1.jpg)
युरो २०१६ अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछन्। समूह ‘डी’मा रहेको टर्की र क्रोएसियाबीचको खेल बेलुका ६:४५ मा सुरु हुनेछ। समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र नर्दन आयरल्याण्डबीचको खेल ९:४५ बजे तथा जर्मनी र युक्रेनबीचको खेल राति १२:४५ बजेदेखि हुँदैछ।
जर्मनी भर्सेस युक्रेन.jpg)
स्पेनसँगै सर्वाधिक तीन पटकको युरो च्याम्पियन तथा विश्वविजेता पनि हो जर्मनी। युक्रेन विरुद्धको आजको खेलमा ऊ सुखद सुरुवात गर्ने योजनामा छ । युरोकपमा जर्मनी सर्वाधिक सफल टीम हो। ऊसँग सर्वाधिक ११ पटक युरो खेलेको इतिहास छ। सुरुको तीन संस्करण नखेलेको जर्मनी त्यसपछि निरन्तर युरोमा छनोट हुँदै आएको छ। पछिल्ला मैत्रीपूर्ण खेलहरुमा पराजित भएको जर्मनी युरोमा त्यसलाई सुधार गर्दै अघि बढ्ने दाउमा छ।चोटका कारण गत मार्चदेखि जर्मनीका लागि नखेलेका डिफेन्डर माट्स हुमेल्लस युक्रेन विरुद्धको खेलमा मैदान उत्रने सम्भावना छ।
यता युक्रेन भने प्लेअफमा स्लोभेनियालाई पराजित गर्दै दोस्रो पटक युरोमा छनोट भएको हो। सन् २०१२ मा पोल्याण्डसँग संयुक्त रुपमा युरो आयोजना गरेको युक्रेन समूह चरणबाटै बाहिरिएको थियो। जर्मनी र युक्रेन अहिलेसम्म पाँच पटक आमनेसामने भएका छन्। जसमा जर्मनी अपराजित छ। जर्मनीले दुई खेल जितेको छ भने तीन खेल बराबरीमा सकिएको थियो।
पछिल्लो पटक सन् २०११ मा भएको मैत्रीपूर्ण खेलमा जर्मनी र युक्रेनले ३–३ गोलको बराबरी खेलेका थिए। विश्वकप र युरोको छनोट चरणमा मात्र प्रतिस्पर्धा गर्दै आएको जर्मनी र युक्रेन मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो। दुई वर्षअघि जर्मनीलाई विश्वविजेता बनाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका जर्मनीका थोमस मुलरले अहिलेसम्म युरोमा गोल गर्न सकेका छैनन्। जर्मनीका मुलरसँगै युक्रेनका योभेन कोनोप्लाइन्का हेर्नलायक खेलाडीका रुपमा रहनेछन्।
जर्मनी र युक्रेनबीचको खेल स्टेड पिएरे माउरोमा हुनेछ।
पहिलो जितको खोजीमा पोल्याण्ड र आयरल्याण्ड
तेस्रो पटक युरोकप खेल्न लागेको पोल्याण्डलाई यस पटक फुटबल पण्डितहरुले अन्डरडग टीमका रुपमा व्याख्या गरेका छन्। यसअघि दुई पटक खेल्दा समूह चरण पार गर्न नसकेको पोल्याण्ड यस पटक दोस्रो चरण प्रवेश गर्ने दाउमा छ।छनोट चरणमा सर्वाधिक १३ गोल गरेका रोबर्ट लोवान्डास्की पोल्याण्डका मुख्य हतियारका रुपमा रहेका छन्। यता ३० वर्षपछि मुख्य प्रतियोगितामा छनोट भएको नर्दन आयरल्याण्डले युरोकपमा सहभागिता जनाउन लागेको यो पहिलो अवसर हो। पोल्याण्ड र नर्दन आयरल्याण्ड पहिलो पटक ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। यसअघि यी दुईबीच नौ पटक प्रतिस्पर्धा भएकोमा नर्दन आयरल्याण्डले चार खेलमा जित हात पार्दा पोल्याण्ड तीन खेलमा विजयी भएको थियो। दुई खेल भने बराबरीमै सकिएको थियो।
युरोकपमा अहिलेसम्म जित हात पार्न नसकेको पोल्याण्ड र पहिलो पटक खेल्न लागेको नर्दन आयरल्याण्डबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
टर्की भर्सेस क्रोएसिया
टर्की र क्रोएसियाले सन् १९९६ मा एकैपटक युरोकपमा डेब्यु गरेका हुन्। जसमा क्रोएसियाले टर्कीलाई १–० ले पराजित गरेको थियो। अहिलेसम्म छ पटक आमनेसामने भएकोमा टर्कीले निर्धारित समयमा क्रोएसियालाई हराउन सकेको छैन।सन् २००८ को युरो क्वाटरफाइनलमा भने टर्कीले क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। त्यसबाहेक क्रोएसियाले टर्कीलाई दुई पटक पराजित गरेको छ भने बाँकी खेल बराबरीमै सकिएको थियो। अहिलेसम्म तीन पटक युरोमा सहभागिता जनाएको टर्कीले आफ्नो पहिलो खेलमा जित हात पार्न सकेको छैन। यता चार पटक युरोकप खेलिसकेको क्रोएसिया दुई पटक क्वाटरफाइनलसम्म पुगेको थियो।
स्पेन, चेक गणतन्त्र रहेको समूहमा रहेको टर्की र क्रोएसियाका लागि अघिल्लो चरण प्रवेश गर्न पहिलो खेल निकै महत्वपूर्ण रहेको छ। रियल मड्रिडका लुका मोडरिच र बार्सिलोनाका इभानट राकिटिक क्रोएसियाका मुख्य हतियार हुन् भने युवा खेलाडी इम्रो मोर टर्कीका हेर्नलायक खेलाडीका रुपमा रहनेछन्।