
काठमाडौँ : हिन्दी फिल्म निर्देशक शिरिष कुन्दरको सर्ट फिल्म 'कृति' लाई नेपाली फिल्म निर्देशक अनिल न्यौपानेले कपिराइट क्लेम गरेर युट्युबबाट हटाएका थिए। लगत्तै उनको सर्ट फिल्म 'बब' पनि युट्युबले हटायो।
तर सो विषयले अहिले अर्कै मोड लिएको छ। विवादका बीच शिरिष कुन्दरको फिल्म पुन: युट्युबमा राखिएको छ। र कुन्दरले अनिल न्यौपानेको आरोपका कारण उनको फिल्ममा भएको घाटाको क्षतिपूर्ति स्वरुप ५ करोड रुपैयाको माग राखेका छन्।
फिल्म हटाइएको १७ दिनपछि पुन: युट्युबमा राखिएको हो। अनिल न्यौपानेले आफ्नो नेपाली लघु फिल्म 'बब'को कथा हुबहु नक्कल गरिएको भन्दै २०१६ जुनमा सार्वजनिक 'कृति' माथि आरोप लगाएका थिए।
त्यसपछि कुन्दरलाई मेन्सन गर्दै सामाजिक संजालमा लगातार कडा आलोचना भयो। आरोप लगाएको १४ दिनसम्ममा अनिलले फिल्म चोरीनै भएको हो भन्ने प्रमाणित गर्नुपर्ने थियो। तर सकेनन्। यस विषयमा शिरिष कुन्दरले प्रतिक्रिया दिदैँ भनेका छन् - 'मैले भनेकै थिए सत्यको जित हुन्छ। मलाई धोका भयो र घाटा व्यहोर्नु पर्यो। ममाथि डिजिटल मेलिनियम कपिराइट एक्ट अब्युज भएको हो।'