२०५२ देखि २०६२ को दशकलाई एक युग मानिदिने हो भने युग बदल्ने युद्धको मोर्चामा बलिदानका लागि तयार भएका लालसेनाको कमाण्डर द्वय हुन जर्नादन शर्मा प्रभाकर र नेत्रविक्रम चन्द विप्लव। युद्ध मैदानमा सँगै लडाई लडेका, धेरै प्रहार झेलेका हुन् सँगसँगै। लाल संघर्षका धेरै मोर्चाहरुमा उनीहरुको समान सहभागिता र एकताको लामो कहानी छ उनीहरुको।
संयोग या वाध्यता वा राजनीतिको भवितव्य, २०७४ असार २७ मा नेपाल बन्दको प्रदर्शन गर्दैगर्दा गृह मन्त्रीको कुर्सीमा छन् उतिबेलाका छापामार प्रमुख प्रभाकार। र, उनै गृह मन्त्रीका विरुद्ध थियो मंगलवारको विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको नेपाल बन्द। मंगलवारको बन्दको क्रममा अनिल शर्मा, मकर गुरुङ, पूर्ण सिंह, रत्न मगर लगायतका दर्जन नेता कार्यकर्तालाई उनकै शब्दमा 'देउवा-प्रचण्ड मण्डली सरकार'का गृह मन्त्री जर्नादन शर्माले पक्राउ गरे। विप्लवको दलका प्रवक्ता तथा अर्का युद्धकालीन सारथी खड्गबहादुर बिक, प्रकाण्डले यस्तै आरोप लगाए।
गृह मन्त्री जनार्दन शर्मा पनि के कम? उनले नेकपाका कोही पनि नेता–कार्यकर्ता पक्राउ नै नपरेको दाबी गरेर विप्लव बन्दको औचित्य नै शून्यमा रहेको देखाए। पूर्व सहयात्री नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गिरफ्तार गरिएका आफ्न नेता–कार्यकर्ता रिहाईको माग गर्दै आव्हान गरेको नेपाल बन्दले स्कुले केटाकेटीको पढाई लेखाई रोक्ने बाहेक ठूलो धक्का नदिएका बेला गृह मन्त्रीले मागकै औचित्यमाथि प्रश्न उठाए।
गृह मन्त्री शर्माले स्थानीय तहको चुनावको क्रममा 'चुनाव विरोधी गतिविधि गर्ने' केही व्यक्ति पक्राउ परेको भए पनि उनीहरु सबै रिहा भइसकेको बताएर विप्लवको माग सम्बोधन भैसकेको दाबी गरे।
‘चुनाव सफल पार्न चुनाव विरोधी गतिविधि गर्नेहरु केही पक्राउ परेका थिए। ती नेकपाका नेता–कार्यकर्ता मात्र थिएनन्,’ गृह मन्त्री शर्माको थप दाबीमा, ‘चुनाव सकिएलगत्तै उनीहरु सबै रिहा भएका छन्। रिहाइको माग राखेर बन्द आव्हान गर्नुको कुनै अर्थ छैन।’ विप्लवको दलको पछिल्लो बन्दलाई गृह मन्त्रालयकै शब्दमा विफल पारेर उनी विदेश भ्रमणका लागि रावणको देश लंकातिर उड्न पनि भ्याए।
तर, गृह मन्त्री शर्माको दाबीलाई सरासर झुट भनेका छन्, विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले। खासै प्रभावशाली नदेखिएको बन्दपछि जारी विज्ञप्तिमा गृह मन्त्री तथा पूर्व सहकर्मी शर्माको धज्जी उडाउँदै गृह मन्त्री थप निरंकुश बनेको आरोप लगाएका छन्।
यसरी हेर्दा नेपाली सत्ता राजनीति र सडक राजनीतिमा आमने सामने हुने दुई पात्र र शक्तिमा देखिएका छन, जनयुद्धकालीन माओवादीका दुई खेमा विप्लव र प्रचण्ड। प्रचण्ड सत्ताधारी माओवादीका रुपमा जर्नादन शर्माको स्वरुपमा जाइ लागिरहेका छन् विप्लवहरु माथि। र, विप्लवहरु आफूलाई तत्कालिन विद्रोही माओवादीको निरन्तरताका प्रतिक बनेर जुधिरहेका छन्, उनै प्रचण्ड विरुद्ध कहिले बन्दको बहानामा, कहिले चुनाव गर्ने र बिथोल्ने बहानामा। अनि साँढेको जुधाइमा बाच्छाको मिचाइ झै बन्दैछन्, जनता।
सिंहदरवारमा गृह प्रशासनको ताला चाबी लिएका गृह मन्त्री पनि पूर्व माओवादी कमाण्डर। सडकमा नेपाल बन्दको आव्हान गर्ने पनि पूर्व माओवादी कमाण्डर। सँगै मर्ने/मार्ने कसम खाएकाहरु आज आफैं नदीका दुई किनार बनेर भिडिरहेका छन्, त्यो जनताका नाममा। यो प्रभाकार र विप्लवहरुले आफू को कति पानीमा भन्ने देखाउने राम्रै खेल होला। को झेली, को असली भन्ने पनि उनीहरु नै जानुन्। तर, जनताको नाममा गृह सुशासन दिएको दाबी गर्ने शर्मा र उनैले आफ्ना नेता कार्यकर्ता अनाहकमा थुनिदिए भन्ने विप्लवको गुनासो जनताका लागि कहर सिवाय थप केही होइन- कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने झै।
प्रभाकार र विप्लव को सक्कली र को नकल्ली हुन? यसको जवाफ त समय क्रममा जनताले नै दिँदै जालान्। तर, यसरी हिजोको दशक लामो लाल क्रान्तिका कमाण्डरहरु नै आपसमा भिड्ने र जनता पिल्सिने यो कहाली लाग्दो राजनीतिले सोधिरहेछ, के २०६३ मंसिर ५ मा भएको वृहत शान्ति सम्झौता फेल भएको प्रमाण यही हो? माओवादीका थरी थरीका झुण्ड यसरी लडिरहने यो प्रवृक्तिको क्रमभंग चाहिँ कहिले हुने त?