PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

​सिंहदरबारमा एमाले नेता Vs प्रधानमन्त्री : यसरी भयो सवाल जवाफ



मनोज सत्याल

​सिंहदरबारमा एमाले नेता Vs प्रधानमन्त्री : यसरी भयो सवाल जवाफ

काठमाडौँ : निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधबार डाकेको बैठकमा एमाले नेताहरुले प्रश्नमाथि प्रश्न तेर्स्याए। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा प्रधानमन्त्रीले निर्वाचनको विषय प्रवेश गराएलगत्तै एमाले नेताहरुले संविधान संशोधनको विषय उप्काएका थिए। 

बैठकमा सहभागी हुन एमालेका उपाध्यक्ष वामदेव गौतम, भीम रावल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अग्नि खरेल पुगेका थिए। माओवादीका तर्फबाट प्रधानमन्त्री प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए।  
 
प्रधानमन्त्री : स्थानीय निकाय निर्वाचन गर्ने कि स्थानीय तहको निर्वाचन गर्ने, निर्वाचनलाई कसरी सहज बनाउने भनेर बोलाएको हुँ। 

एमाले : तपाइँले संविधानको संशोधन प्रस्ताव दर्ता अगाडि बोलाएको भए सुल्टो हुन्थ्यो। यो कतै तपाइँले संशोधन प्रस्ताव दर्ता गरियो, अब चुनावको कुरा अगाडि सारियो भने एमालेले पो चुनावमा व्यवधान गर्न खोजेको रहेछ। सरकार त एकदमै चुनाव गर्न खोज्दो रहेछ भनेर बाहिर जनतालाई देखाउन यो बैठक बोलाउनु भएको हो? हो भने तपाईँको यो तर्कले काम गर्दैन। 

प्रधानमन्त्री : हैन हामीले त्यो आशयले बोलाएका होइनौँ। चुनाव नै गर्ने आशयले बोलाएको हो। 

एमाले : चुनाव नै गर्ने आशयले बोलाएको हो भने जुन संशोधन प्रस्ताव अगाडि सार्नु भएको छ, त्यसले जुन पक्षलाई सम्बोधन गर्ने भन्नुभएको थियो, त्यसले पनि मान्दैनौँ भनेको छ। जनता त आन्दोलित भइसके। अब यस्तो स्थितिमा अहिले स्थानीय चुनाव कसरी गर्ने भनेर छलफल गर्नु भन्दा समग्र राजनीतिबारे पनि सोच्नु धेरै बुद्धिमानी होला। 

प्रधानमन्त्री : संसदबाट नयाँ कानुन ल्याउनुपर्ने भएकाले अवरोध आदि इत्यादि भयो भने अप्ठेरो हुन्छ। 

एमाले : अप्ठेरो त यसैपनि विभिन्न ठाउँबाट जनताले आवाज उठाएपछि सजिलो त कहाँ हुन्छ। तर निर्वाचनको पक्षमा हामी छौँ। 
हामी पुर्नसंरचना आयोगले ल्याएको प्रतिवेदनलाई सम्मान गर्ने कुरामा तयार छौँ। त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ। स्थानीय तहको निर्वाचन होस् कि अरु निर्वाचन कानुन निर्माण गर्ने कुरामा हामी एकदमै तम्तयार छौँ। यस सम्बन्धमा हाम्रो भूमिका एकदमै सकरात्मक हुन्छ।

प्रधानमन्त्री :  हामी चुनावमा जान तयार छौँ। त्यसमा शंका नगर्नुहोस्। 

एमाले : हामीले शंका त नगर्ने भनेको हो। तर तपाईँहरुले संविधान संशोधन जसरी ल्याउनुभयो। त्यत्रो जनताको विरोध छ। तपाईँहरुले मन्त्रिपरिषद्बाट संघीय आयोगले पहिले संविधान सभामा पेश भएका विभिन्न प्रतिवेदन पनि हेर्ने भन्नु भएको छ रे। ती प्रतिवेदनमा छलफल भएर टुङ्गो लागिसक्यो। त्यसको आशय त नयाँ प्रकारको अन्यौल र भ्रम सिर्जना गर्ने देखियो। 

प्रधानमन्त्री : त्यो होइन। सामन्य किसिमको हो। 

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि सहभागी थिए। बैठकपछि निधिले प्रधानमन्त्रीले चैतको अन्तिममा निर्वाचन गर्न प्रस्ताव गरेको बताए। बैठकमा प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायको निर्वाचन गर्ने कि स्थानीय तह भनेर जिज्ञासा राखेका थिए। 

निधिका अनुसार एमाले उपाध्यक्ष गौतमले केको निर्वाचन गर्ने स्पष्ट हुन आग्रह गरेका थिए। 

बैठकपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचन संघीयताको प्रस्थान बिन्दु हुने बताए। दलहरु निर्वाचनका लागि तयार भएको र अब मधेसी मोर्चासँग पनि निर्वाचनबारे छलफल गर्ने जानकारी उनले दिए।
 
एमाले उपाध्यक्ष भीम रावलले बैठकमा प्रधानमन्त्रीसहित सत्तारुढ दलहरुको जवाफ चित्तबुझ्दो नभएको बताएका थिए। 'स्थानीय तह निर्वाचन कि स्थानीय निकाय भन्ने जहाँसम्म प्रश्न छ। हाम्रो प्राथमिकता पुर्नसंरचना आयोगको प्रतिवेदनलाई स्वीकार गरेर निर्वाचन गर्नुपर्छ भन्ने छ', रावलले भने, 'तर चुनाव गर्ने पक्षमा छौँ भन्ने हो भने हामी स्थानीय तहबारे पनि सोच्न सक्दछौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell