PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चिनियाँ तस्करको हातबाट फुत्किएकी युवतीको बयान : प्रहरीलाई ढाँट्नु भनेपछि मात्र लाग्यो शंका



सविन ढकाल

चिनियाँ तस्करको हातबाट फुत्किएकी युवतीको बयान : प्रहरीलाई ढाँट्नु भनेपछि मात्र लाग्यो शंका
प्रतीकात्मक तस्बिर

काठमाडौं : काठमाडौंको उत्तरमा रहेको पुरानो बस्ती टोखामा बस्दै आएकी संस्कृति दाहाल (नाम परिवर्तन) तस्करको नजरमा परिन्। नेपाली एक महिला मार्फत् चिनियाँ तस्करले संस्कृतिलाई चीन लैजाने सपना देखाए। गाउँबाट केही समय अगाडि मात्र काठमाडौं आएकी उनका लागि चीन सपनाकै देश बन्न थाल्यो।

भिजिट भिसामा चीन जाने अनि राम्रो आम्दानी हुने भएपछि संस्कृतिमा लोभ पलाउनु स्वाभाविक नै थियो। उनी चीन जाने भइन्। चिनियाँ तस्करले उनको सबै कागजी प्रक्रिया पूरा गरे। उड्नलाई केही दिन मात्र बाँकी थियो। एकाएक संस्कृतिको मनमा एकखाले भय पैदा भयो। शंका पनि लाग्यो।

चिनियाँ तस्करले संस्कृतिलाई विमानस्थलमा प्रहरीले सोध्यो भने 'साथीले बोलाएकाले जान लागेको भन्नु है' भनेका थिए। जो मानिसलाई आफूले चिनेको नै छैन, त्यसमा पनि चिनियाँ नागरिक। कसरी हुनु साथी? संस्कृतिको मनमा शंकाले डेरा जमायो।

‘किन उनीहरुले प्रहरीलाई ढाँट्नु भने? म कसैलाई नै चिन्दिन थिएँ। त्यसैले शंका लाग्यो,' संस्कृतिको भनाइलाई उदृत गर्दै एक प्रहरी अधिकृतले भने।

उनलाई चीन लैजानका लागि तस्करहरुले सबै प्रक्रिया पूरा गरिसकेका थिए। तर, संस्कृति एकाएक आफू बसिरहेको ठाउँबाट भागिन्।

मानव बेचबिखन ब्युरोको टोलीले भदौ १२ गते नुवाकोटका रोज तामाङ, लम्जुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ, उषाकुमारी घिमिरेसहित अन्य चार जना चिनियाँलाई समात्यो। समातिएकामध्ये संस्कृतिलाई चीन लग्ने समूहका पनि परेका थिए।

तस्कर समूह पक्राउ परेपछि उनी अहिले प्रहरीको सम्पर्कमा आएकी छिन्। ब्युरोले उनको पनि बयान लिएको छ।

‘केही दिनमा नै अनुसन्धान सिध्याएर फाइल बुझाउँछौं। केही कुराको अझै अनुसन्धान भइरहेको छ,' ब्युरोका एसएसपी ईश्वरबाबु कार्कीले भने।

प्रहरीले नियन्त्रणमा लिएकामध्ये जिङ थिङ जोङ विगत ५ वर्षदेखि नेपालमा बसेको देखिएको छ। उनी सोल्टी होटेल नजिकै ब्युटी पार्लरका सञ्चालक हुन्। उनी ४२ वर्षीया उषाकुमारी घिमिरेसँग सँगै बसेको देखिएको छ।

उनीहरुले नेपाली युवतीलाई चिनियाँ युवकसँग विवाह गराएर मानव तस्करी गर्ने गरेको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले विवाहको लागि वडादेखि अदालतसम्म बनाएको कागजपत्र सक्कली वा नक्कली हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

सोल्टीसँगैको पार्लर, विदेशीसँगको बिहे: कहालीलाग्दो कहानीको एउटा पटाक्षेप

आफू बेचिएपछि बिबिरानीको यो डरलाग्दो धन्दा, काठमाडौं बसेर चीनमा दुलही ‘सप्लाई’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell