PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

युनिफिकेसन चर्चले चुलिएको उच्चस्तरीय भ्रमण : २०१८ मै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउने मिसन असफल



विधुर ढकाल

युनिफिकेसन चर्चले चुलिएको उच्चस्तरीय भ्रमण : २०१८ मै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउने मिसन असफल

काठमाडौं : नयाँ सरकार गठन भएसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले २०१८ लाई उच्चस्तरीय भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरे। उनले यस्तो भनिरहँदा दुवै छिमेकी देशबाट उच्चस्तरीय भ्रमण गराउने घोषणा गत मार्चमै गरेका थिए। 

यसबीच २०१८ बित्नै लागेको छ। दक्षिणी छिमेकी भारतबाट दुई पटक प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेर फर्किए। तर, उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय भ्रमण हुन सकेन। 

सरकार बन्नासाथ ओलीले पनि सन् २०१८ भित्रै भारत र चीनको भ्रमण गर्ने बताएका थिए। उनले दुवै छिमेकी देशको भ्रमण २०१८ मा गरे। 
२०१८ भित्र दुवै छिमेकीबाट कार्यकारी प्रमुखलाई नेपाल भ्रमण गराउने घोषणा गरेका परराष्ट्रमन्त्री ज्ञवालीले मंगलबार २०१७/१८ को प्रगति प्रतिवेदन मन्त्रालयमा सार्वजनिक गरे। उनले मन्त्रालयमा ९ महिना बिताइसकेका छन्। 

मन्त्री ज्ञवालीले २०७४ साउन देखि २०७५ असार सम्मको प्रगति विवरण सार्वजनिक गरे। गएको ९ महिनामा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणसँगै नेपालका प्रधानमन्त्रीको भारत र चीन भ्रमणसमेत भयो। 

यी हुन वर्षका उच्चस्तरीय भ्रमण
वर्ष २०१७/१८ मा नेपालले १३ नयाँ देशसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ। प्रतिवेदनमा अगस्ट सम्मको प्रगति विवरण समावेश छ। त्यसयता नेपालले थप दुई वटा देशसँग कुटनीतिक सम्बन्ध स्थापना गरिसकेको छ। 

नेपालले सेप्टेम्बर २६ मा माडागास्कर र अक्टोबर ११ मा सुरिनामसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ। नेपालले यसबीचमा स्पेनमा दूतावास खोलेको छ। 

यसै अवधिमा नेपालका प्रधानमन्त्री ओलीले अप्रिलमा भारत र जुनमा चीनको भ्रमण गरे। त्यसयता प्रधानमन्त्री ओलीले सेप्टेम्बरमा न्युर्योकमा संयुक्त राष्ट्र संघको महासभामा सहभागिता जनाए। त्यतैबाट कोस्टारिका पुगेर फर्किए। 

त्यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०१७ अगस्टमा भारत र सेप्टेम्बरमा ओमानको भ्रमण गरेका थिए। देउवाले सेप्टेम्बरमै अमेरिकाको भ्रमणसमेत गरेका थिए। 

यसबीच नेपालले मार्चमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री शाहीद खाकन अब्बासीलाई स्वागत गर्‍यो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई त्यसलगत्तै स्वागत गर्‍यो। यस वर्ष दुई पटक नेपाल आएका मोदी पहिलो पटक मे ११ मा नेपाल भ्रमणमा आए। उनको त्यो भ्रमण धार्मिक भ्रमण थियो। 

त्यसपछि मोदीले विम्स्टेक सम्मेलनका क्रममा अगस्टमा नेपालको आफ्नो चौथो तथा यस वर्षको दोस्रो भ्रमण गरे। 

नेपालले यही वर्ष मे मा सर्वियाका उपप्रधानमन्त्री इभिका डासिसलाई स्वागत गर्‍यो। उनी मे ४ मा दुई दिनको नेपाल भ्रमणमा आएका थिए। 

यसै वर्ष नेपालमा भ्रमण गर्नेमा कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि छन्। उनी युनिफिकेशन चर्चले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सहभागी हुन नेपाल आएका हुन्। उनले नोभेम्बरको अन्त्यमा नेपालको भ्रमण गरे। त्यस्तै म्यानमारबाट स्टेट काउन्सिलर आङ साङसुकीले नेपालको सद्भाव भ्रमण गरिन्। उनी पनि एसिया प्यासिफिक समिटमा सहभागी हुन् नेपाल आएकी हुन्। 

यता एसिया प्यासिफिक समिटकै क्रममा विभिन्न देशका राष्ट्र प्रमुखले नेपालको भ्रमण गरे। प्रधानमन्त्री केपी शर्मा ओली र टुभालुका सरकार प्रमुख (गभर्नर अफ जेनेरल) लावोका टाइना इटालेली बीच भेटवार्ता भएको थियो।

भेटमा जलवायु परिवर्तनले दुवै देशलाई पारेका असर र त्यसबाट जोगिनका लागि अपनाउनु पर्ने सजगताको विषयमा छलफल भएको थियो।

सम्मेलनकै क्रममा पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी र कोलम्वियाका पूर्व राष्ट्रपति आन्द्रेस पास्त्राना अरंगो, भारतीय पूर्व प्रधानमन्त्री एच देवगौडा, इरानका पूर्व राष्ट्रपति हसन गाफोरी, फिलिपिन्सका उपराष्ट्रपतिसहित अन्य देशका राष्ट्र प्रमुखहरु नेपाल आएका थिए। 


विम्स्टेकमा सात देशका राष्ट्र-सरकार प्रमुखको जमघट
नेपालले २०१८ मै बहुपक्षीय आर्थिक तथा प्राविधिक साझेदारीका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक)को चौथो शिखर सम्मेलनको सफल रुपमा आयोजना गर्‍यो। सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सात देशका सरकार प्रमुखहरु काठमाडौंमा भेला भए। 
सम्मेलनमा मोदीसहित बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला शिरिसेना, भुटानका अन्तरिम राज्यपरिषदका प्रमुख सल्लाहकार दसो छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले नेपालको भ्रमण गरे। 

यसै क्रममा श्रीलंकाका राष्ट्रपति शिरिसेनाले दुई दिन नेपालको सद्भाव भ्रमणसमेत गरे। 

२०१७ को अगस्टमा चिनियाँ राज्य परिषदका उपप्रधानमन्त्री वाङ याङले नेपालको भ्रमण गरेका थिए। उनी गत वर्ष अगस्ट १४ देखि १७ सम्म नेपालको भ्रमण गरेर फर्किएका हुन्। चीनबाट यसबीच भएको यो भ्रमण नै उच्चस्तरीय भ्रमण हो। 

यसैबीच यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको भ्रमण गरिन्। हालै मात्र राष्ट्रपति भण्डारी पोल्याण्डको भ्रमणबाट फर्किएकी छिन्। उनी जलवायु सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पोल्याण्ड गएकी हुन्। यसबीच उपप्रधानमन्त्री नन्दबहादुर पुनले चीनको भ्रमण गरे। 

मन्त्रीहरुको विदेश दौडाहा
नयाँ सरकार बनेपछि मन्त्रीहरुको विदेश दौडाहा पनि लामो छ। परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले १० वटा देशको भ्रमण गरेका छन्। ज्ञवाली जापान, थाइल्याण्ड, बेल्जियम, अष्ट्रिया, पोर्चुगल, अमेरिका र कतार पुगे। त्यस्तै ज्ञवालीले भारत र चीनकोसमेत भ्रमण गरे। 

उनीमात्र होइन्, सञ्चार मन्त्री गोकुल बास्कोटा पनि इथियोपिया, युएई, कोरिया, भारतलगायतका देश भ्रमण गरिसको छन्। ओली सरकारमा ढिलो गरी सहभागी भएका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पछिल्लो तीन महिनामै पाँच वटा देशको भ्रमण गरिसकेका छन्। उनले कतार, युके, काजकस्तान र स्वीजरल्याण्डको भ्रमण गरेका हुन्। उनी थाइल्याण्डसमेत पुगे। 

त्यस्तै अर्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि चीन, लेवनन र पोल्याण्ड लगायतका देश भ्रमण गरिसकेका छन्। अर्थमन्त्री युवराज खतिवडाले अमेरिका, इटाली, इन्डोनेसिया लगायतका देशको भ्रमण गरेका छन्।

कति आए विदेशी?
यसबीच भारतीय विदेशमन्त्री सुस्मा स्वराजले नेपालको भ्रमण गरिन्। त्यस्तै नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्री निकोलाई अस्ट्रुपले नेपालको दुई दिने भ्रमण गरे। उनले मार्चमा नेपालको भ्रमण गरेका थिए। 

त्यस्तै बेलायती विदेश मन्त्रालयका एसिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्क फिल्डले नेपालको दुई दिने भ्रमण गरे। उनले मेमा नेपालको भ्रमण गरेका हुन्। त्यस्तै बेलायतबाटै रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टरले फेब्रुअरीमा नेपालको भ्रमण गरे।

त्यस्तै अमेरिकी दक्षिण तथा मध्ये एसिया मामिला उपसहायक मन्त्री एलिस जे वेल्सले पनि नेपालको भ्रमण गरेका छन्। 

उत्तरी छिमेकीबाट को को आए?
यसबीच उत्तरी छिमेकी चीनबाट साना ठूला प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आएका छन्। मन्त्रालयगत रुपमा निम्तो पाएर आउने प्राविधिक तथा मन्त्रालयका अधिकारीहरुसहितको टोली बाहेक चीनबाट वर्ष २०१८ मा उपमन्त्रीहरुले समेत भ्रमण गरे। 

चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री वाङ याजुनले गत जुलाईमा नेपालको भ्रमण गरे। उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री सहितका नेताहरुसँग भेट गरे। त्यस्तै उनको भ्रमणको क्रममा दुई देशबीच चिनियाँ गैर सरकारी संस्थाले नेपालमा काम गर्न पाउने सम्बन्धी सम्झौता भयो।  

त्यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री ये झाउले नेपालको भ्रमण गरेका थिए। २०१८ को फेब्रुअरीमा उनले नेपालको भ्रमण गरे। भ्रमणका क्रममा उनले तत्कालीन प्रधानमन्त्री देउवासहितका उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए। 

चिनियाँ पर्यटन तथा संस्कृति मन्त्री लु सुकाङले पनि नेपालको भ्रमण गरे। उनले नोभेम्बरमा नेपालको भ्रमण गरेका हुन्। 

त्यस्तै चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न तहका प्रतिनिधि मण्डल नेपालको राजनीतिक भ्रमणमा आएर फर्किएका छन्। 

पटक पटकको निम्तो किन आएनन् राष्ट्रपति सी?
चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणको चर्चा सन् २०१६ देखि नै छ। सन् २०१६ मा पहिलो आफ्नो पहिलो कार्यकालमा चीन भ्रमणमा पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। उनले स्वदेश फर्किने क्रममा राष्ट्रपति सीले नेपालको भ्रमण गर्ने बताएका थिए। 

त्यस लगत्तै उनको सरकार ढल्यो। प्रधानमन्त्रीका रुपमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीका रुपमा सिहंदरबार प्रवेश गरे। 

आफू प्रधानमन्त्री हुनासाथ प्रचण्डले तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा चीन भ्रमण गराए। उनको भ्रमण चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिन भएको बताइएको थियो। महराले बेइजिङमा पुगेर त्यहाँका सरकारका प्रतिनिधिहरुलाई नेपालको तर्फबाट भ्रमणको निम्तो दिए। 

प्रचण्ड स्वयम् चीन भ्रमण गरेर सीलाई भ्रमणको निम्ता दिए। त्यस्तै, भारतको गोवामा भएको ब्रिक्स विम्स्टेक आउटरिच सम्मेलनका क्रममा पनि चिनियाँ राष्ट्रपति सीलाई भ्रमणको निम्तो दिए। त्यस्तै हालका प्रधानमन्त्री ओलीले चीन भ्रमण गरेर नेपाल भ्रमणको निम्तो दिए। 
पटक पटक चीनका राष्ट्रपति सीले नेपाल भ्रमणको निम्तो औपचारिक तथा अनौपचारिक रुपमा पाएका छन्। दक्षिण एसियाका नेपाल र भुटान बाहेकका देशको भ्रमण गरिसकेका सीले नेपालको भ्रमणका लागि समय निकालेका छैनन्। 

सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाउने बताइए पनि यस वर्ष पनि सीको नेपाल भ्रमण हुन सकेन। त्यति मात्र होइन्, नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पनि उत्तरी छिमेकी चीनको भ्रमण गरेकी छैनन्। 

२०१९ मा होला सीको नेपाल भ्रमण?
यसैबीच उनले २०१९ को पहिलो त्रैमासिकमा नेपालको भ्रमण गर्ने चर्चा सुरु भएको छ। हाल नेपालका लागि चिनियाँ राजदुत यु होङ आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किँदै छन्। 

उनको स्थानमा चीनले विदेश मन्त्रालयको एसिया मामिला हेर्ने चार डेपुटी डाइरेक्टर जनरल मध्येकी एक होउ यान्छीलाई नेपालका लागि नयाँ राजदूतका रुपमा पठाउने तयारी गरेको छ। 

चीनको यो कदम राष्ट्रपति सीको नेपाल भ्रमणको रुपमा लिइएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका लागि दुई देशबीच छलफल चलिरहेको बताउँछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell