PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मृत्यु शैय्याबाट भरतमोहनको अन्तिम सन्देश:  देश विकासमा राजनीतिक दल मिलेर लाग्नुस्



विधुर ढकाल

मृत्यु शैय्याबाट भरतमोहनको अन्तिम सन्देश:  देश विकासमा राजनीतिक दल मिलेर लाग्नुस्

काठमाडौं: नेपालको पहिलो कम्युनिस्ट अर्थमन्त्री भरतमोहन अधिकारीको अन्तेष्टि आज भएको छ। पशुपति आर्यघाटको एक नं. चिता जहाँ उनका सहोदर दाजु तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई दागवत्ती दिइएको थियो, आज सोही चितामा राखेर अधिकारीलाई उनका तीन छोरीले दागबत्ती दिए।

चार पटकसम्म मन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका अधिकारी जीवनको उत्तरार्धमा नेपालको राजनीतिमा कमै सुनिए। राजनीतिक कार्यक्रममा भन्दा पनि बढी सामाजिक कार्यक्रम तथा जेष्ठ नागरिकहरुका कार्यक्रमहरुमा देखिए तर कम मात्रामा।

पशुपति आर्यघाटमा उनको अन्तेष्टि हुँदै गर्दा हजारौँ सर्वसाधारण उपस्थित थिए। राजकीय सम्मानसहित अन्तेष्टि गरिएका अधिकारी मृत्यु शैय्यामा लड्दै गर्दा नेपालका राजनीतिक नेतृत्वलाई एकताको सन्देश दिएर गए।

‘मृत्यु शैयामा मृत्युसँग जुध्दै गर्दा कामरेड भरतमोहनले नेपालकाे विकासका लागि सबै राजनीतिक शक्तिलाई एक भएर अगाडि बढ्न सुझाव दिनुभएको छ,’ ने क पाका नेता कृष्ण गोपाल श्रेष्ठले भने, ‘जीवन भर कम्युनिस्ट सिद्धान्त बोकेर हिड्नु भएका उहाँले जीवनको उत्तरार्धमा नेपालमा कम्युनिस्टहरुका दुई तिहाईको सरकार बन्दा खुसी हुनुहुन्थ्यो। उहाँले जनताको चाहना बमोजिम पार्टी नेतृत्व पंक्तिलाई मिलेर अगाडि बढ्न सल्लाह दिनुभयो।’

जीवनको उत्तरार्धमा प्राविधिक शिक्षालयमा चासो

यसैबीच नेता अधिकारीले पटक पटक प्राविधिक शिक्षामा चासो राख्दै आएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्मरण गरे। ‘उहाँसँगको मेरो सहकार्य पूरानो हो। म शिक्षामन्त्री भएपछि पनि उहाँले सुझाव दिइरहनुहुन्थ्यो। उहाँले प्राविधिक शिक्षाको विकासमा जोड दिनुभयो,’ मन्त्री पोखरेलले भने, ‘हाम्राे विराटनगरमा एउटा प्राविधिक शिक्षालय छ। सो शिक्षालयको विकासमा उहाँको प्रमुख चासो थियो।’

अधिकारी आफू पनि विराटनगरका स्थानीय हुन्। उनले सो शिक्षालय स्थापनामा योगदान पुर्‍याएका थिए।

शिक्षामन्त्री पोखरेलले भरतमोहनकै आयोजनामा भएको कार्यक्रममा सहभागी हुँदा मनमोहन र मदन भण्डारीसँग भेट भएको स्मरण गरे।

‘उहाँ पुरानो कम्युनिस्ट नेता हुनुहुन्थ्यो। म पनि कम्युनिस्ट। विराटनगरमा उहाँकै सक्रियतामा भएको कार्यक्रममा मदन भण्डारी र मनमोहनसँग पनि मेरो भेट भएको हो,’ उनले भने, ‘पञ्चायत विरोधी आन्दोलनमा उहाँ वाममोर्चामा हुनुहुन्थ्यो। म पनि त्यसैको केन्द्रीय सदस्य थिए। वाममोर्चामा समेत उहाँसँग सहकार्य गर्ने मौका मिल्यो।

कम्युनिस्ट मात्र होइन कांग्रेसका पनि आदर्श

अधिकारी सिद्धान्तले कम्युनिस्ट भए पनि कांग्रेसका लागि पनि आदर्शका पात्र बने। २०४७ सालको संविधान निर्माणमा मात्र होइन उनले पञ्चायत विरोधी आन्दोलनमासमेत कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्थे।

उनले मृत्यु शैय्यामा रहँदा पनि यस्तै सन्देश दिए, ‘सत्तापक्ष प्रतिपक्ष नभनी एक जुट भएर देश विकासमा लाग्नुस।’

उनलाई श्रद्धाञ्जली दिनका लागि धुम्बाराहीमा कांग्रेस उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशांक कोइराला, कांग्रेस नेतृ सुजाता कोइराला दिलेन्द्र प्रसाद बढुलगायतका नेताहरु पुगेका थिए।

त्यस्तै रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेता आर्यघाटमै पुगेका थिए। ‘भारतमोहनजीसँग विराटनगरमा भेट भएको थियो पहिलोपटक। उहाँ निष्ठावान र आदर्शवादी नेता हुनुहुन्थ्यो,’ कांग्रेस महामन्त्री कोइरालाले भने।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बढुले निरंकुशता विरोधी आन्दोलनमा भरतमोहन अधिकारीको संलग्नताको स्मरण गरे। ‘उहाँसँग हाम्रो सडक देखि सदनसम्म सहकार्य भयो। उहाँ सबै मिलेर अगाडि बढ्नुपर्छ भन्नु हुन्थ्यो। उहाँले पार्टी भन्दा पनि देश र जनताको पक्षमा केही गर्नुपर्छ भन्ने आदर्श बोक्ने नेता हुनुहुन्थ्यो,’ बडुले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell