PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

क्रिस गेल : टी-२० मा पहिलो अन्तर्राष्ट्रिय शतक देखि आइपीएलमा सर्वाधिक शतकसम्म



पहिलोपोस्ट

क्रिस गेल : टी-२० मा पहिलो अन्तर्राष्ट्रिय शतक देखि आइपीएलमा सर्वाधिक शतकसम्म

क्रिस्टोफर हेनरी गेल (क्रिस गेल), 'युनिभर्स बोस'। क्रिकेटको सर्ट फर्म्याट 'टी-२०' का लेजेण्ड्री प्लेअर हुन्।

शतक प्रहार गर्नु र छक्काको वर्षा गर्नु गेलको विशेषता नै हो। टी-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने उनी पहिलो र एक मात्र खेलाडी हुन्।

गेलले बिहीवार मात्र इन्डियन प्रिमियर लिग (आइपीएल)मा किंग्स ११ पञ्जावको लागि शतक प्रहार गर्दै टी-२० मा शतक संख्या २१ पुर्‍याएका छन्।

गेलपछि दोस्रो स्थानमा रहेका ब्रेण्डन म्याकुलम, माइकल किलिङ्गर र लुक राइटले ७ शतक प्रहार गरेका टन्।

झण्डै डेढ दशक लामो टी-२० इतिहासमा शतक प्रहार गर्ने समेत गेल नै पहिलो खेलाडी हुन्। उनले सन् २००७ मा दक्षिण अफ्रिका विरुद्ध जोहानेसवर्गमा पहिलो टी-२० शतक प्रहार गरेका थिए।

वेष्ट इन्डिजका लागि २ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका गेलले आइपीएलमा पनि सर्वाधिक ६ शतक प्रहार गरिसकेका छन्।

त्यसमध्ये ५ शतक रोएल च्यालेन्जर्स बैंगलोरबाट खेल्दै बनाएका थिए। उनले बंगलादेश प्रिमियर लिगमा ५ तथा क्यारेवियन प्रिमियर लिगमा ४ शतक प्रहार गरिसकेका छन् भने अष्ट्रेलियन बिग बास, दक्षिण अफ्रकाको रामस्लाम, इंगल्याण्डको टी-२० ब्लास्ट र जिम्बावेको लिगमा समेत शतक प्रहार गरिसकेका छन्।

गेलले अहिलेसम्म वेष्ट इन्डिज र जमैकन राष्ट्रिय टिमसहित कूल २२ टिमबाट टी-२० क्रिकेट खेलिसकेका छन्।

सन् २००८ बाट सुरु भएको आइपीएलको पहिलो सिजनदेखि नै खेलेका गेलले सन् २०११ मा बैंगलोरबाट खेल्दै पहिलो आइपीएल शतक प्रहार गरेका थिए।

यसअघि कोलकता र बैंगलोरबाट खेलेका गेल यसपटक पञ्जाव पुग्नुमा रोचक कहानी छ। गत जनवरीमा भएको अक्सनमा दुई पटकसम्म नबिकेका गेललाई डिम्पल गर्ल प्रिति जिन्ताको टिम पञ्जावले अन्तिमा भित्र्याएको थियो।

यस सिजन पञ्जावको सुरुवात खेल मैदान बाहिरै बसेर हेरेका गेलले पछिल्ला दुई खेलमा पञ्जावलाई जिताउन निर्णायक भूमिका नै खेलिदिए।

बिहीवार सनराइजर्स हैदरावादको अपराजित यात्रा तोड्ने क्रममा गेलले नटआउट १०४ रन बनाए। ओपनिङ गर्दै पञ्जावको इनिङ्सभर 'ब्याट क्यारी' गरेका गेलले ११ छक्का र १ चौका प्रहार गरे।

सन् २००५ देखि टी-२० क्रिकेट खेलेका गेलले ३२५ म्याच खेल्दै ११ हजार २३५ रन प्रहार गरिसकेका छन्। यस क्रममा उनले ८४३ चौका ८३४ छक्का प्रहार गरेका छन्। दोस्रो स्थानमा रहेका ब्रेण्डन म्याकुलमले ९ हजार ३९ रन बनाएका छन्।

सन् २०१३ मा पुने वारीयर्स इन्डिया विरुद्ध बनाएको नटआउट १७५ रन टी-२० गेलको व्यक्तिगत उच्च स्कोर हो।

 

११ राष्ट्रविरुद्ध शतक प्रहार गर्ने तेस्रो खेलाडी बने क्रिस गेल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell