
फ्रान्समा जारी युरोकप २०१६ अन्तर्गत आज राति हुने दोस्रो क्वाटरफाइनल खेलमा वेल्स र बेल्जियम भिड्दैछन्।
वेल्स प्रिक्वाटरफाइनलमा उत्तरी आयरल्याण्डलाई पराजित गर्दै पहिलो सहभागितामै क्वाटरफाइनलमा पुगेको हो। बेल्जियमले भने प्रिक्वाटरफाइनलमा हंगेरीलाई हराएको थियो।
समूह चरणमा स्लोभाकिया र रसियालाई पराजित गरेको वेल्स इंगल्याण्डसँग पराजित भएको थियो।
सन् १९७२ मा युरोमा डेब्यु गरेको बेल्जियमको यो पाँचौ सहभागिता हो। सन् २००० यता भने बेल्जियमले युरो खेलेको यो पहिलो पटक हो।
पहिलो सहभागितामै तेस्रो बनेको बेल्जियम सन् १९८० मा उपविजेता भएको थियो भने १९८४ र २००० मा समूह चरणबाटै बाहिरिएको थियो।
यस पटकको बेल्जियम टीमलाई गोल्डेन जेनेरेसन वा सुनौलो पुस्ताको नामले चिनिन्छ। बेल्जियमको हरेक पोजिसनमा उत्कृष्ट खेलाडी छन्। यति मात्र नभएर बेन्च पनि बलियो छ बेल्जियमको।
हंगेरी विरुद्धको खेलमा कप्तान एडेन हाजार्ड पनि फर्ममा आएका छन्। हाजार्डसँगै केभिन डे बु्रएन, रोमेलु लुकाकु, टिबाउट कोर्टियस, बेल्जियमका मुख्य हतियार हुन्। यस्तै बेन्चबाट आउने खेलाडीले पनि बेल्जियमको लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। प्रिक्वाटरफाइनलमा हंगेरीलाई ४–० को नतिजामा हराएपछि बेल्जियमको मनोबल उच्च भएको छ।
यता रियल मड्रिड स्टार गारेथ बेलको प्रेरणादायी साथ पाएको वेल्सले पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। बेलको फर्म नै वेन्सको मुख्य हतियार बन्दै आएको छ। फ्रिकिकमा गोल गर्न माहिर बेललाई रोक्न विपक्षी डिफेन्डरलाई मुख्य चुनौती हुनेछ।
युरो २०१६ को छनोट चरणमा वेल्स र बेल्जियम एकै समूहमा परेका थिए। तर दुवै खेलमा वेल्स अपराजित रह्यो। गारेथ वेलको गोल मद्दतमा वेल्सले घरेलु मैदानमा बेल्जियमलाई हराएको थियो भने ब्रसेल्समा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो। छनोट चरण्मा बेल्जियम समूह विजेता तथा वेल्स उपविजेता बन्दै फ्रान्सको यात्रा तय गरेको थियो।
यी दुई टोलीबीच अहिलेसम्म भएको १२ खेलमा बेल्जियमले ५ खेल जितेको छ भने वेल्स ४ खेलमा विजयी भएको छ। बाँकी ३ खेल बराबरीमा सकिएको थियो।
कम्टिटेटिभ टुर्नामेन्टमा वेल्स र बेल्जियम भिड्न लागेको यो पहिलो पटक हो।
खेल हुने स्थान : स्टेड पिएरे माउरो, लिले
हेर्नलायक खेलाडी : गारेथ बेल, एडेन हाजार्ड, केभिन डे बु्रएन
हेड टु हेड : वेल्स ४, बेल्जियम ५, बराबरी ३
रेफ्री : दमिर स्कोभिना, स्लोभेनिया
युरो सहभागिता : वेल्स १, बेल्जियम ५
फिफा वरियता : वेल्स २६, बेल्जियम २
मुख्य उपलब्धि : बेल्जियम फाइनल सन् १९८०