PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

दबाबमा प्रधानमन्त्री ओली : पहिलो विदेश भ्रमण चीन कि भारत?



विधुर ढकाल

दबाबमा प्रधानमन्त्री ओली : पहिलो विदेश भ्रमण चीन कि भारत?

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति एकाएक सञ्चार माध्यममा आयो। परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरिरहेका बेला नेपाली सञ्चार माध्यममा भ्रमणको मितिसहित समाचार आएपछि राजनीतिमा तरङ्ग पैदा भयो। 

एकातर्फ प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति एकतर्फी रुपमा सार्वजनिक भयो भने अर्कातर्फ प्रधानमन्त्री ओलीमाथि भारत पहिला कि चीन पहिला जाने भन्ने दबाब परेको छ। 

चीनको बोआओमा अप्रिल ८ देखि ११ सम्म एसियाका लागि बोआओ मञ्च (बोआओ फोरम फर एसिया)को वार्षिक सम्मेलन हुँदैछ। 

हरेक वर्ष हुने सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिता हुँदै आएको छ। सन् २०१७मा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनमा विशेष सम्बोधन गरेका थिए। 

२०१६ को बोआओ फोरममा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्रीको रुपमा ओलीले नै विशेष सम्बोधन गरेका थिए भने २०१५ को सम्मेलनमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव अतिथिका रुपमा गएका थिए। 

यस वर्षको सम्मेलनमा नेपालको प्रतिनिधित्व कसले गर्ने टुंगो लागिसकेको छैन्। सम्मेलनको तर्फबाट प्रधानमन्त्रीलाई सहभागिताका लागि निम्तो आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। 

यद्यपि, उनको सहभागिताको टुंगो भने लाग्न सकेको छैन्। यति नै बेला दिल्लीबाट त्यही कार्यक्रमसँग जुध्ने गरी भारत भ्रमणको मिति सार्वजनिक भएपछि प्रधानमन्त्रीमाथि थप दबाब सिर्जना भएको छ। 

‘भारतले प्रधानमन्त्रीलाई दबाब दिनकै लागि मिति एकतर्फी रुपमा सार्वजनिक गरेको बुझ्न सकिन्छ,’ प्रधानमन्त्री निकट एक एमाले नेताले भने, ‘बोआओ फोरममा प्रधानमन्त्रीको सहभागिता रोक्नकै लागि मिति सार्वजनिक गरेर दिल्लीले भारत भ्रमणको लागि दबाब दिन खोजेको देखिन्छ।' 


कसरी सार्वजनिक भयो भारत भ्रमणको मिति?

काठमाडौँ स्थित भारतीय दूतावासले दिल्ली भ्रमणमा रहेका नेपाली पत्रकारमाझ दिल्लीले प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण बारे ब्रिफिङ गरेको थियो। भारतको विदेश मन्त्रालयले नेपालबाट दिल्ली पुगेका पत्रकारहरु माझ गरेको व्रिफिङमा भ्रमणको संकेत गरिएको थियो। 

भ्रमण टोलीमा दिल्ली पुगेका पत्रकार पर्शुराम काफ्लेले दिल्लीबाटै चैत ८ मा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणको समाचार लेखे। ८ गते बिहान नयाँ पत्रिका दैनिकको अनलाइनमा समाचार आएसँगै नेपालका अनलाइनहरुले परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारी भन्दै समाचार प्रकाशित गर्दै आएका छन्। 

तर, परराष्ट्र मन्त्रालयले भने दिल्ली भ्रमणको मिति तय भइनसकेको भन्दै आएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय भइनसकेको बताउँदै आएका छन्। 

उनले शनिबार बीबीसी नेपालीसँग कुरा गर्दै दिल्ली भ्रमणको मिति तय भइनसकेको बताए। उनले अझैसम्म प्रधानमन्त्री ओलीलाई दिल्ली भ्रमणको आधिकारिक निम्तो आइनसकेको समेत दाबी गरे। उनले ओलीको भारत भ्रमण अगाडि मोदीलाई नेपाल ल्याउन प्रस्ताव गरिएको समेत बताए। 

उनले यस्तो दाबी गरेकै दिन माओवादी केन्द्रको बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकता गर्ने भन्दै त्यसका लागि तयारी थाल्ने निर्णय गर्‍यो। सरकारका उर्जामन्त्री समेत रहेका माओवादी केन्द्रका नेता वर्षमान पुनले नै प्रधानमन्त्री ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकता हुने सार्वजनिक प्रतिक्रिया दिए। 

यो सँगै नेपालका अनलाइनहरुमा भारत भ्रमण अगाडि पार्टी एकता गर्ने प्रधानमन्त्रीको चाहना भन्दै समाचारहरु प्रकाशित भएका छन्। भारत भ्रमण अगाडि पार्टी एकता किन चाहन्छन् प्रधानमन्त्री? भन्दै विश्लेषण समेत प्रकाशित भएका छन्।

पार्टी एकताका लागि विधान मस्यौदा कार्यदलका सदस्य वेदुराम भुसालले भने पार्टी एकता र प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै सम्बन्ध नभएको पहिलोपोस्टसँग भनेका छन्। उनले प्रधानमन्त्रीको भारत भ्रमणको मिति नै तय भइनसकेको समेत प्रतिक्रिया दिएका छन्। 

प्रधानमन्त्री ओलीको भारत भ्रमणको समाचार भारतीय सञ्चार माध्यमहरुले पनि प्रकाशित गरेका छन्। तर, ती समाचारहरु नेपाली सञ्चार माध्यमको रिपोर्टलाई हवाला दिँदै प्रकाशित भएका छन्। 

हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री ओलीको भारत भ्रमण अप्रिलको पहिलो साता भन्दै काठमाडौँ पोस्टको समारचारलाई उदृत गर्दै समाचार प्रकाशित गरेको छ। 

समाचारमा नाम उल्लेख नगरी एक माओवादी केन्द्रका वरिष्ठ नेतालाई उदृत गर्दै प्रधानमन्त्री ओली पहिला भारत भ्रमणमा जानु स्वभाविक भएको समाचारमा उल्लेख छ। 

हिन्दुस्तान टाइम्सले प्रधानमन्त्रीको भारत भ्रमण अगाडि परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली जाने समेत उल्लेख गरेको छ।

त्यस्तै भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले प्रधानमन्त्री ओली चीन भन्दा पहिला भारत जाने भन्दै समाचार उल्लेख छ। अप्रिलको पहिलो साता भारत भ्रमण हुने समाचारमा उल्लेख भए पनि कुनै आधिकारिक व्यक्तलाई उदृत भने गरिएको छैन। 

इकोनोमिक्स टाइम्सले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा हुने विम्स्टेक सम्मेलको निम्तो दिन भारत जाने तयारीमा रहेको जनाएको छ। 

परराष्ट्र मन्त्रालयका अधिकारीहरुले समेत प्रधानमन्त्रीको भारत भ्रमणको मितिको टुंगो लागि नसकेको जनाएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्त भरतराज पौडेल भारत भ्रमणको मितिको बारेमा अनावश्यक हल्ला आएको बताउँछन्। 

‘अहिलेसम्म हामीलाई मितिको बारेमा थाहा छैन्, छलफल भइरहेको छ, टुंगो लागि सकेको छैन्,’ उनले भने, ‘मितिको बारेमा समाचारमा पढेर मात्र जानकारी पायौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell