काठमाडौँ : नेपालको संविधान जारी भएको वर्षगाँठको अवसरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेको छ।
दिपान्जयन रोय चौधरीले भारतीय पत्रिका इकोनोमिक टाइम्समा संविधान संशोधन भएको खण्डमा भारतीय राष्ट्रपति असोजमा नेपाल आउने तयारी भइरहेको लेखेका छन्।
चिनियाँ राष्ट्रपतिको भ्रमण असोजको अन्तिममा हुने भएकाले त्यसअघि नै मुखर्जीको नेपाल भ्रमण गराउने तयारी भइरहेको समाचारमा उल्लेख छ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिन प्रधानमन्त्रीको विशेष दूतको रुपमा उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको थियो।
समाचारमा मुखर्जीको भ्रमण अघि संविधान संशोधन हुनुपर्ने भारतीय शर्त रहेको उल्लेख छ।
समाचारमा भनिएको छ – 'प्रचण्ड चाहन्छन् संविधान जारी भएको प्रथम वार्षिकोत्सव मनाउने कार्यक्रममा मुखर्जी प्रमुख अतिथि होउन्। तर चुनौती यो छ कि वार्षिकोत्सव समारोहमा मुखर्जी आउनु अघि संविधान संशोधन गर्नुपर्ने छ।'
इकोनोमिक टाइम्सले भ्रमणको तालिका निर्माण संलग्न स्रोतको भनाईलाई समेत उदृत गरेको छ जसमा भनिएको छ – 'यदि संविधान संशोधन संविधान जारी भएको वर्षगाँठ अघि भएमा भ्रमण मिति संविधान जारी भएको वर्षगाँठको वरिपरिका लागि निश्चित हुनसक्छ।'
भारतको चासो केमा?
तत्कालीन उपप्रधानमन्त्री कमल थापाको गत वर्ष मंसिरको भारत भ्रमणमा विदेश मन्त्री सुष्मा स्वराजलाई दिएको भनिएको चार बुँदे 'नन पेपर एग्रिमेन्ट' पछि माघको दोस्रो साता संविधान संशोधन पनि भयो। यसले चार बुँदेका दुई विषय जनसंख्याका आधारमा क्षेत्र निर्धारण र समानुपातिक समावेशीको माग पूरा भयो भने बाँकी दुई विषय नागरिकता र सीमाङ्कन थाती थियो। यी विषय तीन महिनाको समयसीमा भित्र पूरा गरिने भनिए पनि त्यो नभएपछि अहिले सरकारै परिवर्तन भएको स्थिति छ।
भ्रमणको तयारी के छ?
गत असार १६ गते भारतीय विदेश मन्त्रलायका प्रवक्ता विकास स्वरुपले नियमित पत्रकार सम्मेलनमा 'भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको प्रस्ताव प्राप्त भएमा उचित ढंगले विचार गरिने' बताएका थिए। भ्रमण गराउन चाहाने मुलुकको गृहकार्यमा नै भ्रमण निर्धारित रहेको भारतीय विदेश मन्त्रालयको बुझाई रहेको छ।१९ वर्ष यता भारतका कुनै पनि राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन्। सन् १९९७ मा भारतका राष्ट्रपति नेपाल आए यता कुनै पनि भारतीय राष्ट्रपति नेपाल आएका छैनन्। मुखर्जीको कार्यकाल सकिनै लाग्दा उनको भ्रमणको तयारी भएको हो। आगामी वर्ष उनी राष्ट्रपतिबाट हट्नेछन्।
भारतीय राष्ट्रपति मुखर्जीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट नेपाल भ्रमणको निम्तो दिएका थिए।
चिनियाँ राष्ट्रपतिलाई निम्तो
चिनियाँ राष्ट्रपति सी जीनपिङलाइ नेपाल भ्रमणको निम्तो दिन उपप्रधानमन्त्री कृष्णबहादुर महरा सोमबार चीन प्रस्थान गरेका छन्। असोज २९ र ३० गते भारतमा हुने ब्रिक्स सम्मेलनबाट फर्कने क्रममा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने सम्भावना रहेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला सि ले नेपाल भ्रमण गर्ने संकेत गरेका थिए।