PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जयकला भन्छिन्: डाक्टरले निको हुँदैन भनिसके, घर लैजान खर्च छैन



कुञ्जरमणि भट्टराई

जयकला भन्छिन्: डाक्टरले निको हुँदैन भनिसके, घर लैजान खर्च छैन

काठमाडौं: कैलालीको धनगढी उपमहानगरपालिका मोती चोकका शिवहरि गिरी विगत दुई महिनादेखि ट्रमा सेन्टरको आइसियू कक्षमा उपचाररत छन्।

गत जेठ २३ गते गएको हावाहुरीका घाइते शिवहरिको अवस्था  झनै खस्कँदै गएको उनकी पत्नी जयकलाको भनाइ छ।

घरको छतमा लुगा उठाउन गएका गिरी हुरीको वेगले जमिनमा खसेका थिए। सो क्रममा उनको ढाडको हड्डी भाँचिएको थियो। त्यसपछि उत्पन्न समस्याले उनी जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेका छन।

‘ढाडको हड्डी भाँचिएको। छिट्टै अप्रेसन गर्न सकिएको भए ह्विलचेयरमा बस्न सक्नेसम्म हुनुहुन्थ्यो। उहाँको स्वाथ्यमा सुधार नै आएन। नशामा समस्या हुँदा श्वासप्रश्वासमा समेत समस्या देखियो। शरीरको आधा भाग प्यारालाइज्ड भएको छ। अप्रेसनका लागि पनि अब त ढिलो भइसक्यो। स्वास्थ्यमा सुधार हुने देखिँदैन', चिकित्सकको भनाइ उदृत गर्दै जयकलाले भनिन्। उनलाई पहिले धनगढी अञ्चल अस्पताल र नेपालगन्ज अस्पतालमा उपचार गरिएको थियो।

धनगढी अञ्चल अस्पताल र नेपालगन्ज अस्पतालले रिफर गरेपछि गत जेठ २८ गते शिवहरिलाई काठमाडौको वीर अस्पताल ल्याइएको जयकललाले बताइन्।  

उनी अहिले ट्रमा सेन्टरको निःशुल्क बेडमा छन। सरकारले हावाहुरी पीडितलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो। तर गृह मन्त्रालयबाट पत्र आउन समय लागेकाले ऋणको भारी बोक्नु परेको जयकलाको गुनासो छ।

उनले भनिन्, ‘उताबाट पत्र आउनै ढिला भयो। तै पनि अस्पतालको फार्मेसीमा सामान्य औषधि मात्र पाइन्छ। धेरैजसो औषधि बाहिरबाटै किन्नुपर्छ। त्यसको बिल आफैँले तिनुपर्छ। कहिलेकाहिँ त ५-८ हजारसम्मको किन्नुपर्छ। अब कति खर्च लाग्ने हो थाहा छैन। फार्मेसीमा उधारो पनि धेरै भइसक्यो।'

उपचारका लागि ५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको उनको भनाइ छ। स्वास्थ्यमा सुधार नआएकाले घर लैजाने भने पनि खर्च नहुँदा रोकिएको उनले बताइन्।

जयकलाले भनिन्, 'उहाँको अवस्था झनै बिग्रँदो छ। डाक्टरहरुले पनि निको नहुने बताउनुभएको छ। खर्च गर्न सक्ने अवस्था छैन। लैजान पनि खर्च छैन।'

'दुई छोरी र एक छोरा घरबाट कहिले आउने सोधिरहन्छन्। उनीहरु निकै आत्तिएका छन्। यतिका समयदेखि छुट्टिएर बस्नु परेको छ। उनीहरुलाई आतेस भइसकेको छ', उनले सुनाइन्।

अस्पतालबाट निकालेपछि पतिको अवस्था के हुने हो भनेर चिन्ताले सताएको छ उनलाई। घर जाने खर्च नभएकाले रोकिएको भन्दै आफूलाई सहयोग गर्न अनुरोध पनि गरेकी छिन्।

'मलाई यस्तो अवस्थामा घर लैजान मन पनि छैन। तर के गर्नु ‌औषधि बाहिरबाट किन्न निकै महँगो छ। नेताहरुलाई सहयोगका लागि गुहारेँ, उहाँहरु आउँछु भन्नुहुन्छ तर आउनु भएन। यहाँबाट निकालेपछि कस्तो होला भन्ने झनै चिन्ता छ। नलगी पनि भएन। कति ऋण बोक्ने। निको पनि हुँदैन। लैजानका लागि खर्च पनि छैन। सहयोगका लागि अनुरोध गर्छु', उनले सबैसँग अनुरोध गरेकी छिन्।

यो पनि पढ्नुस्

हुरीले निम्त्याएको बित्यास, आइसियूमा मृत्युसँग संघर्ष गर्दै शिवहरि

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell