
काठमाडौं : थाइल्याण्डमा भइरहेको एसिसी महिला एसिया कप क्रिकेटमा सबै खेल हार्दै यात्रा टुङ्गाएको नेपाली महिला क्रिकेट टोली भोलि नेपाल फर्कंदै छ। ६ टोली सम्मिलित प्रतियोगितामा अहिलेसम्मकै खराब प्रदर्शन गरेको नेपाल सबै खेल हार्दै अंकविहीन रह्यो।
नेपालले प्रतियोगितामा आफ्नो स्तरअनुसार प्रदर्शन गर्न सकेन। खेलेका ५ वटै खेलमा अलआउट हुँदा लज्जास्पद पराजय बेहोर्न बाध्य भयो।
एक दशक अघिदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपाल टी २० मा अहिलेसम्मकै सर्बाधिक कम स्कोरमा समेटियो। भारतविरुद्ध २१ रनमा अलआउट हुँदै नेपालले कम स्कोरमा अलआउट हुने रेकर्ड कायम गरेको हो।
त्यसअघि श्रीलंका विरुद्धको खेलमा यसै प्रतियोगितामा २३ रनमा अलआउट हुँदै बंगलादेश विरुद्ध यसअघि बनाएको २६ रनको रकेर्ड तोडेको थियो।
नेपाल पहिलो खेलमा पाकिस्तानविरुद्ध ४७, दोस्रो खेलमा श्रीलंकाविरुद्ध २३, तेस्रो खेलमा बंगलादेशविरुद्ध ४१, चौथे खेलमा थाइल्याण्डविरुद्ध ६३ तथा भारतविरुद्ध २१ रनमा अलआउट भयो। नेपालले थाइल्याण्ड विरुद्धको खेलमा मात्र ५० रनको आँकडा पार गरेको हो।
यस्तै व्यक्तिगत रुपमा पनि नेपालका कुनै खेलाडीले वाह भन्नलायक प्रदर्शन गर्न सकेनन्। नेपालका १५ खेलाडीले मध्ये सबैले प्रतियोगितामा खेल्ने अवसर पाएका थिए।
जसमध्ये ब्याटिङमा १२ खेलाडीले रन स्कोर गर्दा ३ खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके। ओपनर ज्योति पाण्डेले नेपालको तर्फबाट सर्बाधिक ४३ रन बनाइन्। उनले दुई खेलमा दोहोरो अंक छुन सकिनन्।
ज्योतिले श्रीलंका र थाइल्याण्ड विरुद्ध समान १६ रन बनाइन् भने पाकिस्तानविरुद्ध ८, बंगालादेश विरुद्ध १ तथा भारतविरुद्ध २ रन बनाएर आउट भइन्। ५ खेलमा कुल १०८ बल फेस गरेकी ज्योतिले नेपालका लागि सीता मगरसँगै सर्बाधिक ३ चौका प्रहार गरिन्।
नेपालबाट ज्योतिसँगै सबै खेलमा रन जोडेकी कप्तान रुबिना क्षेत्रीले २९ रन बनाइन्। रुबिनाले पाकिस्तानविरुद्ध सर्बाधिक ११ रन बनाउँदा श्रीलंकाविरुद्ध १, बंगलादेशविरुद्ध ७, थाइल्याण्डविरुद्ध ८ तथा भारतविरुद्ध २ रन बनाएर आउट भइन्।
यस्तै बंगलादेशविरुद्ध नेपालको लागि सर्बाधिक १५ रन बनाएकी सिता राना मगरले पनि रुबिना समान नेपालको लागि २९ रन बनाइन्। सीता पाकिस्तानविरुद्ध शून्यमा आउट हुँदा श्रीलंकाविरुद्ध ४, थाइल्याण्डविरुद्ध ९, भारतविरुद्ध १ रनमा आउट भइन्।
यसबाहेक नेपालबाट इन्दु बर्माले १८ तथा सरिता मगर र करुणा भण्डारीले समान ११ रन बनाइन्।
४ खेल खेलेकी सरस्वती चौधरी, ३ खेल खेलेकी सबनम राई, र एक खेल मात्र खेल्ने अवसर पाएकी शोभा आलेले नेपालका लागि रन जोड्न सकेनन्।
श्रीलका विरुद्धको हारपछि प्रशिक्षक राजु बस्न्यातले ब्याटिङ नै नेपालको कमजोरी रहेको प्रतिक्रिया दिएका थिए।
नेपालबाट कुनै पनि खेलाडीले छक्का प्रहार गर्न सकेनन्। नेपालले कुल १० चौका प्रहार गरेकोमा ज्योति र सीताले समान ३ चौका प्रहार गरे भने इन्दुले २ तथा रुबिना र करुणले १/१ चौका प्रहार गरे।
बलिङतर्फ ७ खेलाडी बलिङ गरेकोमा नेपालका ५ खेलाडीले मात्र विकेट लिन सफल भए। कप्तान रुबिनाले सर्बाधिक ४ विकेट लिँदा करुणा भण्डारी, सीता राना मगर, सरिता मगर र संगीता राईले समान २ विकेट हात पारे। यस्तै संगीता राईले नेपालबाट २ क्याच लिइन् भने सरिता मगर सरस्वती चौधरीले समान १ क्याच लिइन्। विकेटकिपर ज्योति पाण्डे एक स्टम्पिङ गरिन्।