
युरो २०१६ को अन्तर्गत चौथो प्रिक्वाटरफाइनल खेलमा आज बेलुका फ्रान्स र आयरल्याण्ड भिड्दैछन्।
आयोजक फ्रान्स समूह ए बाट अपराजित रहँदै अन्तिम १६ मा पुगेको हो। आयरल्याण्ड भने तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट चारमा पर्दै नकआउट चरणमा छनोट भएको हो।
तेस्रो पटक उपाधि जित्दै जर्मनी र स्पेनको रेकर्ड बराबरी गर्ने दाउमा रहेको फ्रान्सले समूह चरणमा सोचेअनुरुपको प्रदर्शन गर्न सकेन। रोमानिया र अल्वानियालाई हराउन संघर्ष गरेको फ्रान्सले स्विट्जरल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो।
आयरल्याण्ड भने समूह चरणमा एक जित, एक हार र एक बराबरी नतिजा निकाल्दै पहिलो पटक युरोको नकआउट चरणमा पुगेको हो। स्विडेनसँग बराबरी खेल्दै युरोको सुरुवात गरेको आयरल्याण्ड दोस्रो खेलमा बेल्जियमसँग पराजित भएको थियो तर समूहको अन्तिम खेलमा इटलीलाई स्तब्ध पार्दै आयरल्याण्ड अन्तिम १६ मा पुगेको हो।#Euro2016 अन्तर्गत अहिले ६:४५ मा #IRL Vs #FRA खेल हुँदैछ। प्रिभ्यु : https://t.co/uAYVR4zxks तपाईँको कसको पक्षमा?
— PahiloPost (@PahiloPost) June 26, 2016
पछिल्लो पटक फ्रान्स सन् २००४ मा समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो। तर क्वाटरफाइनलमा ग्रिससँग पराजित हुँदै बाहिरिएको थियो।
त्यसपछि २००८ मा समूह चरण पार गर्न नसकेको फ्रान्स २०१२ मा क्वाटरफाइनलबाटै आउट भएको थियो। तेस्रो पटक उपाधि जित्ने अभियान कायम राख्न फ्रान्सले आयरल्याण्ड विरुद्धको खेलमा निकै सुधार गर्नुपर्ने देखिन्छ।
आश गरिएका स्टारहरु पउल पोग्वा, एन्टोली ग्रिजमन, जिरुड जस्ता खेलाडीले अझै लय समात्न सकेका छैनन्। तर दिमित्री पायटको उदय फ्रान्सका लागि सकारात्मक पक्ष बनेको छ। स्विट्जरल्याण्ड विरुद्धको खेलमा आराम गरेका पायट, एन गोलो कान्टे, ब्लइस मटुइडी आयरल्याण्ड विरुद्धको खेलमा मैदान उत्रने भएका छन्।
फ्रान्समा सबै पोजिसनमा स्टार खेलाडीहरु छन् तर सोचेअनुरुप चल्न सकेका छैनन्। एन्टोनी मार्सिएल, किंग्सले कोमन जस्ता युवा खेलाडी फ्रान्सका लागि नयाँ हतियार बन्न सक्छन्।
यता रोबी बार्डीको गोलको मद्दतमा इटलीविरुद्ध खेलको अन्त्यतिर जित हासिल गरेको आयरल्याण्ड पनि उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा छ। आइरिस स्ट्राइकर सेन लङले फ्रान्स विरुद्धको खेल आफूहरुको लागि ठूलो अवसर भएको बताएका छन्। 'यो कठिन गेम हो, तर हामी यस गेमलाई पनि अन्य गेम जस्तै लिनेछौं,' उनले भने।
लङसँगै कप्तान रोबी केन, जोनाथान वालटरस आयरल्याण्डका मुख्य हतिहारका रुपमा रहनेछन्।
फ्रान्स र आयरल्याण्डबीच अहिलेसम्म १६ खेल भएका छन्। जसमा फ्रान्स ७ खेलमा विजयी भएको छ भने आयरल्याण्डले ४ खेल जितेको छ। बाँकी ५ खेल बराबरीमा सकिएको छ।
खेल हुने स्थान : स्टेड डे लियोन, लियोन
हेर्नलायक खेलाडी : दिमित्री पायट- फ्रान्स, सेन लङ- आयरल्याण्ड
हेड टु हेड : फ्रान्स १६, आयरल्याण्ड ४, बराबरी ५
रेफ्री : निकोला रिजोली, इटली
युरोमा सहभागिता : फ्रान्स ९, आयरल्याण्ड ३
फिफा वरियता : फ्रान्स १७, आयरल्याण्ड ३३