PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

आतंकवादी जालोमा नेपाली : दुबईमा रहेका समसुलको पाकिस्तानी कनेक्सन खुल्यो



केपी ढुंगाना

आतंकवादी जालोमा नेपाली : दुबईमा रहेका समसुलको पाकिस्तानी कनेक्सन खुल्यो

काठमाडौं : दुबईमा बसेर भारतको रेल्वे ट्रयाकमा बम पड्काउने योजनामा संलग्न देखिएका समसुल होदाको पाकिस्तानी सम्पर्क खुलेको छ।
 
हत्या अभियोगपछि अनुसन्धानमा तानिएका होदा आतंकवादी गतिविधिमा संलग्न रहेको सूचना पाएपछि नेपाल प्रहरीको विशेष ब्युरो अनुसन्धान खटिएको थियो। होदाको सम्पर्क पाकिस्तानमा रहेका सफी नामका पाकिस्तानी नागरिकसँग रहेको ब्युरोले खुलाएको हो।
 
अनुसन्धानमा संलग्न स्रोतका अनुसार पाकिस्तानमा रहेका सफीको निर्देशनमा होदाले काम गर्ने गरेको खुले पनि उनी पाकिस्तानको कुन संगठनसँग आबद्ध छन् भन्ने खुल्न सकेको छैन।
 
आतंकवादी गतिविधिका लागि समूह बनाउने, आर्थिक सहयोग गर्ने र योजना बनाएर नेपाली र भारतीय नागरिक परिचालन गर्न होदा सक्रिय देखिएपछि नेपाल र भारतकै सुरक्षा एजेन्सी एक महिनादेखि उनको संलग्नता र जालो केलाउन खटिएका छन्

'होदाले लामो समयदेखि सफी नामका पाकिस्तानी नागरिकसँग मिलेर काम गर्ने गरेको पुष्टि भयो,' अनुसन्धानमा संलग्न स्रोतले भन्यो, 'सफी कुन समूहका सदस्य हुन् भन्नेबारे पुष्टि हुन बाँकी छ।'
 
कलैया नगरपालिका-८ बसपार्क टोलका होदा सन् २००१ बाट नै नेपाली सुरक्षा एजेन्सीको रडारमा आएका व्यक्ति हुन्। उनी नक्कली भारतीय रुपैयाँको कारोबारमा संलग्न रहेको र शंकास्पद गतिविधिको आधारमा प्रहरीले निगरानी राखे पनि प्रमाण नभेटिँदा उनी पक्राउ परेका थिएनन्।
 
स्रोतका अनुसार उनी सन् २००१ मा मलेसिया गएका थिए। मलेसिया बेस बनाएर त्यहाँ काम गर्न गएका नेपाली नागरिकलाई प्रयोग गरेर उनले नेपालमा जाली भारतीय रुपैयाँ भित्र्याउन सक्ने भन्दै प्रहरीले निगरानी बढाएको थियो। केही नेपाली नागरिक जाली भारु सहित पक्राउ परे पनि त्यसमा होदाको संलग्नता खुलेन।
 
मलेसियामा लामो समय बसेका उनी तीन वर्षअगाडि नेपाल फर्किएर मधेस समाजवादी पार्टीमा संलग्न भए। दोस्रो संविधानसभा निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट उनी प्रत्यक्षतर्फको उम्मेदवार पनि बनेका थिए।
 
निर्वाचनमा एक हजार ४ सय ३२ भोट ल्याएर पराजित भएपछि उनी पुन: मलेसिया नै फर्किए।
 
'निर्वाचनमा राम्रै पैसा खर्च गर्दा पनि नजितेपछि उनी पुन: मलेसिया फर्किएपछि निगरानी बढाएका थियौं, तर लामो समय त्यहाँ बसेनन्,' अनुसन्धानस्रोतले भन्यो, 'उनी नेपाल फर्किएर ११ महिना अगाडि दुबई गए।'
 
होदा दुबई जाँदा पनि विशेष ब्युरोले उनलाई जाली भारतीय रुपैयाँको कारोबारमै जोडेर हेरिरहेको थियो। तर पुस १३ को घटनाले होदालाई आतंकवादी गतिविधिमा संलग्न देखायो।
 

नेपालको सूचना, भारतमा पक्राउ

पुस १३ मा बाराको जङ्गलमा दुई जनाको शव फेला परेको थियो। अनुसन्धानले ती शव भारतीय नागरिक दीपक राम र अरुण रामको रहेको खुलायो।
 
हत्या अनुसन्धानमा नेपाली नागरिक उमेशकुमार पटेल र कलैया बरेवाका मोजाहिर अन्सारी पक्राउ परे। यी दुवैले सिमराका बृजकिशोर गिरीको नाम लिएपछि बारा प्रहरीले पुस २४ मा गिरीलाई पक्राउ गर्‍यो

लामो समयदेखि केन्द्रमा रहेको ब्युरोको टोलीले होदाबारे अनुसन्धान गरे पनि उनी बारे प्रहरीको अन्य युनिट बेखबर थियो। गिरी पक्राउपछि दुई भारतीय नागरिकको हत्या गर्नुको कारण सामान्य घटनामा मात्र रहेन, आतंकवादी गतिविधिमा जोडियो।
 
गिरीसँगै होदाको नाम आएपछि बारा प्रहरीले तत्काल घटना विवरण सहित ब्युरोका अधिकारीलाई फरारको सूची पठायो। सूचीमा रहेका नाममध्ये होदा पनि थिए। प्रहरीले बल्ल उनको मलेसिया र दुबईको यात्रा ठम्याएको थियो।
 
गिरी समूहले भारतको सिम्रौनगढ घोडासन रेल लाइनमा विस्फोटको योजना अनुसार बम राखे पनि प्रेसरकुकर बम नपड्किएको खुल्यो। अर्को रेल्वे लाइनमा बम राख्न दिएको निर्देशन नमान्दा दुई जना भारतीय नागरिकको हत्या भएको खुल्यो।
 
'बाराबाट नाम आएपछि हामी पनि चकित पर्‍यौं, जसलाई जाली भारुमा संलग्न भनेर अनुगमन गरिरहेका थियौं,' अनुसन्धान स्रोत भन्छ, 'ऊ त आतंकवादी गतिविधिमा देखियो।'
 
गिरीको पक्राउ र होदाको नाम खुलेपछि नेपालले भारतीय सुरक्षा एजेन्सीलाई पुष्टिका लागि विवरण पठाएको थियो। नेपालको सूचनाको आधारमा भारत बिहारका मोती पासवान, उमाशंकर पटेल र मुकेश यादव पक्राउ परे। यसपछि होदाको नेटवर्क खुल्यो।
 
होदाको नेटवर्कबारे नेपाल र भारतका सुरक्षा एजेन्सीले आ-आफ्नै शैलीमा अनुसन्धान गरिरहेका छन्। होदा भने अझै दुबईमै छन्। होदाको सम्पर्क इराक र अफगानिस्तानसम्म देखिएपछि ब्युरो थप अनुसन्धानमा जुटेको छ।
 
भारतीयपक्षले सन् २०१६ नोभेम्बरमा उत्तरप्रदेशको कानपुरमा भएको रेल दुर्घटना र सन् २०१६ जनवरी २१ मा आन्ध्रप्रदेशको कुनेरुमा भएको ट्रेन दुर्घटनालाई समेत आतंकवादी घटनासँग जोडेर अनुसन्धान अगाडि बढाएको छ।
 
नेपाली अनुसन्धान स्रोतका अनुसार घोडासनमा बम पड्काउने प्रयास गरेको र दोस्रो घटनाको योजनाको क्रममा विवाद भएको सम्म पुष्टि भए पनि भारतीयपक्षले दाबी गरेझैं कानपुर र कुनेरुमा भएको दुर्घटनामा होदा समूहको संलग्नाबारे कुनै तथ्य फेला परेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell