
काठमाडौं : बर्दियाबाट पराजित नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रभावशाली नेता वामदेव गौतम काठमाडौं–७ बाट पनि पराजित हुने रिपोर्ट पार्टीका दुबै अध्यक्षसामु पुगेको छ।
तत्कालिन नेकपा एमालेको जिल्ला संगठनले यस्तो रिपोर्ट पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु पुर्याएको हो।
बुधवार बालुवाटारमा पुगेर ने क पाका काठमाडौं जिल्लाका नेताहरुले यस्तो रिपोर्ट बुझाएपछि गौतमको संसद प्रवेशको चाहनामा थप चुनौती थपिएको छ।
यसरी रिपोर्ट पेस गर्नेमा काठमाडौं ७ को प्रदेशसभाका दुई सांसदसमेत रहेका छन्। उनीहरुले बालुवाटारमै पुगेर प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई सांसद रामवीर मानन्धरको राजीनामा पार्टी संगठनलाई क्षति पुर्उने भन्दै यस्तो निर्णय नगर्न आग्रह गरेको ने क पाका एक सदस्यले पहिलो पोस्टलाई जानकारी दिए।
उनीहरुले बुधवार नै अर्का अध्यक्ष प्रचण्डलाई भेटेर सोही रिपोर्ट पेस गरेका थिए। त्यसपछि प्रचण्डले बुधवार नै आयोजित एक कार्यक्रममा वामदेव हार्ने गरी काठमाडौं–७ मा चुनाव नगराउने बताएका थिए।
ने क पाका तर्फबाट काठमाडौं ७ बाट प्रदेशसभा निर्वाचित सांसदहरुल बसन्त मानन्धर र प्रकाश श्रेष्ठले अहिलेको अवस्थामा रामवीर मानन्धरलाई राजीनामा गराएर वामदेव उठे पराजित हुने रिपोर्ट पेस गरेपछि प्रचण्डसमेत झस्किएका छन्।
‘उहाँहरुले मानन्धर कामरेडको निर्णयले पार्टीलाई घाटा पुग्ने भन्दै राजीनामाको निर्णय नगर्न सुझाव दिनुभएको छ,’ ने क पाका एक केन्द्रीय सदस्यले भने, ‘सरकारको काम कारवाही प्रति असन्तुष्टि बढिरहेको अवस्थामा उहाँले छाडेर वामदेव उठे पार्टीले एउटा सांसद गुमाउने र पार्टीकै लागि आत्मघाती हुने बताउनु भएको छ।’
सांसद मानन्धरले पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा स्वीकृत गर्ने प्रस्ताव बुझाएका थिए। गत सोमवार बसेको सचिवालयको बैठकमा महासचिव विष्णु पौडेलले उनको प्रस्ताव पढेर सुनाएका थिए।
उनको राजीनामाको विषयमा बुधवार बस्ने भनिएको सचिवालयको बैठकमा निर्णय लिइने बताइएको थियो। तर बुधवार डाकिएको बैठक रोकिएको थियो।
मंगलवार मानन्धरले पत्रकार सम्मेलन गरी पार्टी सचिवालयले निर्णय गरेपछि सभामुखलाई राजीनामा बुझाउने घोषणा गरेका थिए। उनले काठमाडौं ७ बाट वामदेवलाई जिताएरै पठाउने दावीसमेत गरेका थिए।