PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

भारतीय एथलेटलाई पछि पार्दै पुष्पा भण्डारीले जितिन् स्वर्ण



पहिलोपोस्ट

भारतीय एथलेटलाई पछि पार्दै पुष्पा भण्डारीले जितिन् स्वर्ण

काठमाडौं : बंगलादेशमा आज सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ मा नेपाली एथलेट पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छिन्। उनले प्रतियोगिताको दक्षिण एसियाली महिलातर्फ स्वर्ण जितेकी हुन्।

उनले भारतीय खेलाडीलाई ६ मिनेटले पछि पार्दै स्वर्ण जितेकी हुन्। उनले निर्धारित दौड २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरिन्। भारतीय खेलाडीले दोस्रो र तेस्रो स्थान हासिल गरे। दोस्रो हुने भारतीय खेलाडीले ३ घण्टा ५ मिनेटमा दौड पूरा गरेकी थिइन्।

प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको थियो। पुरुषतर्फ शीर्ष तीन स्थानमै भारतको वर्चस्व रह्यो। नेपालका किरणसिंह बोगटी चौथो स्थानमा रहे।

वोगटी र भण्डारी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन्। उक्त सागको म्याराथनमा किरणले स्वर्ण तथा पुष्पाले रजत जितेका थिए।

पुष्पाको यात्रा 

घर उनको सल्यान। उनी सम्झिन्छिन् ६ कक्षामा पढ्दा विद्यालयमा आयोजना भएको दौड सुरु गरिन्। त्यही दौड त हो जसले उनलाई जीवनको ट्र्याकमा दौडिन सिकाएको।

त्यही दौडमा देखाएको प्रदर्शनकै आधारमा उनी छैटौं राष्ट्रिय खेलकुदको छनोटका लागि आएका रवीनकुमार राईको नजरमा परिन्। त्यसपछि गाविस स्तरीय, जिल्ला स्तरीय, क्षेत्रीय हुँदै छैटौं राष्ट्रिय खेलकुदमा सहभागी भइन् उनी। पहिलो अनुभवमै म्याराथनमा दोस्रो स्थान बनाउन सफल भइन्। ५ किमीको दौडमा तेस्रो भइन्। त्यस्तै १५ सय मिटरमा पनि सहभागिता जनाइन्।

तर त्यो पछि खेलकुदको भेउ नपाउँदा राष्ट्रिय स्तरमा नआइ उनको २ वर्ष ग्याप भयो। त्यही ग्यापमा उनले पढाइलाई निरन्तरता दिइन्। प्लस टू सकिन्।

त्यसपछि २०६९ सालको लुम्बिनी च्याम्पियनसिपमा सहभागी भएर प्रथम भइन्। र, त्यसैको अर्को साल विभागीय टोली एपीएफमा करारमा पुगिन्।

अन्तर्राष्ट्रिय स्तरमा उनले सहभागिता जनाएको पहिलो प्रतियोगिता हो १२ औं साग। जसमा उनले सहभागिता त जनाइन् तर सोचेजस्तो नतिजा निकाल्न सकिनन्।

गत वर्ष नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भयो। त्यसमा रजत पदक हात पारिन्। पदक मात्र होइन उनले पदकसँगै राष्ट्रिय कीर्तिमान पनि बनाइन्। २ घण्टा ५० मिनेट ११ सेकेन्टमा म्याराथन पुरा गर्दै उनले राष्ट्रिय कीर्तिमान बनाइन्।

र, यसपटक बंगलादेशमा स्वर्ण पदक हातपारेकी हुन्।

पढ्नुस : पुष्पा भण्डारीको जुत्ताको कथा : जो दौडिइरहिन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell