PahiloPost

May 14, 2024 | १ जेठ २०८१

गुल्मीमा एमालेको सूर्य Vs कांग्रेसका दुई चन्द्र



चन्द्रकान्त खनाल

गुल्मीमा एमालेको सूर्य Vs कांग्रेसका दुई चन्द्र

रुपन्देहीः मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा गुल्मीमा चुनावी माहोल तातेको छ। २०७० को दोस्रो संविधानसभा चुनावमा ३ क्षेत्र रहेको गुल्मीमा अहिले २ क्षेत्र भएका छन्।

एमालेका दुई पूर्वमन्त्री र कांग्रेस केन्द्रीय सदस्यबीच प्रतिस्पर्धा हुने देखिएको छ। दोस्रो संविधानसभा निर्वाचनमा दुई क्षेत्रमा नेपाली कांग्रेसले जितेको थियो भने एउटामा एमालेका उम्मेदवार विजयी भएका थिए।

त्यस बेला क्षेत्र नम्बर १ बाट कांग्रेसका कृष्ण छन्त्याल र २ मा कांग्रेसकै चन्द्र भण्डारी विजयी भएका थिए। क्षेत्र नम्बर ३ मा एमालेका गोकर्ण विष्टले निर्वाचन जितेका थिए।

निर्वाचन क्षेत्र बचाउने र भत्काउने होडबाजीका कारण गुल्मी निकै चर्चामा छ। मंसिर २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा दलका पुराना किल्ला जोगिएलान वा नयाँ निर्माण होलान भन्ने धेरैमा चासो छ।

निर्वाचन क्षेत्र गाभिएको र नयाँ मतदाता थपिएका कारण दुबै दलका नेताहरु मत पक्षमा पार्न मतदाको घर–घरमा पुगेका छन्। कोही विजयी घोषणा गर्न मात्र बाँकी रहेको बताउँछन् कोही आरोप र प्रत्यारोपमा व्यस्त छन्। अन्य जिल्लाको तुलनामा गुल्मीको प्रचार शैली फरक छ। जहाँ एमाले नेता ज्ञवाली र कांग्रेस नेता भण्डारी आफूले गरेका कामको प्रमाण देखाउँदै मत माग्न हिँडेका छन्।

 

ज्ञवाली भर्सेस भण्डारी

गुल्मी–१ बाट कांग्रेसका नेता चन्द्र भण्डारीसँगै एमालेका सचिव प्रदिप ज्ञवाली चुनावी मैदानमा छन्। अघिल्लो चुनावमा ज्ञवाली भण्डारीसँगै पराजित भएका थिए। भण्डारीमाथि जितलाई निरन्तरता दिने चुनौती छ।

यस्तै, ज्ञवालीलाई भण्डारीको वर्चश्व तोडेर आफ्नो पक्षमा जनमत ल्याउनु पर्ने चुनौती छ। दुबै राष्ट्रिय स्तरका नेता भएकाले गुल्मी–१ मा चुनावी सरगर्मी निकै तातेको छ।

एमाले नेता ज्ञवालीले यसपटक माओवादी केन्द्रको पनि समर्थन रहेकाले नजिता आफ्नो पक्षमा आउने बताए। उता कांग्रेस नेता भण्डारी भने लोकतान्त्रिक गठबन्धनको विकल्प नभएकाले आफ्नो जित निश्चित रहेको दाबी गर्छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ कुल मतदाता छन्।

कालीगण्डकी, सत्यवती, रुरु, छत्रकोट, गुल्मी दरबार र चन्द्रकोट गाउँपालिकाका साथै रेसुङ्गा नगरपालिकाका ७ देखि १४ वडासम्म गुल्मी–१ पर्छ। रेसुंगा नगरपालिका बाहेक ६ वटा गाउँपालिकामा एमाले र कांग्रेस ३÷३ तहमा विजयी भएका छन्।

क्षेत्र –१ मा पर्ने रेसुङ्गा नगरपालिकाका ८ वडामध्ये ४÷४ वटामा एमाले र कांग्रेस विजयी भएका थिए। रेसुंगा नगरपालिकाको मेयर र उपमेयर एमालेले जितेको छ। गुल्मी सदरमुकाम तम्घासको कांग्रेस लालकिल्ला रहेको रेसुङ्गा एमालेले जितेको थियो। तर, नगरपालिकाका वडाध्यक्ष र गाउँपालालिकाका अध्यक्षहरुको मत जोड्दा एमालेभन्दा कांग्रेस अघि देखिन्छ। उसले ३६ हजार ८ सयभन्दा बढी मत पाएको छ।

रुरु गाउँपालिकामा कांग्रेसबाट जितेका उपाध्यक्षले पाएको मत पनि यसमा जोडिएको छ।  तर लोकतान्त्रिक गठबन्धनमा राप्रपाको मत जोडिएको छैन। त्यस्तै, एमालेले करिव ३५ हजार ४ सय मत पाएको छ। माओवादीले भने ७ हजार एक सयभन्दा बढी मत पाएको छ। वाम गठबन्धनको पक्षमा अहिले ४२ हजार ५०० मत छ। कांग्रेसभन्दा ५ हजार बढी मत गठबन्धनको छ।


बिष्ट र केसीबीच प्रतिस्पर्धा

गुल्मी–२ को चुनावमा एमाले युवा नेता गोकर्ण विष्ट र कांग्रेसका चन्द्रबहादुर केसीबीच प्रतिस्पर्धा हुँदैछ। पूर्व ऊर्जामन्त्री विष्टलाई  आफनो जित निरन्तरता बनाउनु छ भने  केसी नयाँ भएको कारण आफनो लोकप्रियता कायम गर्नु रहेको छ। एमाले नेता विष्ट निर्वाचनमा आफू ठूलै अन्तरले विजय हुने दाबी गर्छन्।

९० हजार ९१७ मतदाता रहेको गुल्मी–२ मा विपक्षीभन्दा दोब्बर मत ल्याउने बिष्टको दाबी छ। कांग्रेस उम्मेदवार केसीले विष्टले सजहै चुनाव जित्ने अवस्था नरहेको दाबी गरे। उनले आफू यस क्षेत्रको स्थानीय रुपमा भिजेको उम्मेदबार भएकाले विष्टलाई पराजित गर्ने बताए।

यस्तो छ स्थानीय तहको मत

गुल्मी–२ अन्तर्गत मालिका, मदाने, धुर्कोट र इस्मा गाउँपालिकाका साथै मुसीकोट नगरपालिका र रेसुंगा नगरपालिकाका १ देखि ६ सम्मका वडा पर्छन्।

क्षेत्र–२ मा पर्ने रेसुङ्गा नगरपालिकाका ६ वडामध्ये कांग्रेसले ४ र एमालेले २ वटा वडामा जितेका थिए। वडा नम्बर–४ मा एमाले र कांग्रेसको मत बराबर भएपछि एमालेले गोला प्रथाबाट जितेको थियो।

त्यस्तै, अन्य ५ वटा तहमध्ये एमालेले ४ र माओवादीले एकमा जित हासिल गरेका थिए। समग्रमा यस क्षेत्रमा एमाले बलियो छ। एमालेका तर्फबाट रेसुङ्गा नगरपालिकाका ६ वटा वडाका वडाध्यक्ष, गाउँपालिकाका अध्यक्ष र नगरपालिका प्रमुखहरुले पाएको मत २७ हजार ४ सयभन्दा बढी छ। त्यस्तै, माओवादीले ८ हजार ९ सयभन्दा बढी मत पाएको थियो।

कांग्रेसले १८ हजार ४ सयभन्दा बढी मत पाएको थियो। लोकतान्त्रिक गठबन्धनमा आवद्ध राप्रपाको ५ हजारभन्दा बढी मत छ। यहाँ वाम गठबन्धनको ३६ हजार ४ सयभन्दा बढी मत छ। जुन कांग्रेसका उम्मेदवारहरुले पाएको मतभन्दा झन्डै दोब्बर हो। क्षेत्र नं २ मा बिष्टलाई क्षेत्र नम्बर १ मा ज्ञवालीलाई भन्दा सहज नै देखिन्छ।

क्षेत्र नं १ मा वाम गठबन्धनको तर्फबाट  माओवादीका सुर्दशन बराल र एमालेका कमल श्रेष्ठ उम्मेदवार रहेका छन्। २ मा माओवादीका दिनेश पन्थी र एमालेका  खडकबहादुर केसी रहेका छन्। भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा पृर्थबहादुर फौजदार र धनेन्द्रबहादुर कार्की तथा क्षेत्र नं २ मा  छन्द पहराई र शालिक पन्थी रहेका छन्।

गुल्मीमा नेपाली कांग्रेस र वाम गठबन्धन नै मुख्य प्रतिस्पर्धी रहेका छन्। अन्य दलहरुको उपस्थिति बलियो छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell