PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

साफ च्याम्पियनसिप: नेपाल र माल्दिभ्स आज भिड्दै



गोविन्दराज नेपाल

साफ च्याम्पियनसिप: नेपाल र माल्दिभ्स आज भिड्दै

काठमाडौँ : बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत आज दुबै सेमिफाइनल खेल हुँदैछन।

पहिलो सेमिफाइनलमा दिउँसो नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनल भारत र पाकिस्तानबीच हुनेछ।

ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ३:४५ बजे हुनेछ। नेपाल समूह ए को विजेता तथा माल्दिभ्स समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्।

अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपाल माल्दिभ्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने योजनामा छ। उता सन् १९९७ देखि साफ खेल्न सुरु गरेको माल्दिभ्सले यसअघिका सबै संस्करणको सेमिफाइनल खेलेको छ। माल्दिभ्सले सन् २००८ मा उपाधि जितेको थियो।

साफ च्याम्पियनसिप : प्रतियोगितामा धेरै गोल गर्ने नेपाल र गोल नै नगरेको माल्दिभ्सबीच भिडन्त

अर्को तथ्य के हो भने साफमा नेपालले अहिलेसम्म माल्दिभ्सलाई हराउन सकेको छैन। तर यो पटक नेपाली टोलीले पहिलो खेल हारेर पनि उत्कृष्ट प्रदर्शन गर्‍यो। सही समयमा पुनरागमन र सही समयमा गोल गर्न सक्ने खुबी नेपाली टोलीले यस पटक देखाएको छ। तीन टिममात्र भएको समूहमा माल्दिभ्सले कुनै खेल जित्न सकेन भने कुनै गोल नै नगरी अन्तिम चारमा स्थान बनाएको हो। श्रीलंकासँग समान अंक भएपछि टसमा भाग्यमानी बन्दै माल्दिभ्सले नेपालसँगको सेमिफाइनल भेट पकका गरेको थियो।

समूह चरणमा नेपालले दुई खेलमा जित र एक हारको नतिजा निकाल्दा नेपालले ७ गोल गरिसकेको छ र नेपाल सर्वाधिक गोल गर्ने टोली समेत हो। नेपालका ६ फरक खेलाडीले गोल गर्दा विमल घर्ती मगरले दुई गोल गरिसकेका छन्।

यसले नेपालको जुनसुकै खलाडी पनि गोल गर्न सक्षम छन् भन्ने देखाएको छ।

साफ सुरु हुनुअघि नेपालका प्रशिक्षक बालगोपाल महर्जनले नेपालको लक्ष्य पहिले सेमिफाइनल र त्यसपछि उपाधि भएको बताएका थिए। पाकिस्तानसँग पहिलो खेल हार्दा समेत नआत्तिएका बालगोपालले बाँकी दुवै खेल जितेर सेमिफाइनल पुग्ने आत्मविश्वास देखाएका थिए।

नेपालले त्यस्तै नतिजा निकाल्यो। अब सेमिफाइनल र फाइनल बाँकी छ। दुई खेल जितेमा नेपालले इतिहास रच्नेछ।

माल्दिभ्सलाई पराजित गर्न नेपाल तयार : बालगोपाल महर्जन

 
प्रशिक्षक बालगोपाल महर्जनले मंगलबार भएको प्रि-म्याच प्रेस कन्फ्रेन्समा माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनल पुग्नेमा विश्वस्त रहेको बताएका छन्। ‘हामीसँग माल्दिभ्सलाई जित्ने आधार छ। समूह चरणका तीन खेलमा नेपालले सशक्त प्रदर्शन गरेको छ। टिममा सुधार भइरहेको छ।’ महर्जनले भने, ‘खेलाडीले आफ्नो शतप्रतिशत दिएर खेलेका छन्। वैकल्पिक खेलाडीले पनि राम्रो खेलिरहेको छ। त्यसै अनुसार खेल्न सके हामी माल्दिभ्सलाई पराजित गर्न सक्नेछौं।’

नेपालका कप्तान विराज महर्जनले माल्दिभ्सविरुद्ध खेल्न तयार रहेको तर बढी आत्मविश्वास भएर नखेल्ने बताएका थिए। ‘हामी माल्दिभ्सविरुद्धको आत्मविश्वासी भएर खेल्नेछौँ। बढी आत्मविश्वासी भएर होइन। उनीहरु पनि कमजोर प्रतिद्वन्दी हैन।’ भुटानविरुद्ध खेल्दै नेपालका लागि सर्वाधिक ६९ क्याप जितेका कप्तान महर्जनले भने।

उनले टिमले पछिल्ला खेलहरुमा निकै राम्रो खेलिरहेको र माल्दिभ्सविरुद्ध जितकै लागि खेल्ने बताए।

यस्तै, माल्दिभ्सका प्रशिक्षक पिटरले प्रतियोगितामा नेपाल सबैभन्दा बलियो प्रतिद्वन्दी रहेको बताउँदै नेपालविरुद्ध सचेत भएर खेल्ने बताएका छन्। पिटरले  भने ‘नेपाल बलियो प्रतिद्वन्दी हो। उसले पछिल्लो समय राम्रो फुटबल खेलिरहेको छ। तर, हामी नेपाललाई रोक्दै फाइनलमा पुग्ने योजनामा हुनेछौं।’

साफ च्याम्पियनसीप: माल्दिभ्सलार्इ पराजित गर्दै नेपाललाई इतिहास रच्ने अवसर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell