बनारस: सम्पूर्ण घर नेपाली शैलीको। राजधानी काठमाडौंको प्राचीन कलाकृति सम्झाउने बान्कीमा बनाइएको। काठबाट बनेका झ्याल, ढोका, खाँबा र दलिनहरू बुट्टेदार।
लिस्नु पनि काठकै। रातो माटोले लेपन गरिएका छन् भित्ताहरू। छाना नेपाली शैलीकै। बुइँगल उही नेपाली शैलीकै। नेपाली परम्पराकै दलान, आँगन र तुलसीको मठ।
हामी यति बेला भारतको प्रसिद्ध र प्राचीन आध्यात्मिक शहर वाराणसीमा छौं। तर नेपालकै पुरानो मौलिक शैलीको घरमा बसेको अनुभव भइरहेको छ। गंगा किनारमा नेपाली स्वादको वासना चलिरहेछ।
स्थान हो - ललिता घाट, वाराणसी। श्री साम्राज्येश्वर पशुपतिनाथ मन्दिर धर्मशाला।
बीचमा ठिक्कको आँगन र चारैतिर बराबर नापको दलान भएका कारण यस भवनलाई चौघडा धर्मशाला पनि भनिन्छ।
०००
श्री ५ रणबहादुर, स्वामी निर्गुणानन्द बनेपछि
जीवनको उत्तरार्द्धमा वीतरागी भएपछि राजा रणबहादुर शाह तपस्या गर्न काशी आए। उनले काशीमै सन्यास धारण गरे र उनी स्वामी निर्गुणानन्द कहलाइए।
धर्मशाला सञ्चालक समिति (ट्रस्ट)–का महासचिव डा. गोपालप्रसाद अधिकारीले भने, ‘रणबहादुर अर्थात् स्वामी निर्गुणानन्दले पतीतपाविनी गङ्गाजीको यही तटमा तपस्या गरेका हुन्। उनको कुटी पनि यही थियो। निर्गुणानन्दका साथ साधना गर्ने तत्कालीन काशी नरेश पनि थिए। यही गङ्गातटको नाम कालान्तरमा ललिता घाट भयो।’
अधिकारीका अनुसार केही समयपछि तत्कालीन प्रधानमन्त्री भीमसेन थापा बनारस आई जोगी बनेका राजालाई मनाएर फर्काएर नेपाल नै लगेको तथ्य पाइन्छ।
रणबहादुरको मृत्युपछि उनका छोरा श्री ५ राजेन्द्र विक्रम काशीमा बाबुको श्राद्ध गर्न आए। स्वामी निर्गुणानन्दले तपस्या गरेको र कुटी बनाएर बसेको स्थान छोरा राजेन्द्रविक्रमले श्रद्धा र आदरका साथ अवलोकन गरे।
‘महाराज, तपाईंका पिताले उपासना गरेको पवित्र स्थान हो यो’, बाबु रणबहादुरप्रति प्रकट गरेको स्मृति र भक्ति देखेर काशी नरेशले राजा राजेन्द्रलाई सम्बोधन गर्दै भनेछन्, ‘गङ्गाजीको यो तटमा उहाँसँग म पनि केही समय बसेको छु। यो साधना स्थल आजका मितिदेखि तपाईंकै भयो। म तपाईंलाई यो पवित्र भूमि प्रदान गर्न चाहन्छु।’
काशी नरेशबाट नेपाल देशलाई प्राप्त गङ्गातटको यो भूमि आज अर्बौंको सम्पत्ति भएको छ।
आफ्ना जोगी बाबु निर्गुणानन्दको यही साधना स्थलमा राजा राजेन्द्रले चौघडा धर्मशाला बनाए। यसलाई नेपाली धर्मशाला र पशुपतिनाथ धर्मशाला पनि भनिन्छ। राजेन्द्रले धर्मशाला वरिपरि साम्राज्येश्वर पशुपतिनाथ महादेव, राजराजेश्वरी र ललितागौरी गरी तीन वटा छुट्टाछुट्टै मन्दिरको स्थापना गरे।
उनले धर्मशाला र मन्दिरको सञ्चालन तथा पूजाका लागि वीरगञ्जमा एक हजार एक सय बिघा जमिनको गुठी स्थापना गरे।
रणबहादुरका तीन रानी थिए– साम्राज्येश्वरी, राजराजेश्वरी र ललितादेवी। तीन वटै रानीका नामबाट मन्दिर अनि ललिताका नामबाट घाट बनेको पाइन्छ।
‘तर दुःखको कुरा आज राजराजेश्वरी मन्दिर भएको भूमि नेपालको स्वामित्वमा छैन’, महासचिव अधिकारीले भन्छन्, ‘सात सालसम्म यस थलोलाई नेपालका राणा प्रधानमन्त्रीहरूले पनि विचार पुर्याइरहेको पाइन्छ। तर सात सालपछि नेपाल सरकारले यहाँको भूमि र संरचनालाई खासै ध्यान दिएको देखिएन। त्यसैले होला, यहीँ बस्ने एक जोगीले जालसाजी गरेर राजराजेश्वरी मन्दिर आफ्ना नाममा दर्ता गरेछन्। उत्तर प्रदेश सरकार अन्तर्गतका कुनै पनि आधिकारिक स्रेस्तामा राजराजेश्वरी मन्दिर भएको भूमि नेपाल सरकारको स्वामित्वमा भएको प्रमाण फेला परेन। नेपालको स्वामित्व भएको मन्दिर र भूमि दाउपेच गरेर हत्याउने व्यक्ति नेपाल सरकारले नै मन्दिरमा नगडा बजाउन नियुक्त गरेका जोगी थिए।’
महाराज, आफ्नो सम्पत्तिको रक्षा गर्नुस् !
महासचिव गोपालका अनुसार विभिन्न जोगीहरूको अखडा त छँदै थियो धर्मशाला र मन्दिरलाई नेपाल सरकारले लामो समय वास्ता नगरेपछि यो ठाउँ फटाहाहरूको पनि अड्डा भएछ। धर्मशाला भत्किसकेको थियो। सबै मन्दिर जीर्ण भइसकेका थिए।
यसैबीच २०४६ को जनआन्दोलनबाट नेपालमा प्रजातन्त्रको पुनःस्थापना भयो। भारतले नेपालमा लगाएको नाकाबन्दी फिर्ता लियो। दुवै मुलुकको सम्बन्ध सुमधुर भयो।
यही मौका पारेर तत्कालीन काशी नरेश विभूतिनारायण सिंहले नेपालका राजा वीरेन्द्रलाई पत्र लेखे।
(बनारसमा सांस्कृतिक राजाको परम्परा विद्यमान छ। राज्यबाट त्यहाँका राजाले अझै सेवासुविधा पाउँछन्। राज्य सञ्चालनमा खासै कानुनी अधिकार नभए पनि उनको ऐतिहासिक र सांस्कृतिक प्रभाव बनारसमा व्याप्त छ। विभूतिनारायणको निधन २५ डिसेम्बर २००० मा भएपछि उनका छोरा अनन्तनारायण सिंह राजा भए। अहिलेका राजा पनि उनै हुन्।
काशी नरेशको दरबार भएको स्थानलाई रामनगर किल्ला भनिन्छ। काशी विश्वनाथको मन्दिरबाट ७ किलोमिटर दक्षिणमा गङ्गापारि रामनगर किल्ला अवस्थित छ। पर्यटकहरू यहाँ जाने गर्छन्।)
राजा विभूतिनारायणले राजा वीरेन्द्रलाई लेखेको पत्रमा नेपाल सरकारको स्वामित्व भएको ललिता घाटको अचल सम्पत्ति, संरचना र त्यहाँका मन्दिरको अवस्था ध्वस्त एवम् दयनीय भएको साथै त्यहाँ अवाञ्छित व्यक्तिको बसोबास हुन थालेको उल्लेख थियो।
काशी नरेशले नेपालले ललिता घाटमा भएको आफ्नो प्राचीन र ऐतिहासिक सम्पदाको संरक्षण र जीर्णोद्धार गरोस् भन्ने अनुरोध पनि पत्रमा गरेका थिए।
भारतमा अमेरिकी र बेलायती सांस्कृतिक केन्द्र भएजस्तै ललिता घाटमा नेपाली सांस्कृतिक केन्द्रको निर्माण होस् भन्ने राजा विभूतिनारायणको चाहना थियो।
किसुनजी प्रधानमन्त्री हुँदा
अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको बनारससित पुर्ख्यौली सम्बन्ध थियो। घरजग्गा नेपालमा भए पनि भट्टराईका पितापुर्खा बनारसका समेत बासिन्दा थिए। आफू अन्तरिम प्रधानमन्त्री छँदा भारत भ्रमणमा आएका बेला उनी बनारस पनि आए।
‘हामी सबै मिलेर किसुनजीलाई अनुरोध गर्यौँ’, अधिकारीको कथन थियो, ‘काशी नरेशले नेपालका राजालाई पत्र लेखेको अवगत गरायौँ अनि ललिता घाटको सम्पत्तिको संरक्षण र जीर्णोद्धार गर्नुपर्यो भन्ने आग्रह गर्यौँ।’
किसुनजी नेपाल फर्कनेबित्तिकै भारु एक लाख २५ हजार पठाइदिए। यही रकमबाट यस ठाउँको मरम्मत सुरु गरियो।
गिरिजाबाबुले गरे निर्णायक योगदान
२०४८ को आमनिर्वाचनपछि नेपालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए। उनको पनि बनारससित अटुट सम्बन्ध थियो। प्रधानमन्त्री भएपछि भारत भ्रमणका क्रममा उनी पनि बनारस आए।
‘यति बेला बनारसमा बस्ने नेपालीको ठुलो समूहले गिरिजाबाबुलाई आग्रह गर्यो’, गोपालले सुनाए, ‘किसुनजी प्रधानमन्त्री हुँदा पठाएको रकमले चौघडा धर्मशालाको जीर्णोद्धार सुरु गरिएको र उक्त रकम अत्यन्त थोरै भएको हामीले अवगत गरायौँ। धर्मशालाका साथै पशुपतिनाथ र ललितागौरी मन्दिरको पनि जीर्णोद्धार गर्नुपर्ने भन्दै अनुरोध गर्यौँ।’
गिरिजा नेपाल फर्किएपछि सरकारले ललिता घाटस्थित धर्मशालाको पुनर्निर्माण र दुवै मन्दिरको जीर्णोद्धार गर्ने निर्णय गर्यो। जसअनुसार पुरातत्त्व विभागमार्फत् नेपाली शैलीको चौघडा धर्मशाला तयार भयो।
‘यहाँ प्रयोग गरिएका नेपाली काष्ठकलाका सबै सामग्री काठमाडौंमै तयार गरिए र ट्रकमार्फत् ल्याइए’, अधिकारीले जानकारी दिए, ‘सन् १९९२ सुरु गरिएको मरम्मत र जीर्णोद्धारको काम २००५ सम्म चल्यो। सरकार र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको गरी कुल नेरु एक करोड ५० लाख खर्च भयो।’
अनि बन्यो ट्रस्ट
पुरातत्त्व विभागमार्फत् सबै संरचना त तयार गरिए तर अब सञ्चालन कसरी गर्ने भन्ने अहम् प्रश्न तेर्सिएको थियो।यसैबीच पुरातत्त्वका एक उच्च अधिकारी भीम नेपालले यस स्थानलाई भारत सरकारले सञ्चालन गर्ने भनी पत्राचार गरेछन्। तर बनारसका नेपालीले यो प्रस्तावलाई ठाडै अस्वीकार गरे।
नेपाल सरकार र नेपाली जनता मिलेर यत्रो खर्च गरेर बनाएको संरचना भारत सरकारलाई सुम्पन कोही तयार भएन।
महासचिव गोपालका अनुसार यसपछि बनारसमा बस्ने नेपालीको बृहत् भेला पटकपटक गरियो। अन्ततः भारतका लागि नेपालका राजदूतलाई पदेन संरक्षक बनाउने र नेपाल सरकारले अध्यक्ष तोक्ने गरी एक सञ्चालक समिति (ट्रस्ट)–को गठन गर्ने निर्णय गरियो। बाँकी पद साधारण सभाबाट पूर्ति गर्ने तय भयो।
सोहीअनुसार २००५ देखि ट्रस्ट क्रियाशील छ। नियमित रूपमा साधारण सभा गरिन्छ। बनारसका डिएम्लाई पनि समितिमा पदेन सदस्य बनाइएको छ। धर्मशाला र मन्दिरको सुरक्षाका लागि डिएम्लाई समितिमा राखिएको हो।
धर्मशालाले १५ नेपाली विद्यार्थीलाई निःशुल्क आवास र भोजनसहित संस्कृत शिक्षा उपलब्ध गराइरहेको छ।
भुईँ तलासहित माथिल्लो तला भएको नेपाली शैलीको दुई तले धर्मशालामा अट्याच बाथरुमसहितका तीन कोठा र चार ठुला हल छन्। एक सय यात्रु यहाँ सजिलै अटाउन सक्छन्। यात्रुले आफैँ पकाएर खाना खाएमा भाँडाकुँडा र ग्यास चुह्लोको व्यवस्था पनि धर्मशालाले गरिदिन्छ।
बलबहादुर आएपछि
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला २०५८ सालमा बलबहादुर केसी दिदीको अस्तु सेलाउन बनारस आए। उनको बास चौघडा धर्मशालामै भयो।‘सधैँ तपाईं यो पदमा रहनु हुन्न’, अधिकारीले १९ वर्ष पुरानो घटना सम्झिए, ‘हामीले के अनुरोध गर्यौँ भने धर्मशाला पछाडिको केही जमिन र भवन बिक्रीमा छ। विक्री गर्ने पक्षले नेपालीलाई नै प्राथमिकतामा राखेको छ। यो भवन खरिद गर्न पाए वृद्धाश्रम बनाउन हुन्थ्यो। भारु १५ लाख जुट्यो भने काम गर्न सकिन्छ।’
मन्त्री केसीले नेपाल फर्केर सात दिनभित्र फोन गर्छु र जवाफ दिन्छु भने। उनी फर्किएको सात दिनपछि मौखिक जवाफ होइन भारु १५ लाखको ड्राफ्ट आइपुग्यो। यसपछि खरिद गरिएको भवनको मरम्मत गर्न एक वर्ष लाग्यो। २०५९ सालमा मन्त्री केसी आफैँ आएर वृद्धाश्रमको उद्घाटन गरे। वृद्धाश्रममा हाल १६ वृद्धा आश्रित छन्।
अझै चल्दै छ मुद्दा
धेरै समय नेपाल पक्षले ध्यानदृष्टि नपुर्याएको ललिता घाटकै एक सानो टुक्रा जमिनलाई गुलाब यादव नामका एक जोगीले जालसाज गरेर आफ्नो नाममा बनाएछन्। गुलाबको सन्न्यासी नाम गजानन्द सरस्वती हो।‘
जोगी सन्न्यासी भएर पनि जमिनप्रति यत्रो आशक्ति’, आश्चर्य प्रकट गर्दै अधिकारीले भने, ‘उक्त जमिनलाई गुलाबका नामबाट धर्मशालाको समिति (ट्रस्ट)–का नाममा पार्न अझै मुद्दा चलिरहेको छ।’
नेपाल सरकारले पूजाका लागि गुठी संस्थानमार्फत् बर्सेनि भारु एक लाख पठाउँछ। छुट्टिने बेला गुरु गोपालले एउटा प्रश्न नछुटाउन आग्रह गरे, ‘तपाईँको लेख नेपाल सरकारले पढोस्। के एक हजार एक सय बिघा जमिनको गुठी भएको मन्दिर र धर्मशालाले पाउने वार्षिक भारु एक लाख मात्र हो?’
यो पनि पढ्नुहोस