PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

नेपाल vs स्कटल्याण्ड : प्लेअर्स टु वाच



पहिलोपोस्ट

नेपाल vs स्कटल्याण्ड : प्लेअर्स टु वाच

काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले बिहीवार स्कटल्याण्डसँग खेल्दैछ।

पहिलो खेलमा जिम्बावेसँग हारेको नेपालको लागि यो दोस्रो खेल हो भने लगातार दुई खेल जितेर उत्कृष्ट लयमा रहेको स्कटल्याण्डको यो तेस्रो खेल हुनेछ। स्कटल्याण्ड लगातार तेस्रो खेल जित्दै सिक्समा स्थान पक्का बनाउने योजनामा छ भने नेपाल पहिलो हारलाई बिर्साउदै सुधारिएको प्रदर्शन गर्ने दाउमा छ।

पहिलो खेलमा नेपालले बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गर्न सकेन। ओपनिङ बलर देखि ओपनिङ ब्याट्सम्यानले सोचेजस्तो प्रदर्शन देखाउन सकेनन्। उता स्कटल्याण्डले दुई खेल जित्दा टप अडरले राम्रो प्रदर्शन गरिरहेको छ भने बलरहरुले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्।

नेपालले स्कटल्याण्डलाई अहिलेसम्म हराउन सकेको छैन। यसअघिका तिनवटै भेटमा स्कटल्याण्ड विजयी भएको थियो। त्यसैले नेपालको लागि स्कटल्याण्डलाई रोक्नु नै मुख्य चुनौती हुनेछ।

 

प्लेअर्स टु वाच

सन्दीप लामिछाने (नेपाल)

१७ वर्षीय युवा लेग स्पीनर अहिलेको सबैभन्दा चर्चामा रहेका खेलाडी हुन्। नामिबियामा भएको डिभिजन टू मा 'लिडिङ विकेटटेकर' रहेका सन्दीपले जिम्बावे विरुद्ध नेपालका लागि पहिलो सफलता दिलाउँदै सेफास जुवावको विकेट लिएका थिए। नेपाललाई सुरुवाती सफलता दिलाएपनि त्यसपछि भने उनले विकेट लिन सकेनन् र महँगो सावित भए। उनले १० ओभरमा ६७ रन खर्चेर १ विकेट लिए। तैपनि सन्दीपको प्रदर्शनले नेपाली टोलीको प्रदर्शनमा धेरै अर्थ राख्नेछ।

आइपीएल र सीपीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेर चर्चित भएका युवा स्टार सन्दीप विपक्षीको लागि तगारो बन्न सक्छन्। सन्दीपले नेपालका लागि १६ खेल खेल्दै ३० विकेट लिइसकेका छन्।

 

कलुम म्याकलेओड (स्कटल्याण्ड)

कलुम म्याकलेओडलाई स्कटल्याण्डको रन मेसिन भन्दा फरक नपर्ला। कप्तान केल कोत्जरपछि स्कटल्याण्डको लागि वान डे क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी उनै म्याकलेओड हुन्। २००८ मा सँगै खेल सुंरु गरेका कोत्जरले १७६६ रन बनाएका छन् भने म्याकलेओडले १५६२ रन बनाएका छन्। जारी क्वालिफायरमा स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानमाथि शानदार जित हासिल गर्दा उनले एक्लै नटआउट १५७ रन बनाएका थिए। त्यसक्रममा उनले २३ चौका र १ छक्का प्रहार गरेका थिए।

म्याकलेओडले अफगानिस्तानका स्पीनरलाई राम्रैसँग खेलेका थिए। नेपाली टिममा पनि स्पीनरहरु धेरै रहेका कारण म्यालेओड भर्सेस नेपाली स्पीनरको खेल हेर्न लायक हुने अपेक्षा गरिन्छ।

वर्ल्डकप क्वालिफायरको इतिहासमा व्यक्तिगत उच्च स्कोर पनि उनकै नाममा छ। उनले सन् २०१४ मा क्यानडा विरुद्ध एकै खेलमा १७५ रन बनाएका थिए।

२९ वर्षीय राइटह्याण्ड ब्याट्म्यान म्याकलेओडले स्कटल्याण्डका लागि वान डेमा ६ शतक र ५ अर्धशतक प्रहार गरिसकेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell