PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

नेपाल vs क्यानडा : प्लेअर्स टु वाच



पहिलोपोस्ट

नेपाल vs क्यानडा : प्लेअर्स टु वाच
फोटो : Peter Della Penna/espncricinfo

काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को अन्तिम खेलमा नेपालले आज क्यानडासँग खेल्दैछ। 'गर या मर'को अवस्थामा रहेको यस खेलमा विजयी हुने टिम शीर्ष दुई स्थानमा रहँदै वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुनेछ।

यस्तै आजै नामिबिया र युएई बीचको खेल पनि हुनेछ। उक्त खेलको विजेता पनि शीर्ष दुईमा रहँदै अर्को महिना जिम्वावेमा हुने वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुनेट।

यी दुवै खेल अघोषित सेमिफाइनल जस्तै छन्।

नेपाल र क्यानडाको खेल बलियो बलिङ भर्सेस बलियो ब्याटिङ बीच प्रतिस्पर्धाको रुपमा हेरिएको छ। डिभिजन टू मा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा क्यानडाका खेलाडी छन्। यस्तै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा नेपालका खेलाडी छन्।

आजको खेलको हेर्न लायक खेलाडी
 

सन्दीप लामिछाने (नेपाल)

डिभिजन टू मा नेपालका सन्दीप लामिछानेले १४ विकेट लिइसकेका छन्। उनी नेपालको मात्र नभई प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी हुन्। १७ वर्षीय यी लेग स्पिनरले पछिल्लो खेलमा केन्या विरुद्ध ५ मेडन राख्दै २० रन मात्र खर्चेर ५ विकेट लिएका थिए।

यसअघिका चार वटै खेलमा विकेट लिएका सन्दीपले नामिबिया विरुद्ध पहिलो खेलमा ४ तथा ओमान विरुद्ध दोस्रो खेलमा २ विकेट लिएका थिए। यस्तै युएई विरुद्ध तेस्रो खेलमा ३ विकेट लिएका थिए। नेपाललाई चाहिएको बेला विपक्षीको विकेट झार्न माहिर सन्दीप क्यानडा विरुद्ध पनि नेपालको हतियार बन्न सक्नेछन्।

 

रुभिन्दु गुनसेकरा (क्यानडा)

ब्याटिङतर्फ सर्वाधिक रन बनाउने सूचीमा क्यानडाका दुई खेलाडी छन्। जसमा रुभिन्दु गुनसेकरा सबैभन्दा अगाडी छन्। उनले ४ खेलमा २ अर्धशतक सहित सर्वाधिक २०७ रन बनाइसकेका छन्।

क्यानडाका यी २६ वर्षीय ओपनरले सर्वाधिक १६ चौका र १२ छक्का समेत प्रहार गरिसकेका छन्। उनले युएई विरुद्ध खेलमा २ विकेट समेत लिएका थिए। गुनसेकराले क्यानडालाई ब्याटिङमा राम्रो सुरुवात दिलाइरहेका छन्। उनलाई नेपालले चाँडै आउट गर्न सके नेपालले खेलमा पकड जमाउन सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell