PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

डा केसीको समर्थनमा पासपोर्ट क्यान्सिल, 'कस्सम! गोविन्द गुरुको माग पूरा नभएसम्म विदेश जान्नँ, '

डा केसीको समर्थनमा पासपोर्ट क्यान्सिल, 'कस्सम! गोविन्द गुरुको माग पूरा नभएसम्म विदेश जान्नँ, '

सागर बुढाथोकी/पहिलोपोस्ट


१५ औं पटक अनशनमा छन् डा गोविन्द केसी। जुम्ला पुगेर अनशन शुरु गरेका डा केसीलाई सरकारले अनशनको २० ‍औं दिनमा जबरजस्ती उठाएर ल्यायो। आज २३ औं दिन चलिरहेको छ।
 

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशन बसेका डा केसीको मागप्रति सरकार सकारात्मक नदेखिएपछि उनको समर्थन र सरकारको विरोधमा बसन्तपुर डबलीमा सामूहिक अनशनमा बसे आम नागरिक। डा केसीको माग पुरा गर्न सरकारलाई सांकेतिक विरोध थियो त्यो।
 

अनशनको डफ्फामा नर्स, डाक्टर, अधिवक्ता, मानवअधिकारकर्मी र अभियन्ताको बाहुल्यता थियो। तर, सबैको ध्यान तानेको थियो, तीन  मधेसी मुलका नागरिकले। सामूहिक अनशनमा मिसिएका उनीहरु धनुषादेखि आएका थिए। पेशा: किसान। मधेसी मुलका नागरिक। अरु अनशनकारीका हातमा नाराबाजीसहितका पोस्टर थिए भने उनीहरुको हातमा नेपालको झण्डा फरफराइरहेको थियो।
 

डाक्टर केसीको समर्थनमा आएको त्यो अनुहार नयाँ थिएन। चार वर्षयता डाक्टर केसीको समर्थनमा उनीहरु माइतीघरमा देखिइरहेका थिए। हातमा नेपालको झण्डा बोक्दै र्यालीमा हिडिरहेका थिए। डाक्टर केसीलाई भेट्न अनशनस्थल टिचिङमा पुगिरहेका थिए।
 

डाक्टर केसीको मागलाई समर्थन जनाउँदै मेडिकल स्टुडेन्टहरु र केही युवाहरु समर्थनमा उत्रिरहेको देखेपनि त्यस्ता व्याक्तिहरु बारम्बार देखिरहेका थिएनन्। ति तिन जना 'अपवाद' थिए।
 

'डाक्टर केसीलाई समर्थन गर्न बारम्बार सडकमा आउनुमा उनीहरु स्वार्थ के?'
 

जवाफ पाउन उनीहरुको नजिक पुग्नु थियो।
 

परिचय भयो।
 

रामप्रकाश मण्डल,  उमेर ५०। महेन्द्र यादव, ६० र युगेश्वर मण्डल, उमेर ५२ वर्ष।  
 

तीनै जना धनुषाको भगवानपुर वडा सातबाट आएका हुन्। काठमाडौँ आइपुगेको १२ दिन भयो। उद्देश्य एउटै, डा केसीलाई समर्थन गर्नु। कसैले नबोलाइकन आफै आएको बताउँछन उनीहरु। साखुस्थित शरणदेखि मन्दिरमा बस्छन्। त्यतै ज्याला मजदुरीको काम गर्छन। मण्डल भन्छन्, ' अब यहाँ काम नगरीकन खान पाइँदैन। बस्नलाई आफन्त कोही छैनन्। त्यसैले अलिअलि मजदुरी गर्छौ र डा गोविन्द गुरुलाई समर्थन गर्न नि आउछौँ।'
 

आफ्नो बालबच्चाले पढ्न र उपचार पाउने सजिलो हुने माग राखेकाले डा केसीलाई समर्थन गरेको बताउँछन् मण्डल। आफूले पढ्न नपाउँदा दु:ख पाएर नै डा केसीलाई समर्थन गरेको सुनाउँछन्। गाउँमा रोग पालेर बस्नु परेको बाध्यता अन्त्य गर्न पनि डा केसीलाई समर्थन गर्नैपर्ने तर्क छ उनको। मण्डलले भने, 'पढ्न महंगो भएर तीन दिनभन्दा बढी स्कुल जान पाइनँ म। धेरै बिरामी हुदाँ नि अस्पताल जान सकिनँ। हाम्रो पालामा त त्यस्तो भो छोराछोरीलाई फाइदा होस्,  उपचार पाउन टेन्सन नहोस भनेर आएको हूँ।'
 

डाक्टर केसीलाई 'गुरु गोविन्द' भनेर सम्बोधन गर्छन् मण्डल। डा केसीले गरिबका बालबच्चालाई हित हुने माग राखेकाले ढुक्क भएर आएको बताउँछन्। माग पुरा भएपछि स्वास्थ्य र शिक्षाको अहिलेजस्तो टेन्सन नहुने उनको विश्वास छ। भने, 'गोविन्द गुरुले कुनै नेतागिरी गरेका छैनन्। सत्यको लागि माग राखेका छन। सत्यको लागि आइरहेका छौँ हामी।'
 

मण्डल दश वर्ष कतार बसे। १० वर्षपछि फेरि विदेश जाने विचार थियो। पहिलाको पासपोर्टले काम नदिने भएर 'मेसिन रिडेबल पासपोर्ट' बनाउन काठमाडौँ आए। त्यतिबेला डा केसीको अनशन चलिरहेको थियो। डा केसीको माग बुझ्दै गए। रेडियो टिभीमा सुन्दै गए। बुझ्दै जादाँ डा केसीका माग जायज लागे।  त्यही बेलादेखि डा केसीको समर्थनमा हिड्न थाले उनी। मण्डलले भने, 'पासपोर्ट बनाउँन आएको बेला हाम्रो गुरु गोविन्दको पक्षमा आन्दोलन थियो। सत्यको लडाइ लड्नुपर्छ भनेर पासपोर्ट बनाउन 'क्यान्सिल' गरे। त्यतिबेला कसम खाएँ, जब गोविन्द गुरुको माग पुरा हुन्छ तब मात्र पासपोर्ट बनाएर विदेश जान्छु। गुरुको माग पुरा नभइ विदेश जान्न।'
 

यो चार वर्षअघिको कुरा हो। डा केसीले चारबुदेँ माग राखी तेस्रो अनशन बसिरहेका थिए। तेस्रोदेखि १५ औं अनशनसम्म डाक्टर केसीलाई समर्थन गर्न आइरहेका छन् उनी। डाक्टर केसीलाई समर्थन गरेर नथाकेको सुनाउँछन्।
 

डा केसी अनशन नबस्दा धनुषा भवानीपुरमै खेती किसानी गर्छन मण्डल। डा केसीले बारम्बार अनशन बस्दा दिक्क लाग्दैन उनलाई। हरेक अनशनमा यसरी समर्थन गर्न आउँदा घाटा नहुने बताउँछन्। सत्यको लागि नाफा घाटा नहर्ने मान्यता छ उनको। ' अहिलेसम्म जे जति मान्छे भेटाएको छ, चोर नै भेटाएको छ। फटा नै भेटाएको छ। लुट्ने, गाडी जलाउने, बदमास नै भेटाएको छ। आगो नै लगाउने भेटाएको छ। मान्छे काट्ने नै भेटाएको छ,  मण्डलले भने,' अहिलेसम्म ५० वर्ष  भइयो हाम्रो गुरु गोविन्द जस्तो सत्यको लागि लड्ने मान्छे जिन्दगीमा भेटेको छैन। उहाँ हाम्रो दिलमा बस्नुभएको छ।'
 

डाक्टर केसीलाई उनले धेरैपटक भेटे। अनशन स्थल टिचिङमा पुग्दा केसीको धेरै माया लाग्छ उनलाई। देशको लागि त्याग तपस्या गर्ने मान्छे अहिलेसम्म नभेटेको बताउँछन्। त्यसैले गएको चुनावमा कसैलाई भोट हालेनन्। गाउँ समाजमा शिक्षित व्याक्ति उम्मेद्वार नभएकाले भोट नहालेको बताउँछन्। उनले भने, 'उम्मेद्वार नै शिक्षित र विकास गर्ने छैन भने म त्यस्तो मान्छेलाई किन भोट दिने। मत भनेको इज्जत हो।  इज्जत उसलाई दिएर आफू किन दोष लिने।'
 

डाक्टर केसीको माग एक दिन पुरा भएरै छाड्ने विश्वास छ उनको। केसीलाई समर्थन नगर्नेहरु अन्तिममा पराजय हुने बताउँछन्। सत्यको जित ढिलो हुने मान्यता छ उनको। भन्छन्, 'सत्यको मार्ग कठिन छ त्यसमा मुसिबत आउँछ, तर ढिलो जित हुन्छ। जति हामी अहिले घुटना टेकिराछ अहिले पछि उनीहरुलाई त्यस्तै हुन्छ। सय दिन चोरको हुन्छ एकदिन साधुको हुन्छ। सत्यको विजय आज नभए भोलि, भोलि नभए पर्सी हुन्छ। हामिलाई विश्वास छ।'
 

उनलाई मधेसी पहाडी केही लाग्दैन। सबैलाई नेपाली मान्छन्। राज्यबाट विभेद महशुस गरेपनि केसीको माग सबै नेपाली गरिब जनताको भन्ने बुझेका छन्। भने, जस्ले गोविन्द गुरुको माग बुझ्दैनन्। उनीहरु नेपाली भएर सोच्दैनन्।'

सम्बन्धित समाचार

गोविन्द केसीका लागि आन्दोलनमा आएका यी अर्का गोविन्द, उमेर ८७ मात्र!



ट्रेन्डिङ पोस्ट

Ncell