PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

नसुल्झिएको गाँठो : प्रहरी जवान आचार्यलाई के लाग्यो? गोली कि सिसा?



सागर बुढाथोकी

नसुल्झिएको गाँठो : प्रहरी जवान आचार्यलाई के लाग्यो? गोली कि सिसा?

  • कर्णाली स्वास्थ्य विज्ञानमा प्रहरीले गोली चलायो।
  • प्रहरीको गोली लागेर प्रहरी जवानको मृत्यु भयो।
  • गोली चलेकै छैन।
  • प्रहरी जवान घाइते भएका हुन, मृत्यु भएको छैन।

थोरै समयको अन्तरालमा बिहीवार दिउँसोदेखि मिडियामा आएका हेडलाइनहरु हुन् यी। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक डाक्टर गोविन्द केसी पक्ष र सरकारी पक्षबीच भएको झडपका बारेमा एकपछि अर्का दावीले घटनालाई अन्योलपूर्ण बनाइरहेको छ।  

छोटो समयमा विकसित घटनाक्रमहरुले प्रश्न जन्माएको छ -  
  • अस्पताल जस्तो संवेदनशील क्षेत्रमा गोली चलेको हो कि होइन? 
  • प्रहरीले जिउँदै रहेका प्रहरी जवानलाई मरेको भनेर किन माइकिङ गर्यो? 
  • प्रहरी जवानलाई गोली लागेको हो कि सिसा?
प्रश्नहरुको चित्तबुझ्दो जवाफ सम्बन्धित निकायबाट आइसकेको छैन। तर, घटनास्थलमा भएका प्रत्यक्षदर्शीहरुका अनुसार प्रहरीको ‘नियत’मा नै खोट देखिएको छ। डाक्टर केसीले जुम्ला टेकेदेखि नै प्रहरी प्रशासनले अनिष्टको संकेत गरिरहेका प्रत्यक्षदर्शी बताउँछन्।

जुम्लामा घाइते भनिएका प्रहरी जवान  कमल आचार्यलाई प्रहरीले नै घाइते बनाएको प्रत्यक्षदर्शी सरोज शाहीको दावी छ। सिभिल ड्रेसमा रहेका प्रहरीले नै आचार्यलाई हानेको उनले बताए। गोली चलेको कुरा भने पुष्टि भइनसकेको उनको तर्क छ। 
'एकदमै धुँवा उडिरहेको थियो। अत्यन्तै हल्ला र भिडभाडले गर्दा केही देखिएन। गोली चलेको आवाज पनि सुनिएन,' उनले भने, 'गोली लागेको हो या लाठ्ठी, अपरेसन नगरी थाहा नहुने चिकित्सकहरुले बताएका छन्।'

विद्यार्थीले प्रहरीलाई हानेको भन्ने कुरामा कुनै आधार नदेखिएको उनको तर्क छ। उनका अनुसार प्रहरी र विद्यार्थी झडप गरिरहँदा आचार्य अरु जवानसँगै मेनगेटको अपोजिट अपांगमैत्री गेटमा बसेका थिए। त्यहाँ झडप गर्न विद्यार्थी पुगेका थिएनन्। उनी घाइते हुँदा झडप दोस्रो तल्लामा भएको थियो। शाही भन्छन्, ' डाक्टर केसीलाई त्यहाँबाट निकाल्ने प्लान रै’छ। हामीले त उनीहरुलाई विद्यार्थी भनेका थियौं। तर, सिभिल ड्रेसका प्रहरी रहेछन्।'

डाक्टर केसीलाई 'इमोसनल ब्याकमेल' गर्न प्रहरीले नै आफ्नो साथीलाई घाइते बनाएको उनको आरोप छ। आन्दोलनमा भिजिलान्ते प्रयोग भएको उनले बताए। भने, 'जवान भएको ठाउँमा पुगेर विद्यार्थीले उनलाई घाइते पार्न सक्ने अवस्था थिएन। मैलै देख्दा विद्यार्थीले नै कुटाइ खाइरहेका थिए।'

प्रहरीले ज्युँदो मान्छेलाई मर्यो भनेर माइकिङ गर्नुको कारण त्यही हुनसक्ने उनले बताए। डाक्टर केसीलाई बाहिर निकाल्न प्रहरीले जुनसुकै मुल्य चुकाउन तयार देखिएको बताउँदै उनले भने, 'साढे चार सय भन्दा बढी प्रहरीले हतियारसहित अस्पताल घेराउ गरेपछि मानिसहरुमा डर उत्पन्न हुनु स्वाभाविक थियो। उनीहरु आक्रोशित हुनु पनि स्वाभाविक हो।'

अर्का प्रत्यक्षदर्शी नारायण कँडेल गोली चलेको भन्ने कुरा पुष्टि नभएको बताउँछन्। भिड, होहल्लामा कसैकसैले गोली चलेको बताए पनि आफूले नदेखेको बताए। भने, 'घाइते भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञानमै लिएर गए। मुटुमा प्वाल देखिएकाले प्वाल टाल्ने काम गरियो। एक्स रे गर्दा गोली लागेको जस्तो देखिए पनि अपरेसन नगरी केही भन्न सकिन्न भनेका छन्। अपरेसनपछि वास्तविकता थाहा हुन्छ।'

आचार्यको उपचारमा संग्लग्न चिकित्सकहरुका अनुसार एक्स रे हेर्दा गोली लागेको जस्तो देखिन्छ। तर, अपरेसन नगरी यकिन गर्न कठिन छ।
घाइते प्रहरी जवानलाई गोली वा सीसा अथवा किला लागेको भनिए पनि यसबारे कसैले पुष्टि गरेको छैन। जुम्लाका डिएसी तपन कुमार दाहाल फोन ‘अफ’ गरेर बसेका छन्। त्यस्तै विवादमा नमुछिन प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल पनि फोन उठाउँदैनन्।
 

जुम्लामा के भएको थियो? प्रत्यक्षदर्शीको बयान : युद्धभूमि जस्तै भयो अस्पताल

‌‌‌+++
 
प्रहरीले माइकिङ गर्नासाथ घटनाले यु-टर्न लिएको बताउँछन् शाही। त्यसपछि ‘मरे पनि यहीँ मर्छु’ भनेका डाक्टर केसीले पत्रकार सम्मेलन गरेको उनले सुनाए।  त्यहाँका मानिसहरुसँग माफी माग्दै केसी रोएका थिए। 

'यस्तो क्षति होस् भनेर सोचेकै थिइन। यहाँका मानिसलाई खतरा हुन्छ भन्ने थाहा हुँदाहुँदै म बस्दिन भन्दै उनी जान तयार भए,' शाहीले सुनाए।

दिउँसो गोली चलेको र प्रहरी जवान कमल आचार्यको मृत्यु भएको खबर प्रहरीले नै सार्वजानिक गरेको अडियो पनि हिजैदेखि सार्वजनिक भयो। शाहीले भने, 'यो उनीहरुको डा केसीलाई लैजाने प्लान रहेछ। डा केसीमाथि इमोसनल ब्याकमेल र विद्यार्थीहरुलाई बदनाम गराउने प्रपोगाण्डा गरेका रहेछन्।'

गोली चलेको र प्रहरी जवानको मृत्यु भएको खबर सार्वजानिक भएको केही समयपछि घटनाले अर्को टर्न लियो। कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गोली नै नचलेको दावी गरे।

उनकै भनाई जस्तै गरी गृह मन्त्रालयले बिहीवार साँझ विज्ञप्ति जारी गर्योी। प्रतिष्ठानका कर्मचारी, विद्यार्थी तथा अन्य असम्बन्धित व्यक्तिहरुको प्रहारबाट प्रहरी जवान कमल आचार्यको छातीमा सीसाको टुक्रा र चिर्पटमा रहेको किला गडेर गम्भीर घाइते भएको विज्ञप्तिमा उल्लेख गरियो।

त्यहीँ कुरा बाझियो। केही समयअघि प्रहरीले नै माइकिङ गरेको सूचना गलत भयो। विद्यार्थीहरुले सुरक्षाकर्मीमाथि प्रहार गरेको आरोप पनि गृह मन्त्रालयले लगायो।

त्यही बेला नेपाल प्रहरीले विज्ञप्ति जारी गर्यो। गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएजस्तै प्रहरीमाथि सिसा तथा चिर्पट प्रहार गरी हुलहुज्जत गर्दा प्रहरी अधिकृतसहित तीन जना प्रहरी घाइते भएको नेपाल प्रहरीले पनि दोहोर्यायो।

प्रहरीले नै माइकिङ गर्दै प्रहरी जवानको मृत्यु भएको बतायो र बाटो नछाडे जे पनि हुन सक्ने चेतावनी दिएको थियो। तर, विज्ञप्तिमा भने कतिपय अनलाइन र केही न्युज च्यानलहरुमा प्रहरीले गोली प्रहार गरेको प्रकाशन र प्रसारण गरेको समाचारमा ध्यानाकर्षण भएको जनाएको थियो।

गोविन्द केसीका पक्षधर र सरकार दुवैको सूचनाले घटनामा के भएको थियो थप अन्योल बनाएको छ। घाइते प्रहरी जवान उपचारमै रहेकाले घटनाको वास्तविकता जान्नको लागि केही समय कुर्नपर्ने देखिन्छ। त्यसपछि मात्र थाहा हुन्छ- उपाध्यायलाई गोली लागेको हो कि सीसा?

डाक्टर रामेश कोइरालाले ट्विट गर्दै यस्तो लेखेका छन् -
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell