमा पोर्चुगलले क्रोएसियालाई ३–० ले पराजित गरेको थियो। पछिल्लो पटक सन् २०१३ मा भएको खेलमा रोनाल्डोको गोल मद्दतमा पोर्चुगल विजयी भएको थियो।
खेल हुने समय : मध्यरात १२:४५ बजे
हेर्नलायक खेलाडी : लुका मोडरिच- क्रोएसिया, क्रिस्टियानो रोनाल्डो- पोर्चुगल
हेड टु हेड : पोर्चुगल ३, क्रोएसिया ०
रेफ्री : कार्लोस भेलास्को कार्बालो, स्पेन
फिफा वरियता : क्रोएसिया २७, पोर्चुगल ८
युरो सहभागिता : क्रोएसिया ५, पोर्चुगल ७
१२:४५ मा #Cro Vs #Por भिड्दैछन्। प्रिभ्यु : https://t.co/DWoFByldJa तपाईँ कसको पक्षमा?
— PahiloPost (@PahiloPost) June 25, 2016