PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नक्कली नोटसँगै समातिएका युनुसको मुस्कानसहितको 'इन्ट्री', बयानमा भने : मगाएको भन्दा धेरै नै पठाएछन्



सविन ढकाल

नक्कली नोटसँगै समातिएका युनुसको मुस्कानसहितको 'इन्ट्री', बयानमा भने : मगाएको भन्दा धेरै नै पठाएछन्

काठमाडौं : शुक्रबार दिउँसो साढे चार बजे महानगरीय प्रहरी कार्यालय रानीपोखरीको एउटा कक्ष भरिभराउ थियो। अपर्झटको पत्रकार सम्मेलन भएकाले पत्रकारको बाक्लै उपस्थिति हुनु स्वभाविक थियो। प्रहरीको उपस्थिति पनि उतिकै। करीब दुई वर्षपछि कार्यालयमा एकाएक पत्रकार सम्मेलन हुँदै थियो।

प्रहरी अधिकारी र पत्रकार सबैको प्रतीक्षामा थिए - युनुस अन्सारी। कतिखेर प्रहरीले उनलाई ल्याउला र फोटो खिचौँला भनेर तम्तयार थिए फोटो पत्रकारहरु। सबैभन्दा पहिले मुखमा कालो मास्क लगाएकी एक महिलालाई प्रहरीले हत्कडी लगाएकै अवस्थामा ल्याए। ‘मैले केही गरेको छैन। म होइन, होइन,' हिन्दी भाषामा बोलेकी उनको अभिव्यक्ति यस्तै सुनियो।

केही बेरमा युनुस ल्याइए हत्कडीसहित। उनको शिरमा ढाका टोपी र ज्यानमा कालो कोट थियो। हातमा भने पानीको बोतल देखिन्थ्यो।

नक्कली नोट प्रकरणमा प्रहरीले शुक्रबार त्रिभुवन विमानस्थलबाट अन्सारी सहित छ जनालाई पक्राउ गरेको थियो जसमा तीन जना पाकिस्तानी र तीन नेपाली नागरिक थिए। पत्रकार सम्मेलनमा प्रहरीले 'ठूलो माछा'का रुपमा उपस्थित गराएका सबैका मुखमा माक्स थियो। युनुस भने अलिक फरक देखिए। उनको भलाद्‍मी शैली देख्दा लाग्थ्यो, उनी कुनै अपराधी नै होइनन्। त्यतिमात्र होइन, पत्रकार देख्नेवित्तिकै मुसुक्क मुस्काइहाले।

७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय नोटसहित प्रहरीले नियन्त्रणमा लिएकामध्ये एक थिए उनी। प्रहरीका अनुसार उनी कतारको दोहाबाट आएको नोट लिन विमानस्थल पुगेका थिए, तर प्रहरीले त्यहीं दपेच्यो।

प्रहरीबीच घेरिएका युनुस खासै बोल्न चाहेनन्। बरु प्रहरीका उच्च अधिकारीसँग गफिन थाले।

२०६६ साल माघ १६ गते युनुस पहिलो पटक भारतीय नक्कली नोट र लागू औषधसहित पक्राउ परेका थिए। यो उनको तेस्रो पटकको पक्राउ हो, सायद त्यसैको असर उनको अनुहारमा 'ग्लानी' का संकेत देखिएन।

पूर्व मन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस पुरानै धन्दामा फेरि समातिएका मात्र हुन्। टेलिभिजन संचालकको छवि बनाएका अन्सारी केही दशकदेखि भने अपराधीको ट्याग भिरिरहेका छन्।

प्रहरीले शुक्रबार उनीसँगै रौतहट रमौली बैरिया नगरपालिका घर भएका सुयल खान र सूर्यविनायक नगरापलिका बालकोट बस्ने सुदन रानाभाटसहित अन्य तीन पाकिस्तानीलाई नियन्त्रणमा लिएको हो। सुयल भने अन्सारीका नातामा साला पर्छन्। पक्राउ पर्ने पाकिस्थानि नागरिकमा ३९ वर्षीय महिला नदिया अनवर, ६७ वर्षीयनसिर उद्धिन र ४९ वर्षीय मोहम्मद अफ्तर रहेका छन्।

'थोरै मगाएको थिएँ, धेरै पठाएछन्'

नक्कली नोट कारोबारमा २०७० साल माघमा पक्राउ परेका अन्सारी दोषी ठहरिए। त्यसपछि २०७४ फागुन २ गते जेलमुक्त भए उनी। छुटेपछि पनि नक्कली नोटको कारोबारमा उनी जारी रहे। अन्सारीले आफूले नक्कली भारतीय नोटको कारोबार गर्ने गरेको प्रहरीसमक्ष स्वीकार गरेको महानगरीय कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले बताए।

प्रहरीमा उनले दिएको बयानलाई उदृत गर्दै एक प्रहरीले भने, 'मैले यति मगाएको थिइनँ। धेरै पठाएछन्।'

युनुस फन्दामा पर्नेगरी विमानस्थलमा भएको त्यो ४ घन्टा लामो 'कोभर्ट अप्रेसन'

अपडेट : समातिएको भारु गन्ती जारी, ३ करोड ५० लाख गनिसकियो, अझै थुप्रो बाँकी

दुई सुटकेस नक्कली भारुसहित फेरि समातिए युनुस अन्सारी, अन्य केही पनि प्रहरी नियन्त्रणमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell