
युरो अन्तर्गत आज राति समूह एफका दुई खेल हुँदैछन्। पहिलो खेलमा ९:४५ बजे आइसल्याण्ड र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ भने मध्यरात १२:४५ बजे हुने खेलमा पोर्चुगल र अष्ट्रिय भिड्नेछन्।
यस समूहका चार टीमका चार फरक विशेषता छन्। आइसल्याण्ड पहिलो पटक युरो खेल्दैछ र यस संस्करणको युरो खेल्ने राष्ट्रमध्ये सबैभन्दा थोरै जनसंख्या भएको राष्ट्र हो। युरोको पहिलो खेलमै आइसल्याण्डले पोर्चुगललाई बराबरीमा रोकेको थियो।
सन् पचासको दशकमा फेरेन्च पुस्कासले हंगेरीयन फुटबलमा तहल्का मच्चाएका थिए। त्यति बेला विश्वकपकै दाबेदारको रुपमा हेरिएको हंगेरी उपाधि जित्न भने असफल भएको थियो।
पोर्चुगल, स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको टीम। वर्तमान युरो खेल्नेमध्ये सबैभन्दा स्टार खेलाडी हुन् उनी। सन् २००४ मा घरेलु भूमिमै भएको युरोको फाइनलमा पुगे पनि पोर्चुगल ग्रीससँग पराजित भएको थियो।
युरो २०१६ को छनोट चरणमा अपराजित रहने चार टीममध्ये अष्ट्रिया पनि एक हो। अष्ट्रियाले छनोटका १० मध्ये ९ खेल जितेको थियो भने एक खेल बराबरी गरेको थियो। सन् २००८ मा स्विट्जरल्याण्डसँग संयुक्त रुपमा युरो आयोजना गरेको अष्ट्रिया छनोट चरण पार गरेर पहिलो पटक युरो खेल्दैछ। तर अहिलेसम्म कुनै खेल जित्न सकेको छैन।
आइसल्याण्ड भर्सेस हंगेरी

समूह चरणको पहिलो खेलमा पोर्चुगल जस्तो टीमलाई बराबरीमा रोकेको आइसल्याण्ड र अष्ट्रियालाई पराजित गरेको हंगेरी दोस्रो खेलमा पनि त्यही प्रदर्शनलाई दोहोर्याउने योजनामा छ। दुवै टीम खेल जित्दै दोस्रो चरण प्रवेश गर्ने तयारीमा छन्। आइसल्याण्डले खेल जिते अन्तिम १६ मा प्रवेश गर्ने करिब पक्का हुनेछ भने हंगेरीले जिते एक खेल अगावै अन्तिम १६ मा स्थान बनाउनेछ।
यी दुईबीच अहिलेसम्म भएका १० खेलमा हंगेरी ७ मा विजयी भएको छ भने बाँकी ३ खेल आइसल्याण्डले जितेको छ। पछिल्लो पटक सन् २०११ मा बुढापेस्टमा भएको मैत्रीपूर्ण खेलमा हंगेरीले आइसल्याण्डलाई ४–० ले पराजित गरेको थियो।
खेल हुने समय : ९:४५ बजे
यसअघिका खेल : आइसल्याण्ड १–१ पोर्चुगल, हंगेरी २–० अष्ट्रिया
आगामी खेल : आइसल्याण्ड भर्सेस अष्ट्रिया, हंगेरी भर्सेस पोर्चुगल
फिफा वरियता : हंगेरी २०, आइसल्याण्ड ३४
युरोमा सहभागिता : आइसल्याण्ड १, हंगेरी ३
मुख्य उपलब्धि : हंगेरी तेस्रो, १९६४
हेर्नलायक खेलाडी : गिल्फी सिगुरसन आइसल्याण्ड, बलाज डुजाक हंगेरी
रेफ्री : सर्गेई कारासेभ, रसिया
हेड टु हेड : हंगेरी ७, आइसल्याण्ड ३
आइसल्याण्ड : हान्स हलडोरसन, बिरकिर साभारसन, रग्नार सिगुरसन, कारी अर्नासन, अरी स्कुलासन, जोहन गुडमुडसन, गिल्फी सिगुरसन, आरोन गुनारसन, बिरकिर बिजारनासन, कोलबेइन सिग्थोरसन, जोन डादी बोडभारसन
हंगेरी : गाबोर किरली, जेर्गो लोभरेनसिस, रिचर्ड गुजमिक्स, एडम लाङ, टामस कडार, जोल्टन गेरा, क्रिस्टियन नेमेथ, एडम नागी, लाज्लो क्लेइनहेसलर, बलाज डुजाक, एडम एसजलाई
पोर्चुगल भर्सेस अष्ट्रिया

समूह चरणको दोस्रो खेलमा आमनेसामने हुँदैगर्दा पोर्चुगल र अष्ट्रिया दुवैलाई उत्तिकै दबाब हुनेछ। स्टार खेलाडी रोनाल्डोको टीम पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको थियो भने अष्ट्रिया हंगेरीसँग पराजित भएको थियो। त्यसैले अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न दुवैलाई खेल जित्नैपर्ने बाध्यता छ।
फिफा वरियतालाई हेर्ने हो भने दुवै टीम शीर्ष १० भित्र छन्। पोर्चुगल आठौं र अष्ट्रिया दसौं स्थानमा छन्। तर प्रदर्शनमा भने त्यस्तो छनक देखिएको छैन।
यस्तै रोनाल्डोको लागि अष्ट्रिया विरुद्धको खेल दुई कारणले विशेष हुन सक्छ। पहिलो अष्ट्रियाविरुद्ध मैदान उत्रेसँगै रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुनेछन्। आइसल्याण्ड विरुद्धको खेलमा १२७ औं क्याप जितेका रोनाल्डोको लुइस फिगोसँग बराबरी गरेका थिए। अर्को अष्ट्रियाविरुद्ध गोल गरे रोनाल्डो चार फरक युरोमा गोल गर्ने पहिलो खेलाडी बन्नेछन्।
खेल हुने समय : १२:४५ बजे
यसअघिका खेल : पोर्चुगल १–१ आइसल्याण्ड, अष्ट्रिया ०–२ हंगेरी
आगामी खेल : पोर्चुगल भर्सेस हंगेरी, अष्ट्रिया भर्सेस आइसल्याण्ड
फिफा वरियता : पोर्चुगल ८, अष्ट्रिया १०
युरोमा सहभागिता : पोर्चुगल ७, अष्ट्रिया २
मुख्य उपलब्धि : पोर्चुगल उपविजेता २००४
हेर्नलायक खेलाडी : क्रिस्टियानो रोनाल्डो पोर्चुगल, डेविड अलावा अष्ट्रिया
रेफ्री : निकोला रिजोली, इटली
हेड टु हेड : पोर्चुगल २, अष्ट्रिया ३ बराबरी ५
पोर्चुगल : रुई प्याट्रिसिओ, भिएरिन्हा, रिकार्डो कार्भाल्हो, पेपे, राफेल गुएरेइरो, आन्द्रे गोमेज, डानिलो परेइरा, जाओ माउटिन्हो, रिकार्डो क्योरेस्मा, क्रिस्टियानो रोनालडो, नानी
अष्ट्रिया : रोबर्ट अल्मर, फ्लोरिन क्लेइन, सेबास्टियन प्रोड, मार्टिन हिन्टेरेगर, क्रिस्टियन फुच, डेविड अलावा, जुलियन बाउमगार्टिङ्गर, मार्टिन हार्निक, मार्सेल सबिटेजर, मार्को अर्नाउटोभिक, मार्क जान्को