
युरोकप २०१६ अन्तर्गत क्वाटरफाइनलका खेल आजबाट सुरु हुँदैछन्। पहिलो क्वाटरफाइनलमा पोल्याण्ड र पोर्चुगल भिड्ने भएका छन्।
पोल्याण्ड र पोर्चुगलबीचको खेललाई वर्तमान युरोपियन फुटबलका दुई ठुला स्ट्राइकर रोबर्ट लेवान्डास्की र क्रिस्टियानो रोनाल्डोको भिडन्तमा रुपमा लिन सकिन्छ। लेवान्डास्की पोल्याण्डका कप्तान हुन भने रोनाल्डो पोर्चुगलका।
यी दुई फरवार्डलाई आफ्नो टीमका लागि गोल गर्दै खेल जिताउने चुनौती हुनेछ।
क्लब फुटबलमा जमेका यी दुई खेलाडी फ्रान्समा जारी युरोमा भने खासै जम्न सकेका छैनन्। दुवैलाई प्रतियोगिताअघि गोल्डेन बुटको दाबेदारको रुपमा हेरिएको थियो। तर पोल्याण्डका लेवान्डास्कीले अहिलेसम्म गोलको खाता खोल्न सकेका छैनन् भने रोनाल्डोले पोर्चुगलको पछिल्ला दुई जितमा निर्णायक भूमिका खेलेका थिए।
समूह चरणको अन्तिम खेलमा रोनाल्डोले हंगेरीविरुद्ध ३–३ गोलको बराबरी भएको खेलमा २ गोल गरेका थिए। यस्तै प्रिक्वाटरफाइनलमा क्रोएसिया विरुद्ध १–० को जित हात पार्ने क्रममा क्वारेस्माले गोल गर्दा रोनाल्डोले बल उपलब्ध गराएका थिए।
समूह चरणमा २ जित र १ बराबरी नतिजा निकालेको पोल्याण्डले प्रिक्वाटरफाइनलमा स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराएको थियो।
पोल्याण्ड पहिलो पटक युरोकपको क्वाटरफाइनल खेल्दैछ भने पोर्चुगलले क्वाटरफाइनल खेल्न लागेको यो सातौं पटक हो। सन् १९८४ मा पहिलो सहभागितामै सेमिफाइनसम्म पुगेको पोर्चुगलले हरेक संस्करणमा क्वाटरफाइनसम्मको यात्रा तय गरेको छ। सन् २००४ मा घरेलु भूमिमै भएको युरोमा पोर्चुगल फाइनलसम्म पुगेको थियो तर ग्रिससँग पराजित हुँदै उपविजेतामा बनेको थियो।
त्यति बेला युरोमा डेब्यु गरेका रोनाल्डो लगातार चौथो पटक युरो खेल्दैछन्। यस्तै रोनाल्डोले लगातार चार युरोमा गोल गर्ने रकेर्ड समेत राखेका छन्। रोनाल्डो युरोमा सर्वाधिक गोलकर्ता बन्न २ गोलले मात्र पछि छन् भने मिचेल प्लाटिनीको रेकर्ड बराबरी गर्न १ गोलले पछि छन्। प्लाटिनीले सन् १९८४ को युरोमा ९ गोल गरेका थिए। यस्तै रोनाल्डोको गोल संख्या ८ पुगेको छ।
पोल्याण्ड र पोर्चुगलबीच अहिलेसम्म १० खेल भएको छ। जसमा पोर्चुगल ४ र पोल्याण्ड ३ खेलमा विजयी भएका छन्। ३ खेल बराबरीमै सकिएका छन्।
मुख्य प्रतियोगितामा भने पोल्याण्ड र पोर्चुगल भिड्न लागेको यो तेस्रो पटक हो। यसअघि दुई भेटमा दुवै टीमले १-१ खेल आफ्नो पक्षमा पारेका थिए। सन् १९८६ को विश्वकपमा पोल्याण्डले पोर्चुगललाई १–० ले पराजित गरेको थियो भने सन् २००२ को विश्वकपमा पोर्चुगलले पोल्याण्डलाई ४–० ले हराएको थियो।
खेल हुने स्थान : स्टेड भेलोड्रोम, मार्से
हेर्नलायक खेलाडी : रोबर्ट लेवान्डास्की-पोल्याण्ड, क्रिस्टियानो रोनाल्डो-पोर्चुगल
हेड टु हेड : पोल्याण्ड ३, पोर्चुगल ४, बराबरी ३
रेफ्री : फेलिकस ब्राइच, जर्मनी
युरो सहभागिता : पोल्याण्ड ३, पोर्चुगल ७
फिफा वरियता : पोल्याण्ड २७, पोर्चुगल ८
मुख्य उपलब्धि : पोर्चुगल उपविजेता सन् २००४