PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

एसिया कप छनोट : नेपालको पहिलो जित, आरिफ र दीपेन्द्रको अर्धशतक, वसन्तको ३ विकेट



पहिलोपोस्ट

एसिया कप छनोट : नेपालको पहिलो जित, आरिफ र दीपेन्द्रको अर्धशतक, वसन्तको ३ विकेट
फोटो : एसीसी

काठमाडौँ : नेपालले मलेसियामा भइरहेको एसिया कप छनोटमा पहिलो जित हात पारेको छ। दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि ३० ओभरमा घटाइएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पारजित गरेको हो।

पहिलो जितपछि नेपालले २ अंक जोडेको छ। सुरुवाती दुई खेलमा ओमान र युएईसँग पराजित भएको नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ। नेपालले अब सिंगापुर र हङकङसँग खेल्न बाँकी छ।

१८९ रनको लक्ष्य पछ्याएको मलेसियालाई निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो। मलेसियाका लागि अनवर अरुदिन र सायद अजिजले ३४-३४ रन बनाए।

बलिङमा नेपालका लागि वसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए। वसन्तले ६ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए। ६ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै २० रन मात्र खर्चिए।

त्यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो। तर दीपेन्द्र र आरिफले छैटौँ विकेटका लागि शतकीय साझेदारी गरेपछि नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो।

वर्षाका कारण ढिलो खेल सुरु भएपछि खेल ३० ओभरमा घटाइएको थियो। १३ ओभरमा ६० रन हुँदा ५ विकेट गुमाएको नेपाली इनिङ्स उकास्न यी दुईले छैटौँ विकेटका लागि १०१ रनको साझेदारी गरे।

आरिफले नटआउट ६४ रन बनाए भने दीपेन्द्रले ५४ रनको योगदान गरे। यस्तै अनिल शाहले १६, कप्तान पारस खड्काले १३ तथा ज्ञानेन्द्र मल्लले ११ रन जोडे। सुबास खकुरेल ९ रन बनाएर आउट भए भने सागर पुन र सोमपाल कामीले खाता खोल्न सकेनन्।

बलिङमा मलेसियाका स्यारुल एजात इद्रुस र सर्भिन मुनिएन्डीले ३-३ विकेट लिए।

आजै भएको अन्य खेलमा ओमानले सिंगापुरलाई ८ विकेटले तथा हङकङले युएईलाई १८२ रनले हरायो।
 

 

अंकतालिका

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell