काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ११६ रन अन्तरले पराजित भएको छ। क्वीन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनाएको थियो। जवाफमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन बनायो।
उक्त खेलको ५ हाइलाइट्स
राजा र टेलरको शतक
जिम्बावेका लागि उच्च स्कोर बनाउने क्रममा ब्रेन्डन टेलर सिकन्दर राजाले शतक प्रहार गरे। राजाले सर्वाधिक १२३ रन बनाउदा टेलरले १०० रन बनाए।
टेलर र राजाले पाँचौ विकेटका लागि १७३ रनको साझेदारी गरे। छैटौँ नम्वरमा ब्याटिङ गरेका राजाले ६६ बल खेल्दै ७ चौका र ९ छक्का प्रहार गरे। यस्तै ९१ बल खेल्दै टेलरले ६ चौका र एक छक्का प्रहार गरे।
जिम्बावेले पछिल्लो १९ ओभरमा १८० रन जोड्दा यी दुई खेलाडीले मुख्य योगदान गरे। यी दुई खेलाडी नेपाली बलरमाथि हावी देखिए। यस्तै ओपनर सेफास जुवावले २३ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा ४१ रन बनाउँदा अर्का ओपनर सोलोमोन मिरेले ४१ बलमा ५२ रन जोडे।
पारस र सोमपालको त्यो ओभर
नेपालले सिनियर क्रिकेटमा पहिलो पटक टेष्ट नेशन जिम्बावेसँग खेल्दै थियो। घरेलु टोली जिम्बावले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्यो। नेपालको लागि पहिलो ओभर बलिङ गरेका सोमपाल कामीले ६ रन मात्र दिएका थिए। तर त्यसपछिका दुई ओभर नेपालको लागि बिर्सनलायक रह्यो। जसमा जिम्बावेले ३४ रन जोडेको थियो भने नेपालको लागि त्यही दुई ओभर निकै महँगो सावित बन्यो।
सोमपालसँग ओपनिङ बलिङ गर्ने अर्का फास्ट बलर करण केसी नखेलेका कारण कप्तान पारस आफैले दोस्रो ओभर बलिङ गरे। उनको ओभरमा जिम्बावेले एक छक्का र दुई चौकासहित १६ रन जोड्यो। त्यसपछि सोमपालको बलिङ गरेको तेस्रो ओभर झनै महँगो बन्यो। उक्त ओभरमा जिम्बावेले १८ रन बनायो। जिम्बावेले ३ ओभरको समाप्तीमै ४० रन जोड्दै शानदार सुरुवात गरेको थियो। जिम्वावेको स्कोर ब्रेक गर्न त्यसपछि नेपाललाई निकै चुनौती बन्यो।
खेलमा ८ ओभर बलिङ गरेका सोमपालले सर्वाधिक ८२ रन खर्चे भने २ विकेट लिए। उनी एकै खेलमा सबैभन्दा धेरै रन दिने नेपाली बलर समेत बने।
जिम्बावेले सुरुको १३ ओभरमै १०८ रन प्रहार गर्दै नेपाललाई दबाबमा राखेको थियो।
ललितको डेब्यु
नेपाल पराजित भएपनि स्पीनर ललित नारायण राजवंशीका लागि यो खेल निकै यादगार बन्नेछ। उनले नेपालको सिनियर टिममा परेको पहिलो टुर्नामेन्टको पहिलो खेलमै डेब्यु गर्ने मौका पाए र विकेट पनि लिए।
टेष्ट नेशन जिम्बावे विरुद्ध डेब्यु गर्न पाउनु उनको अर्को उपलब्धी रह्यो।
खेलमा पूरै १० ओभर बलिङ गरेका राजवंशीले ६२ रन खर्चेर १ विकेट लिए। उनले जिम्बावेका क्रेग इर्भिनलाई विकेटकिपर दीलिप नाथद्वारा क्याच आउट गराउँदै पहिलो विकेट लिए।
ओपनिङ समस्या र मध्यक्रममा आशा
ओपनिङ नेपालको पुरानै समस्या हो र यो जिम्बावे विरुद्धको खेलमा पनि दोहोरियो। ओपनर दीलिप नाथ (२) चौथो ओभरमा आउट हुँदा नेपालको स्कोर ९ थियो। अर्को ओपनर ज्ञानेन्द्र मल्लले ३२ रन जोडे। ज्ञानेन्द्र र कप्तान पारस खड्काले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। पारस ४० रन बनाएर आउट भए।
ओपनिङमा समस्या कायमै रहेपनि मध्यक्रमले सम्हालिएको प्रदर्शन गर्दा युवा खेलाडीहरुले आशा लाग्दो प्रदर्शन गरे। उनीहरुले भविष्यका लागि राम्रो आधार समेत तयार गरेका छन्। शरद भेषावकर युवा खेलाडी आरिफ शेखले अर्धशतक प्रहार गरे। अर्को युवा स्टार रोहित कुमार पौडेलले ३० तथा चौथो नम्वरमा ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरीले २३ रन जोडे।
भेषावकरले ४८ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५२ रन बनाए। ५९ बल खेलेका आरिफले ५ चौका प्रहार गर्दै ५० रन जोडे। पाँचौ विकेटका लागि शरद र आरिफले ७३ रनको साझेदारी गरे। यस्तै आरिफले छैटौँ विकेटका लागि रोहितसँग ५९ रनको साझेदारी गरेका थिए।
ओपनिङमा समस्या कायमै रहेपनि युवा खेलाडीले देखाएको जोसिलो प्रदर्शनका कारण नेपालले पुरै ५० ओभर खेल्यो।
राजाको ३ विकेट
आक्रमक ब्याटिङ गरेका राजाले अलराउण्ड प्रदर्शन गर्दै बलिङमा समेत सर्वाधिक ३ विकेट लिए। उनले १० ओभर बलिङ गर्दा ४८ रन खर्चर नेपाली मध्यक्रमका ३ विकेट लिएका हुन्।
राजाले नेपालका कप्तान पारसलाई पहिलो शिकार बनाएका थिए। पारसलाई बोल्ड गरेका राजाले दीपेन्द्रलाई क्याचआउट गराए भने शरदलाई एलबीडल्बु आउट गरे।