
काठमाडौँ: बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आज दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ। समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको थियो।
सेमिफाइनल सम्भावना कायमै राख्न आज भुटान विरुद्धको खेलमा जित्नैपर्ने दबाब नेपाललाई छ। नेपालले अहिलेसम्म भुटानसँग खेलेको सबै १२ खेल जितेको कारण पनि भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न नेपाललाई चुनौती छ।
समूह बी मा नेपाल र भुटान दुवैले पहिलो खेल हारको थियो। त्यसैले पनि अन्तिम चारको सम्भावना कायम राख्न आज दुवै टिमलाई जितको आवश्यकता छ। खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
साफ च्याम्पियनसिपमा नेपाल र भुटान यस अघि दुई पटक भिडेका थिए। दुवै खेल नेपालले जितेको थियो। साफमा भुटानविरुद्ध ह्याट्रिक जित हात पार्ने दाउमा छ नेपाल। नेपाल र भुटान पछिल्लो पटक सन् २०११ मा मैत्रीपूर्ण खेलमा भिडेका थिए। जहाँ नेपाल २-१ ले विजयी भएको थियो।
विराजको उपलब्धि
भुटानविरुद्धको खेल नेपालका कप्तान विराज महर्जनका लागि कोसेढुङ्गा सावित हुन सक्छ। भुटानविरुद्ध मैदान उत्रिएमा कप्तान विराज नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुनेछन्। उनले पाकिस्तानविरुद्ध खेल्दै राजुकाजी शाक्यको नाममा रहेको सर्वाधिक ६८ खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए।
भुटानविरुद्धको खेल विराटको लागि नेपाली जर्सीमा ६९औँ खेल हुनेछ र नेपालको लागि सर्वाधिक क्याप जित्ने खेलाडी विराज हुनेछन्।
एन्फा एकेडेमीको दोस्रो ब्याचका खेलाडी विराजले सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको खेलमार्फत नेपालको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। सन् २०१५ मा भारतमा भएको साफमा विराजले नेपालको लागि ५० क्याप जितेका थिए।
घरेलु फुटबलमा थ्री स्टार मनाङ मर्स्याङ्दी जस्ता चर्चित क्लबबाट खलेका विराज राइट ब्याक र लेफ्ट ब्याक दुवै पोजिसनबाट खेल्न माहिर छन्
नेपालको लागि डेब्यु गरेको एक दशकपछि विराज नेपालको लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नबाट केही घण्टा मात्र टाढा छन्।