
म्युजिक कन्सर्टको लागि भारत आउन लागेका इन्टरनेशनल पप स्टार जस्टिन बिबरको टीमले कार्यक्रमको आयोजकसँग ठूलो डिमान्ड राखेको छ। आउँदो १० मे मा मुम्बईको डी वाई पाटिल स्टेडियममा हुन लागेको बिबरको कन्सर्टका लागि जस्टिनको टोलीले फरक विषयका धेरै डिमान्ड राखेका हुन्।
व्हाइट फक्स इन्डिया नामक कम्पनीले आयोजना गर्ने कन्सर्टका लागि ब्यान्डले गरेको 'डिमान्ड लिस्ट' आश्चर्यजनक भएको बिबिसीले जनाएको छ।
ब्यान्डलाई राखिने होटलमा जम्मा १३ कोठा बुक गरिनु पर्ने, सुरक्षा कारण एउटा होइन दुई वटा फाइभ स्टार होटल बुक गरिनु पर्ने, बिबरको ड्रेसिङ रूमका सबै पर्दाहरु सेतो रङका हुनुपर्ने, कोठामा काँचको फ्रिज राखिनु पर्ने, बिबरको कोठामा २४ पानीका बोत्तल, ४ एनर्जी ड्रिंक, ६ भिटामिन वाटरको बोत्तल, ६ क्रीम सोडा र धेरै प्रकारका फलको रस पनि राखिनु पर्ने माग गरिएको छ।
खानाको भेराइटीका लागि साकाहारी र मांशाहारी दुबै किसिमको खानाको नाम समावेश छन्। हेल्थ फूडको नाममा नारिवल पानी, बदाम शेक, प्रोटीन पॉउडर, फ्रेश फल आदी राखिनु पर्ने उल्लेख छ। बीबरको पुरा टीमको लागि टिसर्टको समेत माग गरिएको छ। १० लग्जरी कार, सेक्युरिटी टिम, हेलिकप्टरमा यात्रा आदी पनि उनको मागको लिस्टमा पर्छ।
बीबरको डिमान्ड अनुसार आयोजकले जेट प्लेन बुक गर्नु पर्ने देखिन्छ। बिबर र उनको ब्यान्डको गरेर १० कन्टेनर सामान आउने अनुमान छ। सो कार्यक्रम उनको 'पर्पोज वल्ड टूर' अन्तर्गतको कन्सर्ट हो। आफ्नो चौथो एल्बम 'पर्पोज'को प्रचारका लागि उनी संसारका विभिन्न ठाउँमा शो गर्दै हिडेका छन्। सन् २०१६ को मार्चमा सुरु भएको टूर २०१७ को सेप्टेम्बर मा समापन हुनेछ। उनले यसअघि 'बिलिभ' एल्बम प्रचारका लागि 'बिलिभ टूर' आयोजना गरेका थिए।
इन्डियामा हुने कार्यक्रमबारे जस्टिनले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेका छन्।
२६ करोड लगानीमा हुन लागेको कन्सर्ट अहिले सम्मकै महङ्गो शो बन्ने फर्स्टपोस्टले जनाएको थियो।
उनले 'बेबी' गीत गाएर १६ वर्षको उमेरमै चर्चित गायकको पहिचान बनाए। २२ वर्षीय गायक आफ्नो कन्सर्टका लागि इन्डिया आउन लागेका हुन्।