काठमाडौँ : पल्सर शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतवार भएको खेलमा संकटा क्लब विजयी भएको छ।
लक्ष्मण रुचालले इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गरेपछि संकटाले सरस्वती युथ क्लबलाई १-० ले पराजित गरेको हो। जितपछि संकटाले ३ अंक जोडेको छ। रुचालले सेड्रिक अबाको क्रसमा गोल गरेका हुन्।
शनिवार एनआरटी र आर्मीबीच भएको लिगको उद्घाटन खेल बराबरीमा सकिएको थियो।
झण्डै पाँच वर्षपछि सुरु भएको ए डिभिजन लिग दुई खेलपछि नै स्थगित भएको छ। नेपालको राष्ट्रिय टोली बंगलादेशमा हुने बंगबन्धु गोल्डकप खेल्न गएका कारण लिग स्थगित भएको हो।
ए डिभिजन लिगमा १४ क्लब सहभागी छन। पहिलो राउण्डमा अझै पाँच खेल बाँकी छ। नेपाली टोलीको प्रदर्शनका आधारमा लिगको बाँकी खेल तालिका तय गरिने एन्फाले जनाएको छ।
