PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गरीब जनताका तर्फबाट कर्णालीका मुख्यमन्त्री शाहीलाई रातो ‘कार’ उपहार



पी बी खड्का

गरीब जनताका तर्फबाट कर्णालीका मुख्यमन्त्री शाहीलाई रातो ‘कार’ उपहार

सुर्खेत : प्रदेश सरकारले नियोजित बजेट खर्च गर्न नसकेपछि रकमान्तर गरेर गाडी खरिद गर्ने निर्णयको चर्को आलोचना जारी छ।

सरकारले विकास बजेटमध्ये झण्डै २ अर्ब ३ करोड रुपैयाँ रकमान्तर गरी ५४ वटा गाडी किन्ने समाचार प्रकाशित भइसकेपछि आलोचनाको क्रम सुरु भएको हो। 

यसैबीच साझा विवेकशील पार्टीले व्यङ्ग्यात्मक ढङ्गले विरोध जनाउँदै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रातो ‘कार’ दिएको छ। 
५२ प्रतिशत गरीबीको रेखामुनि रहेको कर्णालीका नागरिकको तर्फबाट उक्त कार उपहार स्वरुप दिएको साझा विवेकशील पार्टी कर्णाली प्रदेशका संयोजक गेहेन्द्रप्रसाद दाहालले बताए। 

‘पछाडि परेको कर्णाली भन्दै नारा लगाउने। केन्द्रले बजेट दिएन भन्ने अनि भएको बजेट पनि कार्यान्वयन गर्न नसक्ने, त्यसैमाथि विकासे बजेट रकमान्तर गरेर ५४/५४ वटा विलासी गाडी खरिद गर्ने यो कहाँसम्मको सरकार हो?,’ उनले प्रश्न गर्दै भने, ‘सरकारले अहिले तत्कालको प्राथमिकता के हो भनेर नबुझ्ने? कसरी कर्णालीको विकास हुन्छ। त्यसो भएर हामीले समग्र कर्णालीको नागरिकको तर्फबाट मुख्यमन्त्री शाहीलाई विलासी जीवन बिताइरहनु भएका मन्त्रीज्युहरुलाई एक थान रातो कार उपहार स्वरुप दिएका छौँ।’

जनताको दुःख पीडामा मल्हम लगाउनुभन्दा पनि झन् गरीबीतिर धकेल्न थालेको उनको आरोप छ। त्यस्तै, जनताको जल्दोबल्दो समस्या समाधान गर्नतर्फ केन्द्रित नभएर आफ्नो व्यक्तिगत स्वार्थका लागि गरिएका निर्णयहरु अन्त्य गर्नुपर्ने उनले बताए। ‘डिजिटल प्रदेश कर्णालीका जनता खानेपानी र विद्युत सेवा नपाएर रुने, त्यही प्रदेशका नेता विलासीताका निर्णहरु गरेर हाँस्ने’ गरेको उनको आरोप छ। 

साझा पार्टी कर्णालीका संयोजकले ८ बुँदे ध्याानाकर्षणपत्र समेत मुख्यमन्त्री शाहीलाई बुझाएको छ। चालु आर्थिक वर्ष सकिनै लाग्दा अहिलेसम्म खर्च प्रगति न्युन रहेको भन्दै सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएको हो। पार्टीले विकास योजनाहरुमा बजेट खर्च गर्दा आर्थिक वर्षको अन्तमा खर्चे गर्ने परिपाटी अन्त्य गर्न ठोस कार्यक्रम कार्यान्वयनमा ल्याइनुपर्ने बताएको छ। 

त्यस्तै, पार्टीले आगामी बजेटमा युवाहरुलाई रोजगारीको व्यवस्था गर्न माग गरिएको छ । 

त्यसैगरी ध्यानाकर्षणपत्रमा कर्णालीका जनतालाई स्वास्थ्य शिक्षा पूर्ण रुपमा नि:शुल्क बनाउनु पर्ने, कर्णाली प्रदेशमा मेडिकल कलेजको स्थापना गर्नु पर्ने, सरकारी अस्पताललाई स्रोत साधन र जनशक्तिको उचित व्यवस्था गरिनुपर्ने ध्यानाकर्षण गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell