PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्वास्थ्य मन्त्रालयमा एकपछि अर्को लफडा: मन्त्री यादवको 'यु टर्न'ले निम्तियो यस्तो समस्या!



सागर बुढाथोकी

स्वास्थ्य मन्त्रालयमा एकपछि अर्को लफडा: मन्त्री यादवको 'यु टर्न'ले निम्तियो यस्तो समस्या!

काठमाडौं: दुई दिनअघि (मंगलवार) स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सचिव केदारबहादुर अधिकारी र डा. पुष्पा चौधरीलाई आफ्नो कार्यकक्षमा बोलाए। उनले सचिवहरूलाई हातमा पत्र थमाउँदै भने,  'पत्र पढेर सही गर्नू।'

उक्त पत्र दुवै सचिवले पढे। तर, सचिव अधिकारीले सही गरेनन्। उक्त चिठी सचिवको कामको बाँडफाँटको थियो। त्यसैले उनले चिठीमा सही गर्न अस्वीकार गरे। 'नियम विपरीत गरेको बाँडफाँट मलाई स्वीकार्य हुँदैन' भन्दै अधिकारी मन्त्रीको कार्यकक्षबाट निस्किए।

स्रोतका अनुसार उक्त पत्रमा  मन्त्रालयको अधिकांश अधिकार चौधरीलाई दिइएको छ। 'मलाई सरकारले पठाएको हो। म सचिवका रूपमा काम गर्ने हो। तपाईँले अधिकार दिने हैन,'  भन्दै अधिकारी निस्किएका थिए।


मन्त्री यादवले मन्त्रीस्तरिय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयका दुई सचिवको कामको बाँडफाँट गरेका थिए। उनले स्वास्थ्य तर्फको जिम्मेवारी सचिव डा. पुष्पा चौधरीलाई दिएका थिए भने जनसङ्ख्या तर्फको जिम्मेवारी अर्का सचिव अधिकारीले दिएका थिए। 

यो बाँडफाँटसँगै केही दिनअघि साम्य भएको स्वास्थ्य मन्त्रालयको सचिव विवाद फेरि सुरु भएको छ।  स्रोतका अनुसार यादवको बाँडफाँडले सचिव अधिकारी असन्तुष्ट छन्। उनले यादवले दिएको चिठी बुझेका छैनन्।

तर स्वास्थ्य मन्त्रालयको प्रवक्ता महेन्द्र श्रेष्ठ मन्त्रीस्तरीय निर्णयबाट दुवै जनालाई छुट्टाछुट्टै महाशाखा र विभागको जिम्मेवारी तोकिएको बताउँछन्। उनका अनुसार सचिव चौधरीलाई मन्त्रालयको नीति योजना, अनुगमन, समन्वय महाशाखासहित स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको छ। अर्का सचिव अधिकारीलाई जनसङ्ख्या महाशाखा हेर्ने गरी जनसङ्ख्या सचिवको रूपमा जिम्मेवारी दिइएको छ। त्यसबाहेक मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा, औषधि व्यवस्था विभाग र आयुर्वेद विभागको जिम्मेवारी अधिकारीलाई दिइएको छ।

स्रोतका अनुसार चौधरीलाई आफूभन्दा बढी अधिकार दिएपछि अधिकारी रुष्ट छन्। त्यस्तै मन्त्री यादवको अस्वाभाविक यु टर्नले पनि उनी चिढीएका छन्। केही साता अघिसम्म स्वास्थ्य मन्त्री यादव र सचिव चौधरीको भनाभन भएको थियो। चौधरीको कार्यशैली चित्त नबुझेर उनलाई सरुवा गरेको अभिव्यक्ति मन्त्रीबाट नै आइरहेको थियो। तर एकाएक उनले चौधरीलाई बढी कामको जिम्मा दिनुले पनि चौधरी सशंकित बनेका हुन्।

मन्त्री यादवको यो कदमलाई अधिकारीले आफ्नो अधिकार कटौतिको रूपमा बुझेका छन्। नियमअनुसार सचिवको अधिकार मन्त्रिपरिषदले मात्रै बाँडफाँट गर्न पाउँछ।  किन गरे त मन्त्री यादवले  नियम विपरीत कामको बाँडफाँट?

स्रोत भन्छ, 'चौधरी र यादव कसैको प्रभावमा परेर मिलेका हुन्। त्यसैले यादवले चौधरीलाई शक्तिशाली बनाउँदै कामको बाँडफाँट गरेका हुन्।'


***
सरकारले गत २८ कात्तिकको निर्णय भन्दै गत ९ कात्तिकमा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएको पत्र पठाएको थियो। त्यसको एक साता नबित्दै चौधरीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश दिएको थियो। सोही आदेशअनुसार उनी कार्तिक १८ गते स्वास्थ्य मन्त्रालयमा हाजिर हुन पुगेकी थिइन्।

तर, गत १७ गते बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो। अधिकारीलाई स्वास्थ्य मन्त्रालयको सचिव बनाएपछि नेपाल चिकित्सक सङ्घले पनि विरोध जनाउँदै आएको थियो। डाक्टर चौधरीले पनि ऐन मिचेर अधिकारीलाई सचिव बनाइएको भन्दै उनलाई फिर्ता गर्नुपर्ने माग राखेकी थिइन्। नेपाल चिकित्सक सङ्घले पनि प्रशासनतर्फका सचिव मान्य नहुने भन्दै विरोध जनाउँदै आएको थियो। 

तैपनि सरकारले सचिव अधिकारीलाई फिर्ता पठाएन। सोही कारण दुवै जना स्वास्थ्य मन्त्रालयमै हाजिर गर्न पुगे। कार्यकक्षदेखि फाइल बुझ्ने काममासमेत विवाद देखियो। जसले महिनौसम्म स्वास्थ्य मन्त्रालयको काममा अवरोध देखियो। दुई सचिव राख्ने भनिए पछि विवाद सेलाएको थियो। तर लगत्तै कामको बाँडफाँटमा विवाद देखिएको छ। 

विवादको शृङ्खलाले बदनाम स्वास्थ्य मन्त्रालय अस्वस्थ बनेर थला परिसकेको छ। अब फेरि यो विवादले कुन रूप लिने हो त्यो हेर्न बाँकी छ।

सम्बन्धित समाचार


रोकिएन स्वास्थ्य मन्त्रालय भित्रको किचलो, विवादले बदनाम हुने क्रम जारी
स्वास्थ्य मन्त्रालयमा दुई सचिवको सकियो 'म्युजिकल चियर', नेशनल मेडिकल कलेज काण्डले फेर्‍यो मन्त्रालयको संरचना

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell