
काठमाडौं : घरेलु टोली जिम्बावेसँग आइतवार खेल्दै नेपालले आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायर को यात्रा सुरु गर्दैछ।
कूल १० टोलीको सहभागिता रहेको क्वालिफायरमा नेपाल र जिम्बाबेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ समूह बी मा छन्।
नेपालले टेष्ट मान्यता प्राप्त राष्टसँग ५० ओभरको क्रिकेट म्याच खेल्न लागेको यो पहिलो पटक हो। नेपालले र जिम्वावे सिनियर लेभलमा भिड्न लागेको समेत यो पहिलो पटक हो।
सन् १९८३ दखि निरन्तर वान डे वर्ल्डकप खेल्दै आएको जिम्बावेल यसअघि ३ पटक वर्ल्ड कप क्वालिफायरको उपाधि जितिसकेको छ।
नेपाल र जिम्बावेको सिनियर टोली पहिलो पटक भिड्न लागेपनि यू-१९ वर्ल्डकपमा भने नेपालले जिम्बावेलाई हराइसकको छ। सन् २००८ मा भएको यू-१९ वर्ल्ड कपमा पारस खड्काको कप्तानीमा रहेको नेपालले जिम्बावेलाई २ विकेटले पराजित गरेको थियो।
त्यतिखेर नेपालबाट खेलेका कप्तान पारस सहित ज्ञानेन्द्र मल्ल अहिले नेपाली टोलीमा छन्। यस्तै जिम्बाबेको टोलीमा त्यतिबेला खेलेका सोलोमन मिरे र पिटर मुर अहिलेको टोलीमा पनि छन्। जिम्बाेवे जानुअघि नेपालका कप्तान पारस खड्काले उक्त जित स्मरण गर्दै यसपटक पनि सोही सफलता दोहोर्याउ चाहेको बताएका थिए।
सन् २००२ र २००६ को यू-१९ वर्ल्डकपमा भने जिम्वावेले नेपाललाई हराएको थियो।
सन् २००२ मा यू-१९ वर्ल्डकप खेलेका बसन्त रेग्मी र शक्ति गौचन अहिले पनि टिममा छन्। यस्तै त्यतिबेला जिम्बावेका लागि खेलेका ब्रेन्डन टेलर र ह्याम्लिटन मसाकान्डा वर्तमान टिममा छन्।
नेपाल र जिम्बावे बीच खेलअघि आइसीसीले नेपाललाई पछिल्लो समय क्रिकेटको चर्चित रहेको भन्दै नयाँ अफगानिस्तानको संज्ञा दिएको छ।
नेपाल नामिबियामा भएको डिभिजन टू को उपविजेता बन्दै वर्ल्ड कप क्वालिफायरका लागि छनोट भएको थियो। डिभिजन टू को फाइनलमा युएईसँग ७ रनले पराजित हादै उपाधि जित्नबाट चुकेको नेपालले जिम्बाबेमा भएको वार्म अफ म्याच त्यही युएईलाई ५ विकेटले हराएको थियो। हङकङसँगको वार्मअप म्याच भने वर्षाका कारण हुन सकेन।
उता युएईको शारजहाँमा अफगानिस्तान विरुद्ध भएको ५ खेलको वान डे सिरिज १-४ ले गुमाएको
जिम्बावेले वार्मअप म्याचमा पपूवा न्यूगिनीलाई हराएको थियो। त्यसअघि वर्षाका कारण आयरल्याण्डसँग खेल वासआउट भएको थियो।
आइतवारै समूह ए का पपुवा न्यूगिनी र युएई तथा आयरल्याण्ड र नेदर्लयाण्ड्स तथा समूह बी का अफगानिस्तान र स्कटल्याण्डबीच हुने हुनेछ।
नेपाल vs जिम्वावे (वर्ल्डकप क्वालिफायर)
खेल मिति : २०१८ मार्च ४ (फागुन २०, २०७४)
खेल स्थान : क्वीन्स स्पोर्ट्स क्लब, बुलावायो
खेल समय : ९:३० स्थानिय समय (नेपाली समय अनुसार दिउँसो १:१५ बजे)
प्लेअर्स टु वाच
सन्दीप लामिछाने (नेपाल) : नेपाललाई वर्ल्डकप क्वालिफायरमा छनोट गराउन सन्दीपले नामिबियामा भएको डिभिजन टू मा ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका थिए। उनले हरेक खेलमा विकेट लिएका थिए भने नामिबिया र क्यानडालाई समान १ विकेटले हराउने क्रममा बसन्त रेग्मी र करण केसीलाई गतिलो साथ दिएका थिए।
डिभिजन टू अघि आइपीएलमा छनोट भएर चर्चित बनेका सन्दीप वर्ल्डकप क्वालिफायर अघि क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा छनोट भएर पुन: चर्चित बनेका छन्। १७ वर्षीय लेग स्पिनर सन्दीप चाहिएको बेला विकेट दिलाउन सक्ने खेलाडी हुन्।
आइसीसीले तयार पारेको वर्ल्ड कप क्वालिफायर खेल्ने १० स्टार खेलाडीको सूचीमा समेत सन्दीपको नाम छ। सन् २०१७ मा वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबिया विरुद्ध डेब्यु गरेका सन्दीपले नेपालको लागि १५ लिस्ट ए खेलमा २९ विकेट लिइसकेका छन्।
ब्रेण्डन टेलर (जिम्वावे) : जिम्वावेका पूर्व कप्तान समेत रहेका ब्रेण्डन टेलर अनुभवी खेलाडी हुन्। सन् २०१५ को वान डे वर्ल्डकपमा लगातार दुई शतक प्रहार गरेका टेलर त्यसपछि कोप्लाक डिलमा इंग्ल्याण्डको नटिङह्याम्पसायरमा अनुबन्ध भएका थिए। जसले उनलाई जिम्वावेको लागि खेल्न बन्चित गरेको थियो। तर २०१७ सेप्टेम्वरमा उक्त अनुबन्ध तोड्दै टेलर जिम्वावे फर्केका थिए। त्यसपछि वेष्ट इन्डिजसँगको दुई टेष्ट खेलेका टेलरले गत फेब्रुअरीमा अफगानिस्तान विरुद्ध वान डे म्याचमा शतक समेत प्रहार गरेका थिए।
विकेटकिपर ब्याट्सम्यान टेलरले जिम्वावेका लागि १७६ वान डे खेल खेल्दै ५ हजार ५८५ रन बनाएका छन्।
टेलरले यसअघि सन् २००७, २०११ र २०१५ मा वर्ल्ड कप खेलिसकेका छन्।
नेपाली टोली : पारस खड्का (कप्तान), दीपेन्द्र ऐरी, ललित भण्डारी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीलिप नाथ, ललित राजवंशी, बसन्त रेग्मी, अनिल कुमार शाह, आरिफ शेख, शरद भेषावर
जिम्वावेको टोली : ग्रेम क्रिमर (कप्तान), तेन्डाई चटारा, तेन्डाई चिसोरा, क्रेग इर्भिन, केल जर्भिस, ह्यामिल्टन मसाकान्डा, सोलोमन मुरे, पिटर मुर, ब्लेसिङ मुजाराबानी, सिकन्दर राजा, ब्रेन्डन टेलर, ब्राइन भिटोरी, माल्कोल वालर, सिन विलियम्स, सेफास जुवाव