PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायरको लागि ४ वटै टोली तयार



पहिलोपोस्ट

एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायरको लागि ४ वटै टोली तयार
नेपालका प्रशिक्षक गंगा गुरुङ र कप्तान प्रिती राई

काठमाडौँ : भोलीदेखि काठमाडौँमा सुरु हुने एएफसी यू १६ वुमन्स च्याम्पियनसिप क्वालिफायरको लागी सहभागी चार वटै टोली तयारी अवस्थामा रहेको जनाएका छन्।

सन् २०१९ मा थाइल्याण्डमा हुने एएफसी एएफसी यू-१६ वुमन्स च्याम्पियनसिपको पहिलो चरणको क्वालिफायर अन्तर्गत समूह इ का खेलहरु एपीएफ मैदान हलचोकमा हुँदैछ।

क्वालिफायरमा घरेलु टोली नेपालसहित म्यानमार, फिलिपिन्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन्। क्वालिफायरको समूह विभाजन गर्दा यस समूहमा सिरिया पनि थियो तर सिरियाले पछि नाम फिर्ता लिएपछि चार टोलीबीच प्रतिस्पर्धा हुने भएको हो।

मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा चार वटै टोलीका प्रशिक्षकले क्वालिफायर खेल्न उत्साहित रहेको बताएका हुन्।

नेपाल भुटानमा भएको साफ यू-१५ च्याम्पियनसिप खेलेर आएको हो भने बाँकी तीन टोलीले आसियन फुटबल संघले आयोजना गर्ने एएफएफ यू-१६ च्याम्पियनसिप खेलेर आएको हो।

नेपालका प्रशिक्षक गंगा गुरुङले क्वालिफायरका लागि राम्रो तयारी गरिरहेको बताइन्। उनले साफ यू-१६ खेलेर धेरै अनुभव समेत हासिल भएको बताइन्।

'भुटान जानुअघि हामीले दुई महिनाको तयारी गरेका थियौँ। उताबाट आएपछि तयारीलाई निरन्तरता दिइरहेका छौँ।

सबै खेलाडीले शतप्रतिशत दिएर तयारी गरेका छन्। भोली पहिलो खेल फिलिपिन्ससँग छ र त्यो खेल दोस्रो चरण पुग्नका लागि महत्वपूर्ण हुनेछ। हामी नजिक आफ्नो पक्षमा पार्न लागि खेल्नेछौँ।'

हलचोकमा कृतिम मैदान खेल्नेपर्ने भएकोले नेपालले एन्फा कम्प्लेक्समा रहेको एस्ट्रो टर्फमा तयारी गरेपनि ५ दिन हलचोकमा तयारी गरेर रिकभर गरेको समेत गुरुङले बताइन्।

गुरुङले नेपाली टोली अनुशासित रहेको र टिमवर्क, धैयर्ता र ट्याक्टिकल्ली राम्रो रहेको जानकारी दिइन्। नेपालले तीनवटै टिमसँग पहिलो पटक खेल्न लागेकोले विपक्षी टिमबारे भने थाहा नभएको उनले बताइन्। 'तर कुनै पनि टिमलाई कमजोर र बलियो भनेर सोच्नु हुँदैछ।'

नेपालका कप्तान प्रिती राईले आफूहरु मानसिक रुपमा तयार रहेको र भोलीको पहिलो खेल महत्वपूर्ण रहेको बताइन्। 'भुटानमा साफ यू-१६ खेलेपछि टिममा पनि धेरै परितर्न भएको छ। हामीले धेरै कुरा सिकेका छौँ र यस क्वालिफायरमा मेहनत गरेर खेल्छौँ।'

साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो भने तेस्रो स्थानको खेलमा भुटानसँग पराजित भएको थियो।

यस्तै म्यानमारका प्रशिक्षक सान सान थेनले सहभागी अन्य तीन वटै टिम राम्रो रहेकोले खेल्न उत्साहित रहेको बताइन्। 'हामीले एएफएफ यू-१६ मा मलेसिया र फिलिपिन्ससँग खेलेका थियौँ। अरु टिम पनि राम्रो छन्। टिम कम्पोजिसन राम्रो छ। नेपालसँग भने अहिलेसम्म खेलेको छैन।'

एएफएफमा तेस्रो भएको म्यानमारले समूह चरणमा फिलिपिन्सलाई ७-१ ले हराएको थियो भने मलेसियालाई २-१ ले पराजित गरेको थियो।

शुक्रवारै नेपाल आइपुगेको फिलिपिन्सका प्रशिक्षक मारिएे बेनिटेजले भने आफ्नो टिम चाँडै आएकोले ३ दिनमा यहाँ ट्रेनिङ गर्नुका साथै धेरै कुरा सिकेको बताए। 'हाम्रो तयारी राम्रो छ। नेपालमा पनि हामीले ट्रनिङ गर्‍यौँ। कुनै पनि टुर्नामेन्टमा जित्नकै लागि तयारी गरिन्छ। हामी पनि राम्रो नतिजा निकाल्ने आशमा छौँ।' बेनिटेजले भनिन्। एएफएफमा म्यानमारसँग फराकिलो अन्तरले पराजित भएपनि त्यसबाट धेरै कुरा सिकेको उनले बताइन्। उनले भोली नेपालसँग पहिलो खेल खेल्न उत्साहित रहेको समेत सुनाइन्।

यसैगरी मलेसियाका प्रशिक्षक तिमबानगन बिनले मलेसियामा यस्तो खालको उमेर समूहको कुनै टुर्नामेन्ट नभएको र क्वालिफायरको लागि १० दिन मात्र तयारी गरेको बताए। उनले घरेलु टोली भएकोले नेपाललाई एडभान्टेज हुने बताउँदै आफूहरु दोस्रो चरणको लागि छनोट हुन खेल्ने बताए।

एएफसीले क्वालिफायरमा सहभागी ३३ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाउँदैछ। ६ समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन्। यस्तै ६ समूहका उपविजेतामध्ये उत्कृष्ट २ टोलीले समेत दोस्रो चरणको यात्रा तय गर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell