PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति (#WhoKilledNirmala शृङ्खला २६)

निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति (#WhoKilledNirmala शृङ्खला २६)

पहिलोपोस्ट /पहिलोपोस्ट


  • उमेश श्रेष्ठ र सविन ढकाल -

नौ महिना पुग्न लाग्दा पनि दोषी पत्ता लाग्न नसकेको निर्मला प्रकरणको केन्द्रमा एक त्यस्तो शक्तिशाली व्यक्ति छन्, जसले यो बीचमा जे भन्यो राज्यले त्यही गर्न बाध्य भएको छ। आन्दोलनकारी मात्र हैन, राजधानीका मिडियालाई समेत आफ्नो एजेन्डामा हिँडाउन सफल भएका छन्। सुदूरपश्चिमको एउटा खोल्सा छेउमा भएको अपराधको घटनालाई राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय बनाउनमा मात्र हैन, त्यसलाई ट्विस्ट एन्ड टर्न गर्न पनि उनको भूमिका देखिन्छ।

र, उनी आफूलाई निर्मला पन्तको हत्या कसले गर्‍यो पनि थाहा भएको दावी गर्छन्। घटनाको एक महिना नपुग्दै उनले आफै फेसबुकमा घोषणा गरेका थिए- 'म त्यो भिआइपी बलात्कारी र हत्याराको भण्डाफोर गर्दैछु। को को हुनुहुन्छ साथमा?'

तर, अहिलेसम्म खुलासा गरिसकेका छैनन्। 

को हुन् त ती शक्तिशाली व्यक्ति? 

***

निर्मला प्रकरणमा कञ्चनपुरका दुई पात्र प्रमुख छन् - तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र जिल्लाकै प्रमुख पत्रकारमध्ये एक खेम भण्डारी। दुई बीचको 'इगो' र यस प्रकरणको सम्बन्ध बुझ्न निर्मलाको हत्या हुनुभन्दा दुई दिनअघिको एउटा समाचार हेर्नुपर्छ। 

निर्मलाको हत्या साउन १० गते भएको थियो। दुई दिनअघि साउन ८ गते भण्डारी सम्पादक रहेको मानसखण्ड दैनिकमा यस्तो शीर्षकमा एउटा समाचार छापियो- 'रमेश लेखकले राजनीति गरे, एसपी र डिएसपीले पैसा खाए' 

एसपी विष्ट र डिएसपी ज्ञानबहादुर सेटी दुवैले त्यसको भोलिपल्ट साउन ९ गते समाचारविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिए। 

समाचारसँग जोडिएको घटना भने असार २६ गतेको थियो। महाकाली नदी किनारमा नैनराम सार्कीको लाश भेटिएको थियो। प्रहरीले अनुसन्धानपछि सवारी साधनले किचेर मृत्यु भएको देखिएको र सवारी साधनका चालकले समेत त्यसलाई स्वीकारेको प्रेस काउन्सिललाई पठाइएको उजुरीमा उल्लेख छ। पढ्नुस् प्रेस काउन्सिलमा दिइएको उजुरी

समाचारमा भने गाडीले किचेको नभई हत्यामा टीका सार्कीको संलग्नता रहेको दावी गर्दै बेनामे मृतकका आफन्तलाई उद्धृत गरिएको छ। समाचारमा लेखिएको छ- 'टीका सार्कीबाट पैसा खाएर एसपी दिल्लीराज विष्ट र डिएसपी ज्ञानबहादुर सेटीले घटना तोडमरोड गरेको मृतकका आफन्तहरुको आरोप छ।'    

प्रेस काउन्सिलमा एसपी र डिएसपीले उजुरी गरेको भोलिपल्ट साउन १० गते निर्मला पन्त हराइन्। अर्को दिन बिहानै उनको शव भेटियो। 

'हामीले यस्तै हो, उजुरी नगर्नुस् भनेर सल्लाह दिएका थियौँ। एसपी सा'ब मान्नुभएन,' निर्मला प्रकरणमा निलम्बनमा परेका प्रहरी निरीक्षक एकिन्द्रबहादुर खड्काले हामीलाई सुनाए, 'पछि यही कुरा इगोको रुपमा बढेर गए जस्तो लाग्छ।'

निर्मलाको शव भेटिएको दिन साउन ११ गते खेम भण्डारीका फेसबुक स्टायटसले त्यस्तै छनक दिन्छ। 

उनले लेखेका छन्-  'कहीँकतै कुनै जघन्य अपराधको घटना भयो भने प्रहरीका एसपी-डीएसपीको हाड हाँस्छ। टिप्परै नगुडेको ठाउँमा टिप्परले मान्छे मार्न सक्छ भने खोला किनारमा भेटिएको निर्मलाको शव सर्पले टोकेको हुन सक्छ।'

त्यतिबेला 'भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले निर्मलाको ज्यान सर्पले टोकेर गएको भने रे' भन्ने हल्ला चलेको थियो। हल्ला कसरी चल्यो कोही भन्न सक्दैन तर मेयर विष्टले 'एक जना व्यक्तिले पनि रे हैन, आफूले सर्पले टोकेर मरेको भनेकै हो' भन्ने मान्छे भेटिए राजनीतिक जीवन त्याग्ने चुनौति दिएका छन्।

खेम भण्डारीले भने त्यही हल्लालाई फैलाउने काम गरे। त्यस दिन उनले 'निर्मलाको मृत्यु सर्पदंशबाट भएको भन्ने रिपोर्ट पुलिसले तयार गर्छ'समेत लेखेका छन्।

***
एसपी विष्ट Vs खेम भण्डारी : आरोप प्रत्यारोप

यो घटनाभन्दा तीन महिना अगाडि चैतमा खेम भण्डारीले पत्रिका बन्द हुन लाग्यो भन्दै सहयोग मागेको आरोप लगाउँछन् हाल कारबाहीस्वरुप सरकारले सेवाबाट हटाइसकेका एसपी विष्ट।

'मसित के हुन्छ र सहयोग गर्नु भनेको थिएँ,' उनले भने। त्यहाँदेखि खेम बिच्किएको उनको भनाई थियो। 'सरी सर, तपाईँले गर्नसक्नुभएन भनेर मलाई उसले मेसेज पठाएको थियो,' विष्ट भन्छन्। 

विष्टकी श्रीमती र छोराले पनि भण्डारीमाथि आरोप लगाएका छन्। विष्टकी श्रीमती जानकीले गत कात्तिकमा सार्वजनिक गरेको अपीलमा 'श्रीमान् तनावमा रहने र कारण सोध्दा केही पत्रकारहरुले आर्थिक डिमान्ड गर्छन्' भनेको मात्र उल्लेख छैन, नामै किटेर लेखिएको छ- 'विशेष गरी स्थानीय पत्रकार खेम भण्डारी खेदो खनेर मेरो परिवारको पछि लागिपर्नु भएको छ। सामाजिक सञ्जालको दुरुपयोग गरी देशका जनतामा गलत, तथ्यहीन समाचार प्रेषण गरेर हामीप्रति नकारात्मक सोचको सिर्जना गर्नुभएको छ। उहाँको निहित स्वार्थ मेरो श्रीमानले पूरा नगरेकोले सिङ्गो परिवारलाई यातना दिने काम गरिराख्नु भएको छ।' (पढ्नुस् जानकी विष्टको अपिल)

खेम भण्डारी भने यो आरोप अस्वीकार गर्छन्। 'पैसा माग्ने कुरा त हल्ला चलाए। प्रमाण के छ? अहिलेसम्म मलाई ब्ल्याकमेलिङ गरेको कसैले भनोस्,' हामीसित टेलिफोन सम्पर्कमा आएका उनले भने।

त्यस्तै छोरा किरण विष्टले असोज २४ को मितिमा सार्वजनिक गरेको प्रधानमन्त्रीलाई खुलापत्रमा 'पटक पटक जनमानसमा मप्रति नकारात्मक प्रभाव पर्ने र चरित्र हत्या हुने गरी कञ्चनपुरका पत्रकार खेम भण्डारी र निजको पत्रिका मानसखण्डले जनआक्रोश बढ्ने गरी तथ्यहीन, काल्पनिक र भ्रामक समाचार प्रकाशित गर्दै आइरहेको' आरोप लगाएका छन्। (पढ्नुस् किरण विष्टको खुलापत्र)    

अघिल्ला एसपीले थुनेका थिए भण्डारीलाई

'प्रोएक्टिभ जर्नलिज्म' शीर्षकको पुस्तकसमेत लेखेका जिल्लाकै प्रख्यात पत्रकार भण्डारीको बारेमा नाम प्रकाशित गर्न नपाइने शर्तमा धेरै स्रोतले धेरै कुरा बताए। त्यसमध्ये केही यस्ता छन्-

•    जिल्लाका प्रहरीसँग खेमको ठ्याक नमिल्ने पहिलेदेखि हो। 
•    विष्टभन्दा अघिका एसपीले त उनलाई पक्राउ पूर्जी जारी गर्न लगाएर हिरासतमै राखेका थिए।

पक्राउ पुर्जी र हिरासतको काण्डको ट्विस्ट एन्ड टर्न पनि रमाइलो छ।

सार्वजनिक रुपमा उपलब्ध जानकारीहरु हेर्दा हामीले यस्तो भेट्यौँ-

२०७४ जेठमा मानसखण्ड दैनिकले 'कञ्चनपुरका एसपीमाथि २ युवती अपहरणको आरोप' शीर्षकमा समाचार लेख्छ जसमा प्रहरीले ‘फिल्मी शैली/अपहरणको शैली/ अत्यन्त रहस्यमय तरिकाले’ होटल व्यवसाय गर्ने दुई युवतीलाई पक्राउ गरिएको उल्लेख हुन्छ। पक्राउ परेका दुई युवतीलाई जिल्ला प्रहरी प्रमुख प्रकाश चन्दले शनिबार दिउँसो खाजा खान बोलाएको तर ती युवतीहरू नगएको दावी समाचारमा गरिएको हुन्छ।  
चार दिनसम्म यो प्रकरणको निरन्तर फलोअप समाचार छापिन्छ। ती समाचारहरुमा ‘फिल्मी शैलीमा गरिएको धरपकड झन् रहस्यमयी बन्दै गएको’ देखि एसपी चन्दसँग जानकारी लिन खोज्दा ‘तपाईँ बढ्ता नहुनुस् है’ भन्दै उनले फोन काटिदिएको उल्लेख हुन्छ।

सबै समाचारको अनुगमन गरेको 'मिडिया कुराकानी'को टिप्पणी थियो- दुई युवती पक्राउ परेको घटनामा ‘दैनिक मानसखण्ड’ ले प्रहरीको नियतमाथि प्रश्न उठाएको मात्र छैन, हात धोएर प्रहरीलाई गलत साबित गर्न लागिपरेको देखिन्छ।

तर, ट्विस्ट त्यतिबेला आउँछ जब पक्राउ परेका युवतीका परिवारबाट उजुरी आउँछ - पीडितको नाम सार्वजनिक गरेर पत्रिकाले चरित्र हत्या गर्‍यो, बिहेसमेत रोकियो। त्यही उजुरीलाई आधार बनाएर अनुसन्धान गर्नलाई पक्राउ पुर्जी जारी हुन्छ। पत्रिकाका कार्यकारी सम्पादक जी (गणेश) भट्ट र सम्पादक खेम भण्डारी पक्राउ पर्छन्। 

वर्दीको 'पावर' देखाएर पक्राउ गरेपछि भण्डारीले पनि आफ्नो 'पावर' देखाउँछन्। समाचार लेखेकै आधारमा पक्राउ परेको भनेर देशभरबाट विरोध हुन्छ र २८ घण्टापछि उनीहरु रिहा हुन्छन्। 

'खेमजी त जिल्लाका राम्रो पत्रकार हुनुहुन्छ। उहाँबिना त केही हुँदैहुन्न,' हामीले विष्टभन्दा अघिका (हाल अवकाश प्राप्त) एसपी प्रकाश चन्दसित त्यस काण्डबारे बुझ्न खोज्दा उनले भने, 'मैले जिल्ला छाड्ने बेलामा उहाँलाई सम्मान पत्र नै दिएको थिएँ।' 

अन दि रेकर्डमा यस्तो भन्दै आफ्नो नाम नछाप्ने शर्तमा 'भित्री सत्य कुरा बताउँछु' भने पनि उनले त्यसपछि भने हामीलाई सम्पर्क गरेनन्।

सालाको पक्राउले बिग्रिएको 'मध्यस्थता' 

घटनालाई नजिकबाट नियालेका जानकारका अनुसार तत्कालीन एमालेका जिल्ला सचिव राजेन्द्र रावलको मध्यस्थतामा एसपी प्रकाश चन्द र खेम भण्डारीको अलिखित 'मिलापत्र' भएको थियो। त्यसपछि दुवै जिग्री भएर 'खानपान'समेत सँगै गरेको अवस्थामा देख्नेहरु छन्। 

एसपी विष्टले पनि खेम भण्डारीविरुद्ध प्रेस काउन्सिल, जिल्ला प्रशासन कार्यालय, पत्रकार महासंघको केन्द्र र जिल्लामा उजुरी दिएपछि रावलले मध्यस्थताको प्रयास नगरेका हैनन्। विष्टले काउन्सिलमा दिएको उजुरी र भण्डारीले एसपीविरुद्ध दिने अभिव्यक्ति नचर्काउने सहमति पनि भएको थियो। 

भण्डारीले नै फेसबुकमा सार्वजनिक गरेको एसपी विष्टसितको एसएमएस वार्तामा १८ अगस्त (२०७५ भदौ २ गते) रावलको मध्यस्थताको छनक देखिन्छ।

भण्डारीले रावलको अनुरोधमा निर्मलाको केसबारेका केही पोस्टहरु डिलिट गरेको र आफूले सघाउन चाहेको बताएका छन्। विष्टले 'आफूले पनि सहयोग गर्ने र रावल सरले एक अर्कालाई सहयोग गर्न भनेको' जवाफ फर्काएका छन्।  

 

तर, त्यसको दुई दिनमै कुरा बिग्रिन्छ। 

भदौ २ गते राति दिलिपसिंह विष्ट पक्राउ परे पनि गोप्य राखिएको हुन्छ। भदौ ४ गते बल्ल उनलाई अभियुक्तका रुपमा सार्वजनिक गरिन्छ।

त्यही रात उनले एसपी विष्टलाई दिलिप आफ्नो साला भएको र परिवारको सदस्य भएकाले आफूहरुले बयान सुन्न पाउनु पर्ने भन्दै एसएमएस गर्छन्। 

'निर्मला प्रकरणमा उसले (एसपी विष्ट) मसँग विभिन्न स्रोतबाट सम्पर्क राख्न खोज्यो। रावलले भनेपछि केही (फेसबुक) पोस्ट डिलिट गर्दिएँ। त्यसपछि उसले मलाई पटक पटक फोन गर्‍यो,'  भण्डारीले हामीलाई त्यस एसएमएस बारेमा भने, 'मैले दबाब होइन, धम्काउन चाहिँ खोजेको हो। यसको आसय तैँले गरीब र पहुँच नभएकोलाई फँसाउन सक्दैनस् भनेको हुँ। ऊ मेरो सालै पर्छ। अरुको लागि त गरिरहेको छु मेरो सालैलाई किन गर्दिनँ भनेको हुँ। गलत मानिसलाई समातिस् भनेको हुँ।'    

साला पक्राउ परेपछि खेम चर्को रुपमा एसपी विरुद्ध खनिएका उनका स्टायटसहरुले देखाउँछ।

'निर्मलालाई न्याय' अभियानका सुरुवातकर्ता

त्यसो त साला पक्राउ पर्नुअघि नै साउन २९ गते उनले 'एसपी र डिएसपीलाई सरुवा गर्नुपर्ने' मागसहित ब्ल्याक आउटसहितको आन्दोलनको कार्यक्रम फेसबुकमा राखे। 

भोलिपल्टको मानसखण्ड दैनिकमा ‘निर्मलालाई न्याय’ अभियान दैनिक मानसखण्डका सम्पादक खेम भण्डारीको नेतृत्वमा सुरु भएको र अभियानले बुधवार साँझ साढे आठबजेदेखि साढे नौ बजेसम्म महेन्द्रनगरमा ब्ल्याकआउट गर्दै जिल्लाका प्रहरी प्रमुख र उपप्रमुखलाई सरुवा गर्नका लागि आ–आफ्नो छतमा गएर आवाज उठाउन आव्हान गरेको समाचार छापियो।

प्रमुख र उपप्रमुख उनै एसपी र डिएसपी थिए जसले उनीविरुद्ध प्रेस काउन्सिलमा उजुरी गरेका थिए। 

केही समयपछि सामाजिक सञ्जालमा उनकै अभियानसँग नाम मिल्ने गरी ह्यासट्याग #JusticeForNirmala सुरु भयो। उनले त यो ह्यासट्याग विरलै चलाए तर सामाजिक सञ्जालमा अभियन्ताहरुले निर्मलालाई न्याय दिलाउने उद्देश्यका साथ यो ह्यासट्यागलाई व्यापक बनाए।

भदौ १ गते उनले फेरि मानसखण्ड दैनिकमा लेखे - 'प्रष्टै छ, कञ्चनपुर प्रहरीको नेतृत्व फेरबदल नभएसम्म निर्मला हत्याकाण्डको सफल अनुसन्धान हुनै सक्दैन।'  

सात दिनपछि सरकारले यो माग पूरा गर्‍यो। दुवैलाई धनगढी काज सरुवा गरियो। 

बन्द आह्वान गर्ने पत्रकार, माग पूरा गर्ने सरकार

त्यसअघि उनले साउन १३ गते महेन्द्रनगर बजार बन्द गर्न आह्वान पनि गरेका छन्। 

साउन १२ गते उनले निर्मलाको परिवारलाई भीमदत्त नगरपालिकाले तीन लाख र प्रदेश सरकारले पाँच लाख राहत दिने घोषणा गर भनेका छन्। 
नभन्दै पछि दुवै तहका सरकारले त्यस्तै निर्णय गरे। यसमा पछि केन्द्र सरकारको १० लाख पनि थपियो।

डिएनए रिपोर्ट नआउँदै दिलिप अपराधी हुन नसक्ने दावी

प्रहरीले भदौ ४ गते साँझ दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रश्न सोध्ने खेम भण्डारीमात्र थिए। पत्रकार सम्मेलनमा उपस्थितका अनुसार 'अब कञ्चनपुरमा आगो बल्छ' भन्दै उनी पत्रकार सम्मेलनबाट उठेर हिँडेका थिए।

त्यही रात उनले फेसबुकमा 'भीआइपी हत्याराको बुद्धि फिरेको रहेछ। झन् फँस्दै गयो हत्यारा' लेखेका छन्। 

भोलिपल्ट भदौ ५ को मानसखण्ड दैनिकमा उनले आफ्ना साला दिलिपसिंह विष्टलाई चोख्याउने गरी समाचार लेखे। 'निर्मला हत्याकाण्ड :  हत्पतमा लतपत गर्‍यो प्रहरीले' शीर्षकको समाचारमा दिलिप अपराधी हुन नसक्ने तर्क यसरी दिइएको छ -

•    भिनाजुको हत्या अभियोगमा जेल बसेर निस्केपछि दिलिप मानसिक रुपमै समस्याग्रस्त रहेको

•    खन्ना चौराहामा भेटिएका स्थानीय वासिन्दाहरुले दिलिपले यसअघि कुनै पनि महिलालाई दुर्व्यवहार समेत नगरेको बताएको

•    (उनकी छिमेकी खेमा सुवेदीलाई उद्धृेत गर्दै) प्रहरीले भनेजस्तो बलात्कार र हत्या गर्न सक्ने शारीरिक क्षमता नै दिलिपसँग थिएन, दिलिप शारीरिक भार पर्ने कुनै पनि काम गर्न सक्षम समेत थिएनन्, एक अंगालो दाउरा पनि बोक्न सक्दैन थियो, सानो काम गर्दा पनि स्वाँ स्वाँ हुन्थ्यो

•    प्रहरीले दावी गरे झैं उनी निर्मलाको शव फेला परेको स्थान भएर जाने बाटो कहिल्यै प्रयोग गर्दैन थिए। 

•    महेन्द्रनगर बजारमा उनलाई चिन्नेहरु पनि प्रहरीको दावी अविश्वसनीय रहेको बताउँछन्। दिलिपको मानसिक मात्रै नभई शारिरीक अवस्थासमेत बलात्कार गर्न सक्ने नरहेको उनलाई चिन्नेहरु बताउँछन्

•    ‘कुखुरा मार्न सक्ने बल र बुद्धि छैन उसमा’, छिमेकी सुवेदीले भनिन्, ‘१३ वर्षकी किशोरीमाथि आक्रमण गर्ने, घिसारेर खोलो तार्दै ५० मिटर टाढा लैजाने बल उसमा छँदै थिएन’  

प्रहरीको अनुसन्धान प्रारम्भिक चरणमै थियो। नेपालको कानुनले अनुसन्धान गर्ने निकाय नेपाल प्रहरीलाई नै तोकेको छ। उसको अनुसन्धान अनुसार मुद्दा चलाउन ठीक छ छैन हेरेर सरकारी वकिलले मुद्दा दर्ता गर्ने हो। अनि दोषी हो, हैन - प्राप्त प्रमाणको आधारमा अदालतले फैसला गर्ने हो। 

अदालतले त्यो दिन अनुसन्धानका लागि म्याद थप गरेको थियो। तर, उनले अदालतभन्दा अघि र डिएनए रिपोर्ट आउनुअघि नै दिलिप दोषी हुनै नसक्ने ठहर गरिदिए।  

'हत्यारा दिलिप हैन, भिआइपी हो' भन्दै त्यसलाई समात्न गाउँगाउँ र बस्तीबस्तीबाट उठ्न आह्वान गरे उनले फेसबुकमा भदौ ५ गते। 

त्यही दिन मध्याह्न तुरुन्त कन्चनपुरका एसपी र डिएसपीलाई झिकेर न्यायिक छानबिन सुरु नगरे क्षतिको दोष गृहमन्त्रीको हुने चेतावनी दिए। 

एसपी विष्टलाई बलात्कारी भन्दै नाराबाजी र प्रदर्शन भएको समाचार मानसखण्डमा त्यस दिन छापिएको छ।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई काम गर्न अवरोध गरेको भन्दै एसपी विष्टप्रतिमात्र लक्षित मानसखण्डको समाचारको टोन दिलिपलाई सार्वजनिक गरेपछि भने परिवर्तन भएको छ। त्यस समाचारमा 'सीआइबीले एसपी विष्टकै योजना अनुसार काम गरिरहेको आन्दोलनकारी र पीडित पक्षको दावी' भएको उल्लेख छ।

भदौ ६ गते एसपी र डीएसपीको निलम्बन, सीआइबीको टोली फिर्ताको माग गर्दै भीषण आन्दोलन लेख्दै उनले मानसखण्डको समाचार सेयर गरेका छन् जसमा 'बम दिदीबहिनीको घर आक्रमण गर्न हजारौंको भिड एकत्रित, भगतपुर क्षेत्र तनावग्रस्त' शीर्षक रहेको छ।

काठमाडौँका मिडिया पनि डोरिए उनकै एजेन्डामा

कञ्चनपुरका पाका पत्रकार भएका कारण स्थानीय पत्रकारहरु पनि उनीबाटै प्रभावित भए। उनलाई नै पछ्याए। त्यस्तै हालत भयो काठमाडौँबाट प्रकाशित हुने राष्ट्रिय मिडियाका स्थानीय रिपोर्टरहरुको। फलतः उनकै अजेन्डामा राष्ट्रिय मिडियाका पनि समाचार बने। 

मानसखण्डमा छापिएको दुई दिनपछि भदौ ७ मा नागरिक दैनिकको समाचारमा भण्डारीकै ठहरको प्रतिबिम्ब थियो - 'गाउँमा खानेकुरा माग्दै हिँड्ने, महिला देख्दा पनि छेउबाट हिँड्ने, महिलालाई छुन डराउने र घटनास्थलको अवस्था हेर्दा दिलीप दोषी भएको कोही पनि पत्याउन तयार छैनन्।'

काठमाडौँबाट प्रकाशित राजधानीमा दैनिकमा महेन्द्रनगरबाट सुरेश पन्तको बाइलाइनमा छापिएको समाचारका अधिकांश अंश मानसखण्डमा छापिएका समाचारबाट हुबहु कपी गरिएको छ। (हेर्नुस् मानसखण्डमा भदौ ५ गते छापिएको समाचार र राजधानीमा त्यसको केही दिनपछि छापिएको समाचार)

यी बाहेक, अरु कपि पेस्ट गर्ने मिडिया र युट्युबहरुका कारण अदालतले फैसला गर्नुअघि नै दिलिप पागल भएको र उनले बलात्कार गर्नै नसक्ने धारणा धेरैको मनमा स्थापित हुनपुग्यो।   

मानसखण्डमा छापिएको समाचारको एक अंश (छिमेकी खेमा सुवेदीले भनिन्, 'प्रहरीले भनेजस्तो बलात्कार र हत्या गर्न सक्ने शारीरिक क्षमता नै दिलिपसँग थिएन) राखेर गुगलमा सर्च गर्दा सगरमाथा, रातोपाटी, न्युज२४नेपाल, उज्यालोनेपाल आदि गरी २१५ वटा वेबपेज देखायो। 

यसले पनि यो प्रकरणमा उनले लेखेका समाचारहरुको प्रभाव कति धेरै फैलियो प्रष्ट हुन्छ।  

यसरी फैलियो बम दिदीबहिनीको हल्ला 

बजारमा बम दिदीबहिनीको बारेमा विभिन्न हल्ला फैलिएका थिए। पत्रकारले यसबारे स्थलगत रिपोर्टिङ गरी सत्य खोज्नुपर्नेमा हल्ला नै बिस्तार गर्नेमात्र काम गरे। 

नेपाल पत्रकार महासंघ कञ्चनपुर जिल्ला सभापति विष्णु अवस्थी यसलाई स्वीकार्छन्। ‘मिडियाले पनि गहिरिएर तथ्यमा पुगेन। यहाँको स्थानीय पत्रकार पनि बम दिदीबहिनीको घरमा पुगेनन्। नजानुपर्ने कारण के थियो?,’ उनले उल्टै हामीलाई सोधे। 

भण्डारी स्वयंले पनि मानसखण्डमै प्रकाशित एउटा लेखमा 'बम दिदीबहिनीको घरको कम्पाउण्डभित्र आफूले खुट्टा राखेको छैन' लेखेका छन्।  

भिआइपी र शक्तिशाली अपराधीको हौवा

निर्मला केसमा अनुसन्धान एकातिर, भिडको हल्ला अर्को ट्र्याकतिर गयो। निर्मलाको बलात्कार तथा हत्या सामान्य मान्छेले नभई भिआइपी र शक्तिशाली व्यक्तिले गरेको ठहर फेसबुकबाट बारम्बार खेम भण्डारीले गरिरहे। उनले आफूलाई समेत त्यो अपराधीबाट खतरा रहेको समेत लेखे।

सरकारले सिडिओ, एसपी र डिएसपीलाई फिर्ता बोलाएर छानबिनका लागि गृहका सहसचिवको नेतृत्वमा उच्चस्तरीय टोली गठन गरेपछि भदौ ८ गते उनले मानसखण्डमा लेखेका छन्- निर्मलाको बलात्कार र हत्यामा शक्तिशाली व्यक्ति(हरु)को संलग्नता प्रष्ट भइसकेको छ। हत्याराको निशानामा ती (बम) दिदीबहिनी पर्न सक्ने आशंका र चिन्ता सर्वत्र देखिएको छ। ती दिदीबहिनी निर्मला हत्या प्रकरणका सबैभन्दा महत्वपूर्ण सूत्र बन्न सक्ने सम्भावना रहेको बेला हत्याराले उनीहरुलाई निसाना बनाउने जोखिम औल्याइन्छ।

सोही दिन उनले फेरि अपराधी शक्तिशाली रहेको दोहोर्‍याएका छन्। अपराधी शक्तिशाली छ, उसले अनुसन्धान नै हुन नदिने योजना लागू गर्न थालेको छ लेखेका छन् फेसबुकमा। 

भदौ ८ गते गोली चलेर एक जनाको ज्यान जान्छ। त्यस दिन उनी लेख्छन्- निर्मलाको हत्यारा चानचुने होइन, ऊ जे पनि गर्नसक्छ भन्ने मैले पहिलेदेखि नै भन्दै आएको छु। देख्नु भयो त?

त्यसै दिन राति अबेर उनले आफू आन्दोलनकारी नै भए जसरी लेखेका छन् - 'निर्मला हत्याकाण्डपछिको आन्दोलनमा हिजोसम्मको सबै जिम्मेवारी म लिन तयार छु। आजको हिसाबकिताब 'काका'हरुसँग माग्नुस्।' उनले 'काका' भनेर 'कालो कांग्रेस'लाई संकेत गरेको बुझिन्छ। 

त्यही दिन काठमाडौँबाट अनलाइनखबरमा एउटा समाचार छापिन्छ जसमा उनले उठाइरहेको भिआइपी हत्याराको अजेन्डा शीर्षकमै राखिएको हुन्छ। कहाँ लुके निर्मलाका हत्यारा? ‘भीआइपी’माथि स्थानीयको शंका शीर्षकको समाचारमा बम दिदीबहिनीको घरमा प्राय: आवत-जावत गरिरहने एसपी डिल्लीराज विष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेको उल्लेख गरियो। यसरी घटनाको लगभग एक महिनापछि एसपीका छोरा र मेयरका भतिजाको नाम यो प्रकरणमा तानियो। 

खेम भण्डारीको मानसखण्डले भदौ ६ गते प्रकाशन गरेको बम दिदीबहिनीमाथि लाञ्छना, अम्बाको रुख काटेको, कोठामा रङ लगाइएको जस्ता हल्लालाई समेत मूलधारको मिडियामा वैधानिकता दिने काम यही समाचारले गर्‍यो।

मानसखण्डले दिलिपसिंह विष्टलाई सार्वजनिक गर्दाको भोलिपल्ट लेखेको 'महिलाहरु देख्दा बाटो छाडिदिने, महिलासँग नजिकै नआउने, महिलाले खाने कुरा दिए भने हातले नसमाएर भुइँमा राखिदिने कुरा' मात्र हैन, 'भिनाजुलाई मार्छु भनेर हानेको नभई झगडा हुँदाखेरि चिर्पटले हान्दा मृत्यु भएकाले जेल परेको' नयाँ कुरासमेत त्यसमा छ। जबकि जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वोच्च अदालत गरी तीनै तहका न्यायालयले समेत विष्टले नै हत्या गरेको ठहर गरिसकेको थियो।

भदौ २४ मा पत्रकार नै न्यायाधीश बन्न खोजेपछि अनुसन्धान प्रभावित भन्दै नेपालसमयमा आएको समाचारको लिङ्क राख्दै उनले त्यसलाई पनि भिभिआइपीसँग जोडेका छन् र फेसबुकमा लेखेका छन्- अत्यन्त व्यावसायिक र कुनै बेला प्रतिष्ठित सञ्चारगृहका मेरा सहकर्मीहरुले लेखेको यो समाचारको वास्तविकता के हो? भिभिआइपी काठमाडौंमा कति सक्रिय छ भन्ने बुझ्न यो एउटा उदाहरण काफी छ।

भिआइपी/शक्तिशाली अपराधीबारे उनका केही स्टायटस-

वीरेन्द्र केसीको प्रोपागान्डाबारे अग्रिम जानकार

खेम भण्डारीले उठाउँदै आएको भिआइपी र शक्तिशाली अपराधीको एजेन्डालाई थप स्थापित गर्ने काम गर्‍यो- गृह मन्त्रालयले गठन गरेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिका एक सदस्य उपसचिव वीरेन्द्र केसीले गरेको प्रोपागान्डाले। 

भदौ २४ राति ८ बजेर ५५ मिनेटमा उनले फेसबुकमा स्टायटस लेखे - भोलि दिउँसो १२ देखि १ बजेको बीचमा काठमाडौंमा भूकम्प जाने खबर पाएको छु। त्यसको सोझो झड्का महेन्द्रनगरमा पर्ने भएकाले हामी सबै संयमित हुन जरुरी छ। 

नभन्दै भयो त्यस्तै। भदौ २५ गते रिपोटर्स क्लबमा गरिएको पत्रकार सम्मेलनमा उनले ‘शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने सम्भावना रहेकाले’ जीवन रक्षाका लागि सरकारमात्र हैन, संयुक्त राष्ट्रसंघ नै गुहारे।  

त्यसपछि खेम भण्डारीले लेखे, 'मैले भविष्यवाणी गरेकै समयमा काठमाडौंमा भूकम्प गयो। उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले समितिले निर्मलालाई न्याय दिनेमा शंका गर्दै राजीनामा दिए काठमाडौंमा।'

 

निर्मलाको हत्यारा त्यतिन्जेल हिरासतमा रहेका उनका साला दिलिपले हैन, कुनै शक्तिशाली र भिआइपीले योजनावद्ध रुपमा गरेको उनको दावीलाई जनमानसमा स्थापित गर्ने काम गर्‍यो वीरेन्द्र केसीको प्रोपागान्डाले। नहोस् पनि किन, जब छानबिन गरिरहेको सदस्यलाई नै ज्यानको धम्की आउँछ र राजीनामा दिन बाध्य हुन्छ भने होइन कसले भन्ने?

उनको त्यस स्टायटसले देखाउँछ - केसीको राजीनामाबारे उनलाई अग्रिम जानकारी थियो। केसीले आफूलाई ज्यान मार्ने धम्की आएको भनेपछि प्रहरीले अनुसन्धान पनि गरेको थियो। भण्डारी र केसीको शंकास्पद 'नेक्सस' देखिएको भनिएको यो अनुसन्धानको रिपोर्ट सार्वजनिक हुने हो भने धेरै कुरा प्रष्ट हुने थियो, तर भएन।

संयुक्त राष्ट्रसंघ नै गुहार्नुपर्ने गरी उनलाई ज्यान मार्ने धम्की दिने को हो भन्नेबारे न उनले विस्तृत जानकारी दिए, न राज्यले त्यसो त थिएन भनेर हल्ला चिर्ने काम नै गर्‍यो। फाइदा भण्डारीलाई नै भयो, जसले हत्यारा भिआइपी रहेको बारम्बार लेख्दै आएका थिए।  

यसको भोलिपल्ट भदौ २६ मा डिएनए नमिलेको रिपोर्ट आएपछि दिलिप जमानतमा रिहा भए। त्यसलाई उनले यही राजीनामासँग जोड्दै लेखे - वीरेन्द्र केसीको राजीनामाको शक्ति देख्नु भयो त?

आफ्नो अजेन्डा स्थापित भएपछि उनले केसीलाई हिरो भन्दै प्रशंसा गरे।

तर, जब भोलिपल्टै केसीले गृहमन्त्रीलाई भेटे र राजीनामा फिर्ता लिएको घोषणा पर्सिपल्ट गरे भण्डारी यु टर्न भए, विरोध गर्दै जिरो बनाए। 'राजीनामा दिएर हिरो बनेका केसीको नाटकको यथार्थ' शीर्षकको समाचारमा भण्डारीले मानसखण्डमा लेखेका छन्- 'केसीले अबका दिनमा सत्यको बाटो हिंड्न सक्ने सम्भावना पनि कम भएर गएको आकलन गरिएको छ।'

अम्बाको रुखमा शंका उब्जाउन मुख्य भूमिका

निर्मला प्रकरणमा बम दिदीबहिनीको घर आँगनमा रहेको अम्बाको रुखको पनि निकै चर्चा भयो। अम्बाको रुखमा शंका उब्जाउनमा मुख्य भूमिका खेल्ने गरी समाचार र स्ट्याटस लेख्नमा पनि भण्डारीको भूमिका देखिएको छ। 

भदौ १३ गते खेम भण्डारीले आफ्नो बाइलाइनमा 'निर्मला हत्याकाण्ड : छुटेका केही कुरा' शीर्षकमा लेख लेखेका छन्।  त्यसमा बम दिदीबहिनीको घर आँगनमा रहेको 'अम्बाको रुख काटिएको मात्रै होइन जडखोदान नै भएको बताइएको' त लेखेका छन् तर सँगै 'मैले भने त्यो घरको कम्पाउण्डभित्र खुट्टा राखेको छैन' समेत लेखेका छन्। 

चैत तेस्रो साता महेन्द्रनगरमा जाँदा अम्बाको रुखको जरा नै काटिएको भन्ने समाचार आएको रोशनी बमले सुनाएकी थिइन्। त्यतिबेला हेर्दा पनि अम्बाको रुखको जरा र त्यसमाथिको फेद कायमै थियो।

अम्बाको रुख काटेको बारे बुझ्न हिरासतमा रहेका बम दिदीबहिनीका बाबुआमालाई समेत पोलिग्राफ आवश्यक भएको उनले त्यस लेखमा सुझाएका छन् - 

अम्बाको रुखको रहस्य
निर्मला अन्तिम पटक ज्यूँदै देखिएको भगतपुरस्थित बम परिवारको घरको अम्बाको रुख काटिएको मात्रै होइन जडखोदान नै भएको बताइएको छ। मैले भने त्यो घरको कम्पाउण्डभित्र खुट्टा राखेको छैन। लटरम्म फलेको सिजनको अम्बामाथि किन रिस पोखियो भन्ने बुझ्न साह्रै कठीन छ। यो बुझ्न हिरासतमा रहेका बम दिदीबहिनीका बाबुआमालाई समेत पोलिग्राफ आवश्यक छ।
निर्मलाले बोकेको भनिएको अम्बाको पोलिथिन (जुन शव पाइएको ठाउँ नजिक पाइएको थियो) र बम परिवारको घरको अम्बाको जात मिल्थ्यो कि मिल्दैन थियो भन्ने थाहा पाउन अब सम्भाव छैन किनभने बम परिवारको आँगनको अम्बाको रुखको अब सुकेको हाँगा पनि पाउन कठीन छ। निर्मलाको शव पाइएको ६ दिनपछि अम्बाको रुख काटिनुले उब्जाएको प्रश्नको चित्तबुझ्दो उत्तर महेन्द्रनगरवासीले पर्खिरहेका छन्। (पढ्नुस् पूरा लेख)

हामीले अपराध अनुसन्धानका अनुभवी केहीलाई सोध्यौं। उनीहरुका अनुसार अम्बाको रुखसित निर्मलाको सम्बन्ध निर्मला त्यो घरमा आएको हो भन्ने तथ्य 'स्ट्याब्लिस' गर्न मात्र काम लाग्छ। 

बम दिदीबहिनीले आफ्नो घरमा निर्मला आएकै छैन भनेको भए घटनास्थलमा भेटिएको अम्बा र अम्बाको रुखसित सम्बन्ध स्थापित गरी निर्मला घरमा आएको हो भन्ने प्रमाणित गर्न सकिन्थ्यो। 

तर, यो केसमा बम दिदीबहिनी स्वयंले 'निर्मला घरमा आएकी हो र अम्बा पनि दिएर पठाएका हौँ' भनेका छन्। यस्तो अवस्थामा अम्बाको रुख हुनु र नहुनुले घटनाको अनुसन्धानमा केही फरक पार्दैन। 

तर, अनुसन्धानको यस्तो तथ्यमा कसैले ध्यान दिएन। अम्बाको रुखबारे हल्ला चली नै रह्यो। उनले उठाएको प्रसंग त्यसपछि राष्ट्रिय दैनिकमा समेत स्थापित हुन पुग्यो।

असोज १ मा नयाँ पत्रिकामा ‘निर्मलालाई सोही रुखमा झुन्ड्याइएको हुन सक्ने कोणबाट पनि अनुसन्धान' भएको र  'अम्बाको रुखमा झुन्ड्याइएकाले त्यसमा निर्मलासम्बन्धी केही प्रमाण भेटिने सम्भावना थियो । त्यसैले निर्मलाले अम्बा टिप्दा त्यो प्रमाण रहेको हुनसक्ने तर्क गर्न अम्बाको झोला घटनास्थलमा लगेर राखिएको हुनसक्छ ’ भनेर जुनियर प्रहरी अधिकृतको बेनामे भनाई राखियो।

अम्बाको रुखमा झुण्ड्याएर मारेको हुनसक्ने कोणबाट अनुसन्धान नभएको अनुसन्धानकर्मी बताउँछन्। अम्बाको रुखमा वा अरु कतै झुण्ड्याइएको भए शवको घाँटीमा 'लिगायचर मार्क' हुनुपर्छ। निर्मलाको शवमा त्यस्तो कुनै मार्क नदेखिएको अनुसन्धान अधिकृत एकिन्द्र खड्का बताउँछन्।

यस्तै विवरण पोस्टमार्टम प्रतिवेदनमा छ। (हेर्नुस् पोस्टमार्टम प्रतिवेदन) प्रतिवेदनमा घाँटी अँठ्याएर मृत्यु भएको उल्लेख छ। पोस्टमार्टम गर्ने चिकित्सकले घाँटीमा एक हातले थिचेको डाम भेटिएको समेत अनुसन्धानकर्मीलाई बताएका थिए। 

बम दिदीबहिनीको घरको स्थलगत अवलोकन गर्दा पनि हामीले अम्बाको रुखमा झुण्ड्याउन हल्ला चले जस्तो सहज नहुने देख्यौँ। किनभने निर्मलाको हत्या दिउँसो २ बजेदेखि ५ बजेभित्र भएको मानिएको छ। 

अम्बाको रुख मूल सडकबाटै देखिने ठाउँमा रहेकोले दिउँसै त्यसरी झुण्ड्याएर हत्या गर्न सम्भव देखिन्न। घरभित्र घाँटी थिची हत्या गरी अम्बाको रुखमा झुन्ड्याउन सम्भव छ त? 

सडकबाटै देखिने ठाउँमा अम्बाको रुख भएकोले बाटोमा हिँड्नेहरु र छिमेकीहरुले त्यहाँ के भइरहेको हो देख्न सक्छन्। घरको मूलगेटबाट अम्बाको रुख भएको ठाउँसम्म करिब १० मिटरको दूरी छ। घरको चारैतिर लगाइएको कम्पाउन्ड वाल पनि करिब चार फिट भन्दा बढी छैन। त्यसैले बाटोमा हिँड्नेहरुले समेत सहजै देख्ने डर हुन्छ। दिउँसो यो काम सम्भव छैन।

हामीले सडकबाट खिचेको बम दिदीबहिनीको घरको फोटो। यो पर्खालसँगै जोडेर अम्बाको रुख रहेको थियो। 

राति अरुले नदेख्ने गरी झुण्ड्याउन त सकिएला तर त्यसमा पनि धेरै नै ‘रिस्क फ्याक्टर’हरु छन्। थप पढ्नुस् - निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा

राष्ट्रिय दैनिकसँगै युट्युबरहरुले पनि सनसनीपूर्ण रुपमा अम्बाको रुखमा झुण्ड्याएर हत्या गरिएको कुरा राखेपछि स्थलगत रुपमा कसैले नदेखे पनि अम्बाको रुखमै शंका गर्ने वातावरण बन्यो। 

असोज १० गतेसम्म पनि उनले 'निर्मला हत्याकाण्डमा बम दिदीबहिनीको घर र अम्बाको रुख बिर्सियो भने अनुसन्धान कहिल्यै पूरा हुने छैन' भन्दै अम्बाको रुखमा शंका उब्जाइराख्ने वातावरण बनाए।

पोस्टमार्टम रिपोर्टलाई नै चुनौति 

घटनाको तीन महिनापछि पनि उनले निर्मलालाई झुण्ड्याइएको भन्दै पोस्टमार्टम रिपोर्टलाई नै फर्जी भएको दावी गर्दै समाचार लेख्न छाडेनन्।

कात्तिक १८ गते उनले 'निर्मला हत्याकाण्डको एउटा अर्को आश्चर्यजनक पाटो केही घण्टाभित्रै सार्वजनिक गर्ने' उद्घोष फेसबुकमा गरे। त्यसपछि 'निर्मला झुण्ड्याइएकी थिइन्, पोष्टमार्टम रिपोर्ट पनि फर्जी' शीर्षकको समाचारमा  'निर्मला पन्तको शवको पोष्टमार्टम पनि जालसाझीपूर्ण हुन सक्ने संकेत प्राप्त भएको' र 'निर्मलाको हत्याको मूल कारण कण्ठ (भोकल कर्ड) भाँचिएर नभई मेरुदण्डको माथिल्लो भाग टुट्दा भएको प्रमाण पनि प्राप्त भएको' उल्लेख गरिएको छ। 

समाचारमा सुदूरपश्चिम प्रदेशका वरिष्ठ चिकित्सक डा. सुभेषराज कायस्थलाई उद्धृत गर्दै स्पाइनल कर्डको सबैभन्दा माथिल्लो भाग टुट्दा मात्रै घाँटी फनफनी घुम्ने र सर्भिकल क्वाइन भनिने स्पाइनल कर्डको सबैभन्दा माथिल्लो भाग झुण्ड्याइएको अवस्थामा मात्रै भाँचिने' उल्लेख छ। 

'यसबाट निर्मलाको हत्या झुण्ड्याएर  गरिएको भन्ने दावीलाई बल मिल्छ' भन्दै 'निर्मला हत्याकाण्डपछि चर्केको आन्दोलनका क्रममा आन्दोलनकारीले निर्मलाको हत्या बम दिदीबहिनीको घरको आँगनमा रहेको अम्बाको रुखमा झुण्ड्याएर गरिएको दावी गरेका र घटनाको दिन अर्थात् १० साउन २०७५ को एक साता नबित्दै अम्बाको त्यो रुख काटिएको' समाचारमा उल्लेख छ। 

तर, पोस्टमार्टम गर्ने चिकित्सकले भने स्पाइनल कर्ड 'इन्ट्याक्ट' रहेको (नभाँच्चिएको) बताएका छन्। पोस्टमार्टम गर्ने चिकित्सक र अनुसन्धान अधिकृतबीच भएको कुराकानीको पहिलोपोस्टलाई प्राप्त अडियोमा चिकित्सकले भनेका छन् - त्यो इन्ट्याक्ट छ। हामी तीनै जनाले कन्फर्म गरेका हौँ।'

महाकाली अञ्चल अस्पतालमा डा. हरिकुमार श्रेष्ठसहित तीन जनाले पोस्टमार्टम गरेका थिए। 

अडियोमा चिकित्सकले राइगर मोर्टिस हराइसकेपछि मासु एकदमै ल्याक्स हुने र टाउको समातेर हेर्दाखेरी फ्र्याक्चर छ जस्तो देखिने गरी रोटेट हुने बताएका छन्। 

प्रमाण नष्टको 'प्रमाण'

घटनाको एक महिनापछि भदौ १४ गते मानसखण्डले युट्युबमा सात वटा भिडियो अपलोड गरेको छ।  त्यसमा '११ साउनमा प्रहरी शव पाइएको स्थलमा पुग्नेवित्तिकै प्रमाण नष्ट गर्ने काम सुरु भएको प्रमाणित भएको' दावी गरिएको छ।

काठमाडौँको नयाँ पत्रिकाले सोही भिडियोलाई सम्पादन गरेर भदौ २७ मा युट्युबमा राखेपछि यो अझ व्यापक भएको थियो। यी भिडियो अरु धेरै ठाउँमा पनि प्रकाशित भएसँगै भाइरल हुनपुग्यो।

प्रहरीले अनुसन्धानमा गरेको लापरवाही थियो नै। तर, खुला स्थानमा सबैको अगाडि पत्रकारले समेत देख्ने गरी गरिएको यो गतिविधि हल्ला चले जस्तो भिआइपी जोगाउन गरिएको थियो कि लापरवाही थियो भन्ने बारे ध्यान नै दिइएन। तर, प्रमाण नष्टको उनको एजेन्डा यसरी नै स्थापित हुन पुग्यो र त्यही आरोपमा अहिले अदालतमा मुद्दासमेत चलिरहेको छ। 

हामी पहिलोपटक गत मंसिरमा महेन्द्रनगर पुग्दा ट्विटरमा #JusticeForNirmala का चार अभियन्ता पनि त्यहाँ भेटिएका थिए। 'यहाँ आइसकेपछि म झन् कन्फ्युज भएको छु,' धनगढीमा भएको छलफलका क्रममा तीमध्ये एक अभियन्ता विश्वदीपले भनेका थिए, 'काठमाडौँमा बसेर जे सुनेको थिएँ, त्यो सबै सही हैन रहेछ।'  

शव भेटिएको ठाउँमा समेत पुगेका उनीहरुले प्रमाण नष्ट गरेको भनिएको भिडियो कुनै ठाउँबाट लुकेर खिचेको होला भन्ठानेको तर सबैका अगाडि खुल्लमखुल्ला नै खिचेको देखिएको बताएका थिए। हाम्रो छलफलले एउटा प्रश्नको जवाफ खोज्न सकेको थिएन - नियोजित रुपमा प्रमाण नष्ट गर्न खोजेको भए सबैका अगाडि किन गर्थ्यो होला। घटनास्थलमा कसैलाई जानै नदिई गुपचुप रुपमा नै गर्थ्यो होला। किन प्रमाण नष्ट गरेको प्रमाण बनाउन सहज गरियो होला?

उच्चस्तरीय छानबिन समितिलाई 'निर्देशन'

प्रमाण नष्टसम्बन्धी आफ्नो एजेन्डामा उच्चस्तरीय छानबिन समितिलाई पनि प्रभावमा पार्ने गरी भण्डारीले आफूले भनेकै निष्कर्ष हुनुपर्ने 'निर्देशन' दिएका छन्। अन्यथा 'फेरि महेन्द्रनगरमा आन्दोलन भड्किन सक्छ' शीर्षकमा भदौ २१ गतेको समाचारमा उनले लेखेका छन् -

वास्तविक हत्यारा(हरु) खुट्याउनु वा वास्तविक हत्यारालाई बचाउन प्रहरीले नै प्रमाण नष्ट गरेको निष्कर्ष दिनुबाहेक समितिसँग अर्को विकल्प छैन। यी दुईबाहेक तेस्रो निष्कर्ष दिनु भनेको जनमानसलाई भड्काउने कार्य मात्रै ठहरिने छ।

ब्याउँदै नब्याएको भैँसीबारे अधिकारकर्मीसमेत प्रभावमा

इन्द्र अर्याल अध्यक्ष रहेको नेपाल मानवअधिकार संगठन (ह्युरोन) ले घटनाबारे जारी गरेको प्रारम्भिक प्रतिवेदनमा दिदी बबिता बम ओपेरा होटलको डान्सबारमा डान्सरको रुपमा कार्यरत रहेको उल्लेख थियो। केही अघि प्रतिवेदनलाई पुरानै मितिमा गुपचुप सच्याइएको थियो।

त्यही प्रतिवेदनमा बम दिदीबहिनीको घर नजिकैका छिमेकीको घरमा भैँसी ब्याएकोले कुर्न बसेकाहरुले मध्यरातमा हल्लाखल्ला सुनेको उल्लेख छ। 

असोज १० गते ह्युरोनले यो प्रतिवेदन प्रकाशित गर्नुअघि मानसखण्ड दैनिकमा भदौ २४ गते यस्तै व्यहोरा उल्लेख भएको समाचार छापिएको छ।

समाचारमा स्थानीय केही महिलाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई लिखित रुपमै निर्मलालाई आशंका गरिएको हत्याराले मोडल बनाइदिने भन्दै बोलाएको, त्यसअघि निर्मलालाई लुगा किनेर दिएको, बम दिदीबहिनीलाई मूख्य सूत्राधार औँल्याइएको, १० साउन मध्यरातमा बम परिवारको घरमा हल्लाखल्ला सुनिएको, त्यसै रात बम परिवारको घर नजिक एउटा घरमा भैंसी ब्याएको र भैंसी कुरेर बसेका महिलाले घटनाबारे धेरै थाहा पाएको पनि उल्लेख छ। 

हामी स्थलगत रिपोर्टिङका लागि पुग्दा भने छिमेकीहरुले नजिकै कतै भैँसी नै नब्याएको, राति अबेरसम्म हल्ला भएको आफूहरुले नसुनेको बताएका थिए।

हल्लाको दबाबमा डिएनए चेक

भदौ १७ मा उनले टीकापुर घटनादेखि त्रस्तहरुलाई अझै तर्साउने खतरनाक स्ट्याटस लेखे फेसबुकमा- 'आज मैले उच्चस्तरीय छानविन समितिलाई सूचित गरेको छु - भाला र खुँडा तयार गर्दैछ जनता गाउँगाउँमा।'

भदौ १९ मा जब प्रहरीले अभियुक्त बनाएका दिलिपको डिएनएको रिपोर्ट आउन लागेको थियो, त्यो बेलामा 'उनी निर्दोष हुन् भन्ने ठोकुवा गर्न सकिन्न' भन्दै भण्डारीको लेखाइको टोन अलिकति परिवर्तन आएको भए पनि समग्रमा उनले दिलिपकै पक्षमा समाचार लेखे। उनले मानसखण्डमा लेखे -

एसपी विष्ट र अंगुर जीसीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिप विष्टको पृष्ठभूमि हेर्दा उनी निर्दोष हुन् भन्ने ठोकुवा गर्न सकिन्न। तर, निर्मला हत्याकाण्डमा दिलिपको संलग्नता नरहेको आम बुझाई छ। आम बुझाई प्रायः गलत हुँदैन भन्ने सत्य ग्रहण गरेर अगाडि बढ्ने हो भने त्रुटिको सम्भावना कम हुन्छ। दिलिप विष्टको भिडिओ वा हस्तलिखित स्वीकारोक्तिले मात्रै जनमानस विश्वस्त हुन सक्दैन। झण्डै १५ वर्षदेखि मानसिक सन्तुलन गुमाएर अलपत्र एक व्यक्तिको मानसिक अवस्थाबारे विज्ञ जाँच नगराई लिइएको बयान उसै पनि गैरकानुनी हो। दिलिपलाई मानसिक रुपमा स्वस्थ व्यक्ति करार दिने बित्तिकै आक्रोशको हिंसक लहर फैलन सक्छ।

भदौ २६ गते डिएनए नमिलेको रिपोर्ट आएको भन्दै दिलिपसिंह विष्टलाई अभियोग नै नलगाई साधारण तारेखमा रिहा गरियो। त्यसपछि हौसिएका भण्डारीले 'अब कसको डिएनए परीक्षण गर्ने' भन्दै नाम किटेर दिन आह्वान गरे। 

त्यतिबेलै हो एसपी विष्ट, उनका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टको डिएनए परीक्षण गरिएको। 

एसपी विष्टलाई त्यतिन्जेल अनुसन्धानमा लापरवाही गरेको, प्रमाण नष्ट गरेको आरोपमात्र लागेको थियो। त्यो आरोप सही वा गलत भन्ने तथ्यमा बलात्कार र हत्याको शिकार भएकी किशोरीको भेजिनल स्वाबमा भेटिएको पुरुष डिएनएसित म्याच हुने नहुने कुराको सम्बन्ध नै थिएन।   

'ल एन्ड अर्डर र इन्भेस्टिगेसनको पार्ट छुट्टै हो। यसलाई अलग अलग राखेर हेर्नुपर्छ। इन्भेस्टिगेसन कहिल्यै पनि दबाबमा गरिनु हुन्न,' पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी भन्छन् - 'कन्चनपुर घटनामा इन्भेस्टिगेसन गरिरहेको प्रहरीमाथि नै हल्लाका आधारमा डिएनए चेकसमेत गरिएको छ। अझ एकै घटनामा बाउ र छोराको सँगै। यस्तो त दुनियाँमा कहीँ पनि हुन्न।'

अपराध अनुसन्धानको एउटा महत्वपूर्ण साधनलाई सस्तो बनाइयो। भण्डारीले स्वयं स्वीकारेका छन्- एसपी विष्टको डिएनए परीक्षणको अपेक्षा कसैले गरेका थिएनन्। तर, भयो।

त्यसपछि उनी अझ हौसिए। भदौ २७ गते लेखे, 'अपराधी पत्ता लगाउन जनताले नाराबाजीबाट औंल्याएका नाम, सञ्चारमाध्यममा आएका नाम, प्रहरी र उच्चस्तरीय समितिको अनुसन्धानमा देखिएका पात्र तथा अनुसन्धानमा संलग्न सबै प्रहरीको डीएनए परीक्षण गर।'

भदौ २८ 'एसपी विष्ट, उनका छोरा र आयुस विष्टको बाहेक अरु कसको डिएनए टेस्ट हुनुपर्छ भन्ने प्रष्ट नामका साथ आन्दोलन गरेमात्रै जनताले त्यो आन्दोलन समर्थन गर्ने' उनले लेखे। 

नभन्दै उनले लेखे अनुसार नै भिडकै दबाबमा एसपी विष्ट र उनका छोराको समेत डिएनए परीक्षण भयो। इन्सपेक्टर जगदीश भट्टको समेत डिएनए परीक्षण भयो। 

डिएनए रिपोर्टको आफू अनुकूल व्याख्या

डिएनए रिपोर्ट नआउँदै दिलिपसिंह विष्ट दोषी हुन नसक्ने ठहर गरेका भण्डारीले डिएनए रिपोर्टको पनि आफू अनुकूल व्याख्या गरे। भदौ २८ मा उनल लेखे- 'हत्याराको डीएनए निर्मलाको भजाइनल स्वाबमा सुरक्षित भएकोमा म ढुक्क छु। चक्रदेव र दिलिपको डिएनए नमिलेपछि अपराधीले डिएनएमा छेडछाड गर्न नसकेको प्रष्ट भएको छ। अब वास्तविक अपराधी डिएनएले नै छुट्याउने हो। 

भदौ २९ मा निर्मलाको भजाइनल स्वाबमा हत्याराको डिएनए सुरक्षित पाइनु, ग्रो हुनु र डिएनए प्रोफाइल तयार हुनु नै ठूलो उपलब्धि भएको भन्दै 'अब गडबडी गर्न सकिने सम्भावना लगभग जिरो भएको' लेखे।

तर, जब एसपी विष्ट र उनका छोरा किरण विष्टको डिएनए मिलेन तब उनले भजाइनल स्वाबमा वीर्य नै नभएको लेख्न थाले। 

असोज १४ मा विष्टत्रयको डिएनए नमिलेपछि उनले लेखे- त्यो स्वाब निर्मलाकै हो भन्ने जाँच्नुपर्छ अब।

'निर्मलाको भजाइनल स्वाब नै नक्कली पठाइएको हुनसक्ने समाचार मैले १० दिन अगाडि नै लेखेको थिएँ। अब त्यता पो जाँच गर्ने हो कि?
गृहमन्त्रीले भनेका थिए : हत्यारा पहिचान गर्ने सबै प्रमाण नस्ट भए। दिल्ली विष्टलाई बचाउने प्रमाण भने सुरक्षित रहेछ।'

असोज २९ मा उनले लेखे, 'निर्मलाको भजाइनल स्वाबमा बलात्कारीको डिएनए नै नभएको प्रष्ट संकेत पाइएको छ। धन्य हो कानुनको कुशासन भएको मेरो देश!'

माइनस २० डिग्रीमा राख्नुपर्ने भन्दै छरे भ्रम 

असोज ६ गते उनले फेसबुकमा निर्मलाको भजाइनल स्वाब राखेको कन्टेनरको तापक्रम माइनस २० डिग्री कायम गरी विधिविज्ञान प्रयोगशालामा पठाइएको ग्यारेण्टी हुनुपर्ने लेखे। 

त्यसअघि असोज ४ मा उनले मानसखण्डमा प्रकाशित समाचारमा लेखेका थिए-

महाकाली अञ्चल अस्पतालको स्रोतका अनुसार निर्मलाको भजाइनल स्वाबको संकलन र भण्डारणमा पनि शंका गर्न सकिने केही संकेत पाइएका छन्। स्रोतले निर्मलाको भजाइनल स्वाबमै छेडखानीको सम्भावना औंल्याएको छ। चिकित्सकले स्वाब संकलन गरी कन्टेनरमा राखेपछि तत्काल सिल नगरिएको पनि स्रोतले बताएको छ। स्वाब सुरक्षित राख्नका लागि आवश्यक माइनस २० डिग्रीको तापक्रमयुक्त किट पनि प्रयोग नगरिएको स्रोतको दावी छ।

भजाइनल स्वाब माइनस २० डिग्रीको तापक्रममा राखेर विधि विज्ञान प्रयोगशालामा पठाउनु पर्ने कुरा उनले निकै पटक फेसबुकमा र पत्रिकामा पनि लेखेका छन्।  

तर, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक तथा फरेन्सिक एक्सपर्ट जीवन रिजालका अनुसार भजाइनल स्वाबलाई माइनस २० डिग्रीमा राख्नुपर्दैन। सुकाउनुमात्र पर्छ। पानी सुकाए पुग्छ।

भण्डारीले भजाइनल स्वाब राख्ने कन्टेनर भनेका छन् तर रिजालका अनुसार 'प्लाष्टिक वा टेष्टट्युबमा भन्दा कागजको खाममा राख्यो भने झनै राम्रो हुन्छ। प्रमुख कुरा पानी हटाएर हावामा सुकाउनु पर्ने हो, त्यति भए पुग्छ।'

भारत सरकारको स्वायत्त संस्था सेन्टर फर डिएनए फिंगर प्रिन्टिङ एन्ड डायग्नोस्टिक्सको प्रोसेड्योरमा पनि कटन स्वाबलाई सुकाएर सफा सुख्खा ग्लास वा बोतलमा राखेर पठाउनु पर्ने उल्लेख छ। 

विश्वका अरु देशहरुमा पनि यस्तै सुकाएर पठाउनु पर्ने गाइडलाइन भेटियो।

सुकाएर सुरक्षित रुपमा ल्याब पठाउनु पर्ने विषयलाई माइनस २० डिग्री तापक्रमको किटमा पठाउनु पर्ने भनी उनले अरुलाई दिग्भ्रमित पारे।

गुगलमा उनले लेखेको समाचारको अंश "माइनस २० डिग्रीको तापक्रमयुक्त किट पनि प्रयोग नगरिएको स्रोतको दावी छ" सर्च गर्दा ऋषि धमलाको रिपोर्टर्सनेपालदेखि जनतापाटी, अनलाइन बुटवल, चौतारी अनलाइन, एचकेखबर, सहारापाटी, सीधान्युज लगायतका अनलाइनहरु गरी ३९० वटा वेबपेजको रिजल्ट देखायो। 

 

  

सिसिक्यामेरा एक साथ बिग्रिए?

भदौ ३१ गते मानसखण्डले 'निर्मला हत्याकाण्ड बारे अर्को खुलासा !' शीर्षकमा भीमदत्त नगरपालिकाले बजार क्षेत्रमा जडान गरेका १६ मध्ये ७ सीसी क्यामेरा एकसाथ बन्द भएको, साउन १० गतेपछि होटल ओपेरा–उल्टाखाम मार्गका सबै क्यामरा बेकामे बनेको उल्लेख गरेको छ। समाचारमा त्यसलाई निर्मला हत्याकाण्ड सुनियोजित भएको पुष्टि गर्ने सन्दर्भ भएको उल्लेख छ।

तर, यसको पुष्ट्याइँ भने गर्न सकिएको छैन। हत्या साउन १० गते भएको र शव भोलिपल्ट ११ गते भेटिएको हो। तर, समाचारमा साउन १७ गतेपछि मात्रै सात वटा क्यामेरा बिग्रिएको भनिएको छ। हत्याको सात दिनपछि सात वटा क्यामेरा बिग्रनु कसरी घटना सुनियोजित भएको पुष्टि हुन्छ? समाचारले खोल्न सकेको छैन। 

हत्याको दिन बिग्रिएको भए पो क्यामेरा बिगारेर सुनियोजित रुपमा होटल ओपेरादेखि लाश ओसारेर निम्बुखेडासम्म लगी फ्याँकेको भन्न सकिन्छ। हामीलाई प्राप्त जानकारी अनुसार नौ वटा क्यामेरा बिग्रिएको र त्यसमध्ये ६ वटा भदौ ८ गते र बाँकी भदौ १७ गते बिग्रिएको थियो। कारण हेर्नुस्-

नगरपालिकाको सीसीटीभी नेटवर्कको डाटा सुरक्षित राखेको भए होटल ओपेरामा एसपी विष्टका छोरा किरणसँगै अन्य दुई युवक र तीन युवती को थिए भन्ने अनुसन्धानमा उपयोगी हुने थियो भनी लेखिएको छ।

जबकि कल डिटेल, कल लोकेसन र किरणले उपलब्ध गराएका र फोटोहरु र सँगै भएकाहरुसँग गरिएको सोधपूछबाट घटनाको समय त्यहाँ को को थिए भन्ने खुलिसकेको छ। हेर्नुस् शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए? 

रेडियो स्टेसन र अम्बाको रुख

डिएनए नमिलेर दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भइसकेपछि उनीसित गरिएको सोधपूछको एउटा भिडियो प्रहरीले लिक गर्‍यो।  

भिडियो सार्वजनिक भएपछि असोज १८ गते उनले दिलिप विष्टलाई कुनै एक रेडियो स्टेशनमा लगेर भिडियो बनाइएको लेखे। महेन्द्रनगरमा रेडियो महाकालीसमेत सञ्चालन गरिरहेका भण्डारीले सोधे, 'को हो त्यो पत्रकार जसले पुलिसको लागि जासुसी गरिरहेको छ। पुलिसले बकाउन किन रेडियो स्टेशनमा लग्नु पर्‍यो?' 

फेरि अर्को स्ट्याटसमा उनले अम्बाको रुखसित जोडेर लेखे- 'अब महेन्द्रनगरको कुनै रेडियो स्टेशनको पनि अम्बाको रुख जस्तै नामोनिसान सकिने त होला। भिडिओ मात्रै होइन दिलिपको अडियो समेत एडिट गरिएको छ । मतियारको अभियोग सजिलै लाग्छ है।'

वास्तवमा त्यो जिल्ला प्रहरी कार्यालय कै इन्भेस्टिगेटिभ इन्टरभ्यु रुममा लिइएको भिडियो थियो। नेपाल प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभागद्वारा २०७४ मा प्रकाशित सिआइडी म्यागेजिनका अनुसार डबल मिरर र अडियो भिडियो रेकर्डिङ सुविधासहितको यस्ता १२ वटा रुम आर्थिक वर्ष २०७३/७४ मा तयार पारिएका थिए। जसमध्ये कञ्चनपुरको जिल्ला प्रहरी कार्यालय पनि एक हो। 

 

एसपी विष्टविरुद्ध जे भने, पूरा भयो

पत्रकार खेम भण्डारीका नौ महिनाका फेसबुक स्ट्याटसहरु र उनी सम्पादक रहेको मानसखण्ड दैनिकको अनलाइनमा प्रकाशित समाचारहरुको सूक्ष्म अध्ययन गर्दा निर्मला प्रकरण सुरु भएदेखि उनले एसपी दिल्लीराज विष्टविरुद्ध लेखेको देखिन्छ। एसपी पुत्र किरण विष्टका विषयमा भलै उनले सुरुमा लेखेनन्, तर उनको नाम यो प्रकरणमा अर्कै मिडियाबाट जोडिएपछि विवादमा तान्न छोडेनन्।  

एसपी विष्टविरुद्ध भण्डारीले सुरुमा जे जे माग गरे, पूरा हुँदै गयो। सुरुमा उनले सरुवा गर्नुपर्ने भने, भयो। त्यसपछि उनले निलम्बन गर्नुपर्ने भने, त्यो पनि भयो। 

आफूले भने जस्तो नहुँदा उनका समाचारमा 'आन्दोलन विध्वंसक हुनसक्ने अनुमान' गरिएको हुन्थ्यो।

भदौ ६ गते उनले फेसबुकमा एसपी विष्ट हेडक्वार्टर तानिएको भनेर लेखेका थिए।  तर, त्यो गलत साबित भएपछि भोलिपल्ट मानसखण्डको अनलाइनमा 'एसपी विष्ट हेडक्वार्टर तानिएको खबर हल्ला मात्रै ठहर भएपछि बिहानैदेखि सडकमा क्रोध' सब हेडलाइनमा 'गाउँ–गाउँबाट आन्दोलनकारी महेन्द्रनगरतर्फ हिँडिसकेका छन्। प्रहरी प्रधान कार्यालयले फिजाएको हल्लाले वातावरण झन् क्रुद्ध बनेको छ। विद्यार्थी तथा युवाहरु पनि सडकमा आउन थालिसकेका छन्। आजको आन्दोलन झन् विध्वंशक हुने अनुमान गर्न थालिएको छ' लेखिएको छ। 

सुरुमा एसपी विष्टविरुद्धमात्र लक्षित उनको विचार उनका साला दिलिपसिंह विष्टलाई पक्राउ गरिसकेपछि अनुसन्धानमा सघाउन काठमाडौँबाट आएको सिआइबीको टोलीप्रति पनि लक्षित भएको देखिन्छ।  

भदौ १० गते उनले फेसबुकबाट नयाँ माग राख्छन्- सीआइबीका डिएसपी अंगुर जीसी, उनको टीम निलम्बनमा नपरेसम्म खतरा कायम छ। उच्चस्तरीय छानबिन टोलीलाई प्रभावित गर्ने गरी उनले लेखेका छन्- सीआइबीका डिएसपी अंगुर जीसी, उनको टीम र जिल्लाभरिका इन्स्पेक्टरलाई सरुवा गरेर मात्रै छानविन सुरु गर। यसो नगरी छानविन गरेर भोलि नतिजा प्रभावित भयो भने सबै दोष उच्चस्तरीय छानविन समितिको हुनेछ।

मानसखण्ड दैनिकमा त्यही दिन समाचार छ- 'डिएसपी जीसी र जिल्ला प्रहरी कार्यालयका अन्य अधिकृत तथा सीआइबीलाई सहयोग गर्न खटाइएका इलाका प्रहरी कार्यालय गड्डाचौकीका सई डिगरदेव पन्तलाई निलम्बन गर्नुपर्ने मागसहित फेरि आन्दोलन उठ्न सक्ने सम्भावना देखिएको छ।'

'कर्फ्यु हटाउनेवित्तिकै यो मागका आडमा फेरि नाराजुलुस हुने सम्भावना' देखाउँदै समाचारमा कारण लेखिएको छ - 'अनुसन्धानका क्रममा डिएसपी जीसीको भूमिका पनि शंकास्पद देखिएको छ। उनी दिलिप विष्टलाई सार्वजनिक गर्ने कार्यक्रममा उपस्थित भएर एसपी डिल्लीराज विष्टको दावीलाई समर्थन जनाएका थिए। जीसीले एसपी विष्टसँग मिलेर तथ्यहरु बंग्याउने प्रयास गरेको गुनासो पटक–पटक सामाजिक सञ्जालमा आएको थियो।'

भदौ ११ मा उनले फेरि लेख्छन्-  'सीआइबीका डिएसपी अंगुर जीसी, डिएसपी ज्ञानबहादुर सेठी, सीआइबी टिमका अन्य सदस्य, सीआइबीको सहयोगमा खटिएका स्थानीय प्रहरी अधिकृतहरुलाई हत्याबारे सब थाहा भइसकेको हुनुपर्छ किनभने एसपी विष्टको योजनामा उनीहरु चलेका हुन्। तर, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले एसपी विष्टबाहेक अरुलाई निलम्बन समेत गरेको छैन। यसबाट अनुसन्धान प्रक्रिया मात्रै प्रभावित हुने देखिँदैन वास्तविक हत्यारा नै चिन्हित हुन नसक्ने खतरा उत्पन्न भएको छ।' 

कारबाही नभए आन्दोलन गर्ने चेतावनी पनि उनी दिन्छन्- 

अब सेठी, जीसीलगायतमाथि कारबाही नभए आन्दोलन गर्ने हाम्रो तयारी। को को हुनुहुन्छ साथमा?

भदौ १५ गते उनले 'निर्मला हत्यकाण्ड : अब पनि हत्यारा पत्ता नलागे के हुन्छ?' शीर्षकमा एसपी विष्ट र उनको टिमलाई निलम्बनमात्रै हैन हिरासतमै राख्नुपर्ने विचार राखे। सिआइबी टोलीलाई निलम्बित गर्न पनि थप दबाब दिँदै लेखे -

एसपी डिल्लीराज विष्टको नेतृत्वमा रहेको कञ्चनपुर प्रहरीले प्रमाण मेट्ने वा छेडछाड गर्ने काम गरेको छ भने अहिले नै कठेर कदम उठाउनु उच्चस्तरीय समितिका लागि हितकर हुनेछ। एसपी विष्ट र उनको टिमलाई हिरासतमा राखेर काम गरियो भने थप प्रमाण सुरक्षित हुने छन्। अन्यथा आफ्नो सामाजिक प्रभाव र राजनीतिक साँठगाँठका बुतामा उनले बाँकी प्रमाण पनि नष्ट गर्नेछन्। निलम्बित एसपी विष्टको चलखेल अहिले पनि महसुस भइरहेको छ। उनलाई निलम्बन मात्रैको कारबाहीले उच्चस्तरीय समितिलाई काम गर्न सजिलो नहुन सक्छ। साथै, निर्मला हत्याकाण्डमा सीआइबीको टोली पनि शंकाको घेरामा परेको हुनाले त्यो टोलीमाथि पनि अंकुश लगाउन जरुरी छ। सीबीआईले एसपी विष्टलाई सघाएको प्रष्ट भइसक्दा पनि अंगुर जीसी निलम्बित नहुनु आश्चर्यजनक हो।

भदौ ३० गते सरकारले यो माग पनि पूरा गर्‍यो। डिएसपी अंगुर जिसीसहित डिएसपी ज्ञानबहादुर सेटी, इन्सपेक्टर जगदीश भट्ट, एकिन्द्र खड्का, सई रामसिंह धामीलाई निलम्बनमा परे। 

यो माग पूरा भएपछि भण्डारीले उनीहरुलाई थुन्नु पर्ने माग राखे। उनले फेसबुकमा लेखे- 

'होइन यो सरकार प्रमाण मेटाउनेलाई हिरासतमा लिन किन कञ्जुस्याईं गरिरहेको छ? निलम्बनले मात्रै पुग्दैन! एसपी विष्टसहित १२ प्रहरी अधिकृत थुनामा नजाउञ्जेल आन्दोलन जारी रहनु उचित छ।'

'एसपी डिल्ली विष्टसहित १२ प्रहरी अधिकारीलाई हिरासतमा नलिउञ्जेल आन्दोलन रोकिनु हुँदैन, बरु चर्कनु पर्छ।'

भदौ १२ गतेको मानसखण्डमा उनले एसपी विष्टको विरुद्ध लामै लेख छापेका छन्। त्यसमा 'निर्मलाको हत्यापछि शव ठेगान लगाउन जुन तरिका प्रयोग गरिएको थियो, त्यसले हत्याकाण्डमा अपराध अनुसन्धान सम्बन्धी जानकार व्यक्ति संलग्न रहेको संकेत दिएको' भन्दै प्रहरीमाथि नै शंका तेर्स्याइएको छ भने 'प्रमाणहरु नष्ट गर्नका लागि सुविचारित योजना कार्यान्वयन गरिएको' आरोप लगाइएको छ। यसका लागि उनको तर्क छ - निर्मलाको बलात्कार हत्यामा नभए पनि शव ठेगान लगाउने काममा अपराध अनुसन्धानमा पोख्त व्यक्तिको संलग्नता रहेको अनुमान गरिएको हो।'

निर्मला हत्याकाण्डमा एसपी विष्टको संलग्नताबारे एकिन भन्न नसकिने तर, उनले लिएको अडान र देखाएको व्यवहारले उनी शंकाको घेरामा आएको ठोकुवा उनले त्यो लेखमा गरेका छन्। उनको त्यो लेख काठमाडौँका अरु अनलाइनले पनि साभार गरे।

समयक्रममा निर्मला प्रकरणसम्बन्धी उनकै कुरामात्र आधिकारिक जस्तो देखिने स्थिति आयो। उनका लेख मात्र हैन स्ट्याटसहरु समेत मिडियामा प्रकाशित भए।  

असोज २३ मा उनले अम्बाको रुख, एसपी पुत्रको जन्मदिन आदि विभिन्न कन्सपिरेसी थेउरीका विषय राखेर दिलिपलाई चोख्याउने र अरुलाई शंका उब्जने गरी १४ वटा प्रश्नसहितको एउटा स्ट्याटस लेखे।

यो स्ट्याटसलाई काठमाडौँबाट प्रकाशित हुने राष्ट्रिय दैनिक कान्तिपुरले समेत छाप्यो।

कान्तिपुरको २३ असोज, २०७५ को अङ्कको पेज ६ मा प्रकाशित खेम भण्डारीको स्टायटस

अन्ततः कात्तिक ८ गते सरकारले एसपी विष्टलाई सेवाबाट हटाउने निर्णय गर्‍यो। त्यसपछि उनले विष्टलाई जेलै हाल्नुपर्ने माग गरे। उनले फेसबुकमा लेखे - यतिले मात्रै पुग्दैन। अब किन उनी वर्खास्त भए त्यसको जवाफ चाहिन्छ। प्रमाण मेटाउने स्वतन्त्र हिंड्ने होइन, जेलमा हुनुपर्छ। त्यसै प्रमाण मेटाउँछ कसैले? प्रमाण मेटाएको अभियोगको आधारमा वर्खास्तमा परेका डिल्ली विष्टलाई निर्मलाको हत्याराबारे थाहा छ, अब थुनी कारबाही होस् सरकार!!!

भण्डारीविरुद्ध चार मुद्दा

निर्मला प्रकरणमा अभियुक्त पहिचान गरी मुद्दा नचलाइए पनि यही प्रकरणसँग सम्बन्धित पाँच वटा मुद्दा कञ्चनपुर जिल्ला अदालतमा चलिरहेको छ। एउटा मुद्दा अधिकारकर्मीहरुको पहलमा दायर भएको एसपी विष्टसहित ८ प्रहरी विरुद्ध प्रमाण नष्ट र यातनाको कसुरसँग सम्बन्धित छ। 

बाँकी चार मुद्दा पत्रकार खेम भण्डारीविरुद्ध हो। बम दिदीबहिनीमध्ये दिदी अनिता र तत्कालीन एसपी विष्टका छोरा किरणले छुट्टाछुट्टै गाली बेइज्जती मुद्दा दायर गरिसकेका छन्। त्यसैगरी अधिवक्ता  विनोद भट्टले प्रतिष्ठा विरुद्धको कसुरमा अर्को मुद्दा दायर गरेका छन्। चौथो मुद्दा उनीविरुद्ध जिल्ला अदालत बार एसोसिएसनले अदालतको अवहेलना गरेको भन्दै हालेको हो। 

अदालतमा विचाराधीन विषयमा अदालतलाई प्रभावित गर्ने गरी लेखेको भन्दै जिल्ला बारले मुद्दा हालेको हो। आठ प्रहरीविरुद्ध चलाउन लागिएको मुद्दामा हद म्याद लगायतका प्राविधिक विषयमा अदालतले सहयोगका लागि एमिकस क्यूरी गठन गरेको थियो। त्यसका लागि कञ्चनपुर जिल्ला अदालत बार एसोसियसनले अधिवक्ता हरेन्द्रराज विष्टलाई एमिकस क्यूरीमा पठाउने निर्णय गरेको थियो। 

यही विषयमा 'निर्मला हत्याकाण्ड : न्यायिक प्रक्रिया नै विथोल्ने यस्तो डिजाइन!' शीर्षकमा मानसखण्ड दैनिकमा समाचार छापियो। त्यसमा 'महेन्द्रनगरमा क्रियाशील एक अधिवक्ताले अधिवक्ता विष्ट अभियुक्त तथा वर्खास्तीमा परेका एसपी डिल्लीराज विष्टका नातासम्बन्धी भएको दावी गरेको' उल्लेख छ। न्यायिक प्रक्रिया नै बिथोल्ने डिजाइन भएको शीर्षकमा दावी गरिए पनि समाचारमा 'दैनिक मानसखण्डको संक्षिप्त अनुसन्धानले अधिवक्ता विष्ट र पूर्व एसपी विष्ट नाता सम्बन्धमा पर्ने देखाए पनि ठोस जानकारी प्राप्त हुन सकेको छैन' लेखिएको छ। 

पूर्व एसपी विष्टले हरेन्द्रराज विष्टलाई आफूले अहिलेसम्म देख्दा पनि नदेखेको र चिन्दा पनि नचिनेको दावी गरे। 'वंशावली अनुसार कतै केही आफ्नो पर्ने भए थाहा छैन, तर मैले उनलाई अहिलेसम्म देखेको पनि छैन,' उनले भने। 

गत चैत २९ गते प्रारम्भिक सुनुवाईका क्रममा जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यले एमिकस क्युरीको विषयसहित अदालतको अवहेलना र पत्रकारको पेशागत आचारसंहिता, कानुनी एवं न्याय सम्बन्धी समाचारको संवेदनशीलताको अवस्था र यस सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास आदिको विषयमा लिखित बहसनोट तयार गर्न वैशाख १५ सम्मको समय दिएको छ। (हेर्नुस् अदालतको आदेश)

उनले फेसबुकमा आफूविरुद्धको मुद्दा प्रेस स्वतन्त्रताको विषयसँग जोडिएको भन्दै सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। पत्रकार महासंघलाई समेत पत्र लेखी सहयोगका लागि अपील गरेका छन्। (हेर्नुस् उनको पत्र)

महेन्द्रनगरको ‘शक्ति केन्द्र’- खेम भण्डारी

विक्रम संवत् २०५० को दशकमा ऋषिराज लुम्साली कञ्चनपुर जिल्ला विकास समितिका सभापति हुँदा खेम भण्डारी सल्लाहकार थिए। बिस्तारै उनी महेन्द्रनगरको एक शक्तिकेन्द्रका रुपमा स्थापित भए।

‘प्रतिष्ठित’ पत्रकार भएकाले उनले नयाँ पुस्ताका पत्रकारलाई प्रशिक्षण पनि दिन्छन्। उनीद्वारा प्रशिक्षित पत्रकारहरु भएर मात्र हैन, आफ्नो पर्सन्यालिटीका कारण पनि उनी अहिले महेन्द्रनगरकै पत्रकारिता लिड गर्छन्।

त्यतिमात्र हैन उनले सिङ्गो देशकै पत्रकारिताको नेतृत्व गरे श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको लागि बनेको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्षका रुपमा। शक्तिकेन्द्रसँग निकटले मात्र पाउने यो पदमा उनी ६ वर्षअघि नियुक्त भएका थिए। काठमाडौँबाट प्रकाशन हुने दुई वटा राष्ट्रिय मिडियाको सम्पादकीय नेतृत्व पनि उनले गरे- कान्तिपुर मिडिया ग्रुपको नेपाल म्यागेजिनमा सहायक सम्पादक र सौर्य दैनिकको सम्पादकका रुपमा। 

केन्द्रदेखि सुदूरपश्चिमसम्म पत्रकारिताको नेतृत्वमा रहेका उनलाई तत्कालीन नेकपा एमालेले गएको निर्वाचनमा प्रदेश सभातर्फ कञ्चनपुर क्षेत्र नम्बर ३ (ख) का लागि उम्मेदवार बनाउन सिफारिशसमेत गरेको थियो। तर, उनी सांसद हुन पाएनन्। वाम गठबन्धनका लागि माओवादीसँग देशभर तालमेल गर्ने क्रममा त्यो सिटमा माओवादी केन्द्रका मानबहादुर सुनारलाई उठाइयो र उनले कांग्रेस उम्मेदवारलाई हराएर जिते पनि।

हाल महेन्द्रनगरमा मानसखण्ड दैनिक अखबार र रेडियो महाकाली सञ्चालन गरिरहेका भण्डारीको प्रभाव त्यहाँको प्रशासन, सुरक्षा निकाय, स्थानीय राजनीतिक दल तथा गैरसरकारी संस्थाहरुमा उत्तिकै छ। यतिखेर उनीविरुद्ध चार वटा मुद्दा परेका छन्। म विरुद्ध अदालती–मुद्दाका चाङको अर्थ शीर्षकमा उनले आफ्नो पत्रिकामा लेख लेख्दै मुद्दा जित्ने दावी गरिसकेका छन्।

जसरी निर्मला प्रकरणमा उनले निरन्तर दिएका दबाबहरु तीनै तहका सरकारले कार्यान्वयनमा ल्याए, के न्यायालयमा पनि उनको प्रभाव पर्ला? जवाफ छिट्टै देख्न पाइनेछ। 

(महेन्द्रनगरमा महेन्द्र बमको सहयोगमा)

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा

शृङ्खला २२ : 'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या?

शृङ्खला २३ : अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन?

शृङ्खला २४ : निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी

शृङ्खला २५ : निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन 

 थप समाचार



ट्रेन्डिङ पोस्ट

Ncell