PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गण्डकका ५० पुल उच्च जोखिममा : अत्यधिक भारका गाडी गुड्छन्, न्युनतम कर तिर्दैनन्



राधेश्याम पटेल

गण्डकका ५० पुल उच्च जोखिममा : अत्यधिक भारका गाडी गुड्छन्, न्युनतम कर तिर्दैनन्

वीरगन्ज : मध्य तराईको पर्सा, बारा र रौतहटमा बग्ने गण्डक नहरको करिब सात दर्जन पुल तथा फाटकहरु जीर्ण बन्दै गएका छन्। अत्यधिक भारका मालबाहक ट्रक तथा यात्रुबाहक बस गुड्दा गण्डक नहरको सडक र यसका पुलहरु उच्च जोखिममा परेका हुन्।
 
पर्साको जानकीटोलादेखि रौतहटको बागमती खोलासम्म फैलिएको गण्डक नहरको लम्बाइ करिब ८१ किलोमिटरको छ। पर्सा, बारा र रौतहटमा गरी ५० वटा सानाठूला पुल र ३७ जति पक्की फाटकहरु उच्च जोखिममा रहेको नारायणी सिँचाइ डिभिजन कार्यालय नं ५ बहुअरी वीरगन्जले जनाएको छ।
 
कमजोर भइसकेका पुल जुनसुकै बेला भाँचिन सक्ने भएकाले ठूलो मानवीय तथा भौतिक क्षतिको सम्भावना समेत रहेको कार्यालयका सूचना अधिकारी सुरेश साहले बताए।
 
२०२१ सालतिर गण्डक नहर बन्दा सुरुमा नहरको व्यवस्थापन गर्ने कार्यालय नारायणी सिँचाइको डिभिजनको मात्र सवारी साधन गुड्थ्यो। नहरको बाटो सहज बन्न थालेपछि अन्य सवारीसाधन गुड्न थालेपछि सडक खल्डाखुल्डीमा परिणत भएका छन् भने पुलहरु जोखिममा छन्।
 
पर्साको सिर्सिया खोला र बाराको बगरी खोलाको पुल ज्यादै जोखिममा रहेको प्राविधिक बताउँछन्। 'यी दुई पुलका एकएक स्ल्याब नै कुन बेला भासिने हो यकिन छैन,' डिभिजन कार्यालयका सूचना अधिकारी साहले भने, 'कार्यालयको अनुमतिबिना जबर्जस्ती नहरको सडक उपयोग हुँदै आएकोले भौतिक सरचना जीर्ण तथा जोखिमपूर्ण बनेका छन्।'
 
अढाई दशकअघि पर्सा र बाराका नेताहरुको प्रयासमा सीमित यात्रुबाहक सवारी साधन गुड्न थालेका थिए। ठूला यात्रुबाहक मात्र नभई भारी मालबाहक सवारी साधन पनि निर्बाध रुपमा चल्न थालेपछि भौतिक संरचनाको अवस्था दयनीय बनेको हो।
 
कार्यालयका सूचना अधिकारी साहका अनुसार नहरको बाटोमा गुड्ने सवारीसाधनले त्यस बापतको न्युनतम कर समेत नहर प्रशासनलाई तिर्दैनन्।
 
अत्यधिक उपयोगमा रहेको यो बाटोमा पर्सा, बारा र रौतहट जिविसले सवारीसाधनसँग सडक कर उठाए पनि भौतिक संरचनाको नियमित मर्मत नगरेकाले नहरका संरचना जीर्ण बनेका हुन्। 

जोखिमपूर्ण पुलबारे सम्बन्धित अर्को समाचार : पूर्व-पश्चिम जोड्ने नारायणी पुल जोखिममा, तत्काल मर्मत नगरे ठूलो दुर्घटनाको खतरा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell