
काठमाडौं: आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायर मार्च ४ बाट जिम्बावेमा सुरु हुँदैछ। समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमै घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र जिम्बावेले सिनियर क्रिकेटमा ५० ओभरको खेल खेल्न लागेको यो पहिलोपटक हो। यसअघि ३ पटक वर्ल्ड कप क्वालिफायरको उपाधि जितेको जिम्बावे यसपटक पनि सहभागी १० टोलीमध्ये शीर्ष २ मा रहदै अर्को वर्ष हुने वर्ल्डकपमा छनोट हुने योजनामा छ।
नेपालको लक्ष्य भने सुपर सिक्समा स्थान बनाउँदै वान डे मान्यता पाउनु हो।
नेपाल र जिम्बावेको सिनियर टोली पहिलोपटक भिड्न लागेपनि यू-१९ वर्ल्डकपमा भने नेपालले जिम्बावेलाई हराइसकको छ। सन् २००८ मा भएको यू-१९ वर्ल्ड कपमा पारस खड्काको कप्तानीमा रहेको नेपालले जिम्बावेलाई २ विकेटले पराजित गरेको थियो।
त्यतिखेर नेपालबाट खेलेका कप्तान पारस सहित ज्ञानेन्द्र मल्ल अहिले नेपाली टोलीमा छन्। यस्तै जिम्बावेको टोलीमा त्यतिबेला खेलेका सोलोमन मिरे र पिटर मुर अहिलेको टोलीमा पनि छन्।
सन् २००२ र २००६ को यू-१९ वर्ल्डकपमा भने जिम्बावेले नेपाललाई हराएको थियो।
सन् २००२ मा यू-१९ वर्ल्डकप खेलेका बसन्त रेग्मी र शक्ति गौचन अहिले पनि टिममा छन्। यस्तै त्यतिबेला जिम्बावेका लागि खेलेका ब्रेन्डन टेलर र ह्याम्लिटन मसाकान्डा वर्तमान टिममा छन्।
नेपाल र जिम्बावेबीच आइतबार हुने खेलको टिभीमा प्रत्यक्ष प्रशारण हुने छैन।
उक्त खेलको टेक्स्ट लाइभ अपडेटका लागि आइसीसीको अफिसियल साइट र इएसपिएनक्रिकइन्फो फलो गर्न सकिनेछ।
नेपाल vs जिम्वावे (वर्ल्डकप क्वालिफायर)
खेल मिति : २०१८ मार्च ४ (फागुन २० २०७४)
खेल स्थान : क्वीन्स स्पोर्ट्स क्लब, बुलावायो
खेल समय : ९:३० स्थानिय समय (नेपाली समय अनुसार दिउँसो १:१५ बजे)
प्लेअर्स टु वाच
सन्दीप लामिछाने (नेपाल) : नेपाललाई वर्ल्डकप क्वालिफायरमा छनोट गराउन सन्दीपले नामिबियामा भएको डिभिजन टू मा ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका थिए। उनले हरेक खेलमा विकेट लिएका थिए भने नामिबिया र क्यानडालाई समान १ विकेटले हराउने क्रममा बसन्त रेग्मी र करण केसीलाई गतिलो साथ दिएका थिए।
डिभिजन टू अघि आइपीएलमा छनोट भएर चर्चित बनेका सन्दीप वर्ल्डकप क्वालिफायर अघि क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा छनोट भएर पुन: चर्चित बनेका छन्। १७ वर्षीय लेग स्पिनर सन्दीप चाहिएको बेला विकेट दिलाउन सक्ने खेलाडी हुन्।
आइसीसीले तयार पारेको वर्ल्ड कप क्वालिफायर खेल्ने १० स्टार खेलाडीको सूचीमा समेत सन्दीपको नाम छ। सन् २०१७ मा वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबिया विरुद्ध डेब्यु गरेका सन्दीपले नेपालको लागि १५ लिस्ट ए खेलमा २९ विकेट लिइसकेका छन्।
ब्रेण्डन टेलर (जिम्वावे) : जिम्वावेका पूर्व कप्तान समेत रहेका ब्रेण्डन टेलर अनुभवी खेलाडी हुन्। सन् २०१५ को वान डे वर्ल्डकपमा लगातार दुई शतक प्रहार गरेका टेलर त्यसपछि कोप्लाक डिलमा इंग्ल्याण्डको नटिङह्याम्पसायरमा अनुबन्ध भएका थिए। जसले उनलाई जिम्वावेको लागि खेल्न बन्चित गरेको थियो। तर २०१७ सेप्टेम्वरमा उक्त अनुबन्ध तोड्दै टेलर जिम्बावे फर्केका थिए। त्यसपछि वेष्ट इन्डिजसँगको दुई टेष्ट खेलेका टेलरले गत फेब्रुअरीमा अफगानिस्तान विरुद्ध वान डे म्याचमा शतक समेत प्रहार गरेका थिए।
टेलरले जिम्बावेका लागि १७६ वान डे खेल खेल्दै ५ हजार ५८५ रन बनाएका छन्।
नेपाली टोली : पारस खड्का (कप्तान), दीपेन्द्र ऐरी, ललित भण्डारी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीलिप नाथ, ललित राजवंशी, बसन्त रेग्मी, अनिल कुमार शाह, आरिफ शेख, शरद भेषावर
जिम्बावेको टोली : ग्रेम क्रिमर (कप्तान), तेन्डाई चटारा, तेन्डाई चिसोरा, क्रेग इर्भिन, केल जर्भिस, ह्यामिल्टन मसाकान्डा, सोलोमन मुरे, पिटर मुर, ब्लेसिङ मुजाराबानी, सिकन्दर राजा, ब्रेन्डन टेलर, ब्राइन भिटोरी, माल्कोल वालर, सिन विलियम्स, सेफास जुवाव