
युरोकप अन्तर्गत आज समूह चरणका दुई खेल हुँदैछन्। समूह एफ अन्तर्गत अष्ट्रिया र हंगेरीबीच राति ९:४५ बजे तथा पोर्चुगल र आइसल्याण्डबीच मध्यरात १२:४५ बजे खेल हुनेछ।
अष्ट्रिया भर्सेस हंगेरी
दोस्रो पटक युरोकप खेल्न लागेको अष्ट्रिया छनोट चरण पार गरेर युरो खेल्न लागेको यो पहिलो अवसर हो। सन् २००८ मा स्विट्जरल्याण्डसँग संयुक्त रुपमा युरो आयोजना गर्दा अष्ट्रिया स्वत: छनोट भएको थियो।छनोट चरणमा शानदार प्रदर्शन गर्दै अपराजित रहेको अष्ट्रिया समूह जी को विजेता बन्दै युरोमा छनोट भएको हो। यसक्रममा ९ खेल जितेको अष्ट्रिया दोस्रो स्थानको रुसलाई ८ अंकले पछि पारेको थियो। छनोटमा गरेको प्रदर्शनकै आधारमा अष्ट्रियालाई यस पटक युरोमा डार्क हर्सको रुपमा हेरिएको छ।
यता इतिहास उत्कृष्ट रहेको हंगेरी तेस्रो पटक युरो खेल्न लागेको हो। प्लेअफमा नर्वेलाई पराजित गर्दै छनोट भएको हंगेरी सन् १९६४ को युरोकपमा तेस्रो तथा १९७२ मा भएको थियो। तर पछिल्लो समय फर्ममा नरहेको हंगेरी ३० वर्षपछि ठूलो फुटबल प्रतियोगितामा फर्केको छ भने ४४ वर्षपछि युरो खेल्दैछ।
अष्ट्रिया युरोकपमा पहिलो जितको खोजिमा छ भने हंगेरी पुरानो इतिहासलाई दोहोर्याउने तयारीमा छ। दुवैको लक्ष्य समूह चरणमा राम्रो गर्दै अघिल्लो चरण पुग्नु रहेको छ।
यी दुई राष्ट्रबीचको इतिहास हंगेरीको पक्षमा भए पनि पछिल्ला वर्षहरुमा अष्ट्रिया हाबी हुँदै आएको छ।
अहिलेसम्म १३७ पटक आमनेसामने भएकोमा हंगेरीले ६६ खेल जितेको छ भने अष्ट्रियाले ४० खेल जितेको छ। ३१ खेल भने बराबरीमै सकिएको छ।
सन् १९०२ मा भएको पहिलो खेलामा अष्ट्रियाले हंगेरीलाई ५–० ले पराजित गरेको थियो भने १९३४ मा विशवकपमा पनि अष्ट्रिया २–१ ले विजयी भएको थियो।
अष्ट्रिया विरुद्धको खेल हंगेरीका गोलरक्षक गाबोर किरलीको लागि सम्झन लायक हुनेछ। ४० वर्षका किरली अष्ट्रियाविरुद्ध मैदान उत्रे युरोकप खेल्नै सबैभन्दा पाका खेलाडी बन्नेछन्।
अष्ट्रियाको प्रदर्शन कप्तान क्रिस्टियन फुच, डेविड अलावा, अर्नाउटोभिच जस्ता खेलाडीमा भर पर्नेछ।
रोनाल्डोको पोर्चुगल भर्सेस डेब्युटान्ट आइसल्याण्ड
युरो २०१६ को सबैभन्दा ठूला स्टार क्रिस्टियानो रोनाल्डोको टीम पोर्चुगल हो भने आइसल्याण्ड डेब्युटान्ट टीम। क्लब स्तरमा सबैखाले प्रतियोगिता जितेको रोनाल्डोले पोर्चुगलका लागि भने अहिलेसम्म कुनै उपाधि जित्न सकेका छैनन्।गत संस्करणमा पोर्चुगललाई सेमिफाइनलसम्म पुर्याउन योगदान गरेको रोनाल्डो यो पटक अझ राम्रो प्रदर्शन गर्ने तयारीमा छन्। युवा स्टार रेनाटो सान्चेज पोर्चुगलका सबैभन्दा कान्छा खेलाडी हुन्। केही समयअघि मात्र वायर्न म्युनिखमा आबद्ध भएका सान्चेजको खेल हेर्न लायक हुने अपेक्षा गरिएको छ।
यता छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक युरो खेल्न लागेको आइसल्याण्डको लागि रोनाल्डोलाई रोक्नु नै मुख्य चुनौती हुनेछ। नेदरल्याण्ड्स, चेक रिपब्लिक, टर्की जस्ता टीम रहेको समूहबाट दोस्रो हुँदै युरोमा छनोट भएको आइसल्याण्ड पहिलो सहभागितालाई स्मरणीय बनाउने दाउमा छ।
कुनै पनि ठूला प्रतियोगितामा आइसल्याण्डले खेल्न लागेको यो पहिलो अवसर हो। युरो खेल्न लागेको २४ राष्ट्रमध्ये सबैभन्दा कम जनसंख्या भएको राष्ट्र आइसल्याण्ड हो। त्यहाँको जनसंख्या मात्र ३ लाख ३० हजार छ।
पोर्चुगल र आइसल्याण्ड अहिलेसम्म दुई पटक मात्र आमनेसामने भएका छन्। सन् २०१२ को युरो छनोट अन्तर्गत भएको दुई वटै खेलमा पोर्चुगल विजयी भएको थियो।