काठमाडौं : भरतपुरमा आयोजित चुनावी कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू पूर्वसुप्रिम कमाण्डर भएकोमा गौरवान्वित महसुस गरे। प्रचण्ड भनार्इ थियो, ‘तपाईहरुलाई हामी पूर्वजनमुक्ति सेना भयौँ, हाम्रो भूमिका पार्टीले बुझेन भन्ने लागेको होला। तपाईहरु मात्र होइन, म पनि पूर्व नै भएँ। तपाईहरु पूर्वजनमुक्ति सेना, म पूर्वसुप्रिम कमाण्डर। तपाईहरुका समस्या मैले भुलेको छैन। पार्टी एकता हुँदैछ, एकतापछि बन्ने पार्टीले पनि तपाईहरुको योगदानको सम्मान गर्छ। तपाईहरुको भविष्यबारे सोच्छ।’
पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुलार्इ पूर्वजनमुक्ति सेनाको उचित सम्मान र जीवन निर्वाहलाई व्यवस्थित गर्न अनुरोध गरेका प्रचण्डले अब उनीहरुकै साथ मागे थप समाजवादी यात्राको सफलताका लागि। खासमा प्रचण्डलाई मत चाहिएको छ, चितवन ३ बाट। त्यहाँका रैथाने मतदाताबाट। हिजो जनमुक्ती सेनाका सुप्रिम कमाण्डर हुँदै भूतपूर्व हुनुमा प्रचण्डले गौरव गरे पनि भोलि चितवन ३ बाट निर्वाचित माननीय हुन नसकेमा उनलाई निकै ठूलो संसदीय राजनीतिक चोट लाग्ने निश्चित छ। पूर्वसुप्रिम कमाण्डर हुनुमा गौरवान्वित महसुस गरेका उनले फेरि भूतपूर्व माननीय, सम्माननीयमा चिक्त बुझाउने अवस्था छैन नै।
तर, प्रश्नको घेरामा रहेका उनले फेरि निर्वाचित माननीय हुने मौका पाउलान त चितवन ३ बाट? यो प्रश्नको उत्तरबाट प्रचण्डको भावी राजनीतिक दैनिकीको नक्शा कोरिने छ। मानौँ चितवनको मतदाताले प्रचण्डलाई आगामी चुनावमा विजयी गराएन्न भने के होला प्रचण्डको संसदीय राजनीतिक कोर्षको भविष्य? कता जाला वाम गठबन्धन? के होला भावी वाम सरकारको सपना?
यस्ता अनगिन्ती प्रश्नहरुको जवाफ सकारात्मक बनाउन प्रचण्डको चितवने दैनिकी बढेको छ। उनलाई हिजोका संघर्ष, सम्झौता वा विजयले पुगेको छैन। फेरि जित्नु छ जनताको विवेकी मतमा। आफैलाई बुलेट संघर्षमा अल्पविराम लगाएर ब्यालेट संघर्षमा रुपान्तरण गरेका प्रचण्डले आफैले खनेको चुनावी खाल्टो पार गर्लान कि आफै जाकिएलान? प्रचण्डको प्रचण्ड प्रयत्न जितकै खातिर जारी छ।
प्रचण्डको विजयका लागि चितवन ३ कति सहज? प्रचण्ड चितवनकै बासिन्दा हुन। उनले राजनीतिक जीवनको धेरै समय त्यही खर्चे। विद्यार्थीदेखि शिक्षक हुँदा वा आन्दोलन तथा संघर्षको भूमिकामा उनी त्यही खाइखेली गरे। जन्म र कर्म भुमि पनि हो उनको चितवन। यस अर्थमा उनले जीतका लागि मतदातासँग अस्वीकृत हुनै पर्ने कारण कम छन। आफ्नो दोस्रो प्रधानमन्त्री कालमा उनले चितवनमा नै विकासे योजना, परियोजनाहरुको बाढी लगाएका छन। चुनाव लक्षित उनको विकासे योजनाको व्याजमा निर्वाचित माननीय हुने हक खोजिरहेका हुन।
गत स्थानीय चुनावमा कांग्रेससँगको सहकार्यमा उनले सिँगै भरतपुर महानगरमा आफ्नी छोरी तथा नेतृ रेणु दाहाललाई मेयर पनि बनाउन सकेका छन। छोरीको स्थानीय नेतृत्वमा उनलाई थप साथ दिन उनले आफै निर्वाचित माननीय हुन खाजेकामा स्थानीयले अन्यथा मान्नु पर्ने अवस्था नहुन सक्छ।
प्रचण्ड माओवादीका पूर्वसुप्रिम वा माओवादी केन्द्रका सदावहार अध्यक्ष, वाम एकताका एक निर्णायक नेता वा पूर्वप्रधानमन्त्री मात्रै होइन्न। उनी अपेक्षा गरिएको भावी वाम सत्ताका एक सञ्चालक र डिजाइनर पनि हुन। पार्टी राजनीतिभन्दा बढी देशकै राजनीतिका एक केन्द्रीय निर्णायक पात्र चितवन ३ का मतदाताको स्वीकृतिमा संसद भवनमा निर्वाचित माननीयका रुपमा प्रवेश गर्दा अन्यथा मान्नुपर्ने अवस्था छैन। किनभने देशकै राजनीतिलाई दिशा दिन सक्ने खुबीका प्रचण्ड एक संसदीय निर्वाचन नै हार्ने खालका प्रत्याशी होइन्न नै।
तर खतरामुक्त छैन प्रचण्ड जोखिम
राष्ट्रिय राजनीतिका एक शक्तिशाली खेलाडी, उच्च कदका वाम नेता प्रचण्डका लागि मुख्य चुनौती अर्का व्यवसायी, नेता, मन्त्री बिक्रम पाण्डे नै हुन। मन्त्री पाण्डे एक त्यस्ता प्रतिस्पर्धी पात्र हुन जसले प्रचण्डलाई सहज जितका दाबेदार बन्न पलपल र हर ठाउँमा चुनौती दिइरहेका छन। अघिल्लो संसदमा क्षेत्र नम्बर ५ बाट निर्वाचित माननीय र मौजुदा मन्त्री रहेका पाण्डे चितवन ३ का घरघरका जनले चिने जानेका सुख, दु:ख तथा विकासे काममा जोडिएका स्थानीय रैथाने हुन। चितवनमा जति समय प्रचण्ड खर्चन्छन, त्यसको तुलना नै हुन सक्दैन पाण्डेसँग। चितवन ३ का मतदाताका लागि प्रचण्ड र पाण्डेको छनौट आफैमा असहज राजनीतिक खेल मात्रै होइन, विवेकको समुचित प्रयोग गर्ने एक चुनावी अग्नि परीक्षा पनि हो।
हर जनताका विकासे काममा जोडिएका पाण्डे प्रचण्डको तुलनामा मतदातासँग भिजेका विकासकर्मी ज्यादा र नेता कम हुन। देशको केन्द्रीय राजनीतिमा प्रचण्डका कार्यकर्ता सरह मानिए पनि पाण्डे स्थानीय मतदातासँगको उठबस र साइनोमा प्रचण्डभन्दा बढी घुलमिल भैरहेका हेभीवेट नै हुन। पाण्डेको व्यवसाय, साम, दाम, दण्डभेद र स्थानीयसँगको सामिप्यता छिचोल्न प्रचण्डको असामान्य चुनौती हो।
समानता, भिन्नता, आवश्यकता र वाध्यता
दलीय नेतामा, पार्टीका तुलनामा पाण्डेका लागि प्रचण्ड अतुलनीय ठूला नेता हुन। तर, चुनावमा एकएक मतदातासँगको सामिप्यताको प्रभाव हुन्छ। यो कोणबाट हेर्दा पाण्डे नै प्रचण्डलाई भारी पर्नसक्छन। राप्रपा प्रजातान्त्रिकका तर्फबाट पाण्डेले चुनावै जिते पनि भावी प्रधानमन्त्री होइन्न, न त सत्ताका निर्णयक पात्र नै बन्न सक्छन। तर, प्रचण्ड जितेमा चितवन सत्ताका ठूला नेताको चुनाव क्षेत्रमा रुपान्तरित हुनेछ। चितवन ३ का मतदाताले प्रचण्डलाई जिताएमा घर आँगनमा प्रधानमन्त्री पाउन सक्छन। यो स्थानीय मतदाताका लागि सुखद संयोग हुन सक्छ। तर, पाण्डेलाई गुमाउँदा स्थानीयले विकासे सारथीको साथमा केही असहज महसुस गर्नुपर्नेछ। व्यवहारिक पाटोका नेता पाण्डे रोज्ने कि गौरवसँग जोडिने प्रचण्डलाई चुन्ने भन्ने कुरा मतदाताका लागि यक्ष प्रश्न हो।
विकासका मामलामा प्रचण्ड पनि पाण्डेभन्दा कम नहुँन सक्छन। तर, पाण्डे सरह फिल्डमा धारा, पानी, बिजुली र पुल बनाउने सुविधामा छैन्न प्रचण्ड। एलायन्सकै हिसाबमा पनि कांग्रेसको मुख्या गढ मानिएको चितवनमा पाण्डेले कांग्रेसको समर्थन पाउन उनका लागि राजनीतिक जीवनकै सबैभन्दा बलियो पक्ष हो। तर पञ्चायत विरुद्ध संघर्ष गरेका चितवनवासी कांग्रेसीले उनै पञ्चायती अवशेषका प्रतिनिधि पाण्डेलाई लाइन लागेर भोट देलान वा नदेलान? यसै भन्न सकिन्न। केन्द्रमा नेता मिले पनि स्थानीय तहमा समर्थकहरु पार्टी नीतिअनुसार गठबन्धनलाई भोट दिन मन्जुर देखिदैन्न भन्ने त भरतपुरको मेयर चुनावले पनि सिद्ध गरेको आलोकमा गठबन्धन पाण्डेका लागि शतप्रतिशत फलिफाप होला भन्ने ग्यारेन्टी पनि छैन।
एमालेसँगको साथ र भावी एमाले नेता आफै हुने सम्भावनाकाबीच प्रचण्डको गठबन्धन आफैमा कमजोर छैन। माओवादीको स्थानीय प्रतिरक्षात्मक अवस्थामा एमालेको बलियो संगठन शक्ति, अनुशासित कार्यकर्ता पंक्ति प्रचण्डका थप बल नै हुन। देशव्यापी बढ्दो वाम लहर र संगठित प्रचार शैलीले उनलाई मतदाताको मत लिन सहजता नै थपेका छन।
थाहा छैन, चितवन ३ का मतदाताले संसद मल प्रवेशको ढोका चितवनबाटै बन्द गरिदिन्छन कि खुल्ला पारिदिन्छन। तर, एउटा कुरा निश्चित हो। प्रचण्ड देशकै नेता भएर पनि चितवन ३ मा जीत सुनिश्चित गर्न भने चौतर्फी दबाबमा चेपिएका छन। प्रत्याशीलाई भन्दा बढी मतदातालाई भारी देखिएको चुनावी समर हो, आगामी चुनाव। किनभने ठूला नेता प्रचण्ड कि नजिकका नेता पाण्डे भन्ने छनौट निकै वाध्यात्मक छनौट हो स्थानीय मतदाताका लागि।