
युरो २०१६ को अन्तिम क्वाटर फाइनलमा आज राति आयोजक फ्रान्स र आइसल्याण्ड भिड्दैछन्।
तेस्रो पटक युरो कपकको उपाधि जित्ने अभियानमा रहेको आयोजक फ्रान्स जित हात पार्दै जर्मनीसँगको सेमिफाइनल भिडन्त पक्का गर्ने दाउमा छ। यता अन्तिम १६ मा इंगल्याण्ड जस्तो उपाधि दाबेदार टोलीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको आइसल्याण्डको मनोबल पनि उच्च छ।
फ्रान्समा युरो खेलिरहेका टोलीमध्ये हरेक खेलमा गोल गर्ने दुई टीममा वेल्ससँगै आइसल्याण्ड पनि हो। पहिलो सहभागितामै क्वाटर फाइनल पुगेर आइसल्याण्डले सनसनी मच्चाइसकेको छ। जारी युरोकै सरप्राइजिङ प्याकेज पनि हो आइसल्याण्ड। त्यसैले पनि फ्रान्स यो मामलामा सजग रहेको हुनपर्छ। उपाधिको दाबेदारका रुपमा रहे पनि फ्रान्सले समूह चरणमा सोचेअनुरुप प्रदर्शन गर्न सकेको थिएन।
समूह चरणमा गोल गर्न संघर्षरत फ्रान्सले प्रिक्वाटर फाइनलमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो। फ्रान्स समूह ए को विजेता बन्दै प्रिक्वाटर फाइनलमा पुगेको हो। आयरल्याण्डलाई २–१ ले हराउँदै फ्रान्स क्वाटर फाइनलमा पुगेको थियो।
यता आइसल्याण्ड भने पोर्चुगल, अष्ट्रिया र हंगेरी जस्ता टोली रहेको समूहबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो।क्वाटर फाइनलमा आइसल्याण्डले एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै इंगल्याण्डलाई २–१ ले स्तब्ध पारेको थियो।
फ्रान्सका लागि एन्टोनी ग्रिज्मनको फर्मले राहत मिलेको छ तर दुई पँहेलो कार्ड खाइसकेको मिडफिल्डर एन गोलो कान्टे र डिफेन्डर एदिल रामी आइसल्याण्ड विरुद्ध खेल्न पाउने छैनन्। कान्टेको स्थानमा योहान कावाये र रामीको स्थानमा युवा खेलाडी उम्टिटीले खेल्ने सम्भावना छ।
आइसल्याण्डले भने इंगल्याण्ड विरुद्ध जित हात पारेको टीमलाई नै निरन्तरता दिने सम्भावना छ।
अहिलेसम्मको ११ भेटमा आइसल्याण्ड विरुद्ध फ्रान्स अपराजित छ र सोही यात्रालाई कायम राख्न चाहन्छ। ११ पटक आमने सामने हुँदा फ्रान्न्स ८ खेलमा विजयी भएको छ भने ३ खेल बराबरीमा सकिएका छन्।
यता इंगल्याण्डलाई निराश पारेको आइसल्याण्डलाई अर्को स्तब्धपूर्ण नतिजा आत्मसाथ गर्ने योजनामा छ।
आयोजक फ्रान्सले यसअघि घरमै हुँदा सन् १८८४ मा युरो र सन् १९९८ मा विश्वकप उपाधि जितेको थियो। त्यसैले पनि घरेलु मैदानमा खेल्दा फ्रान्सलाई सधैँ फाइदा हुने गर्छ। पछिल्लो पटक सन् २००० मा युरो च्यामिपयन बनेको फ्रान्सको प्रदर्शन त्यसपछिका युरोमा भने राम्रो छैन। गत संस्करणमा फ्रान्स क्वाटर फाइनलमा स्पेनसँग हारेको थियो।
खेल हुने समय मध्यराती १२ः४५ बजे
खेल हुने स्थान स्टेड डे फ्रान्स, सेन्ट डेनिस
हेर्नलायक खेलाडी एन्टोनी ग्रिज्मन, फ्रान्स, आरोन गुनारसन, आइसल्याण्ड
हेड टु हेड फ्रान्स ८, आइसलयाण्ड ०, बराबरी ३
रेफ्री बियोन कुइपरस, नेदरल्याण्ड्स
युरो सहभागिता फ्रान्स ९, आइसल्याण्ड १
फिफा वरियता फ्रान्स १७, आइसल्याण्ड ३४
मुख्य उपलब्धी फ्रान्स विजेता सन् १९८४, २०००