
काठमाडौं : तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को उपाधिका लागि साविक उपविजेता भैरहवा ग्लाटिएटर्स र ललितपुर प्याट्रिओट्सबीच शनिवार खेल हुँदैछ।
काठमाडाको कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको प्रतियोगिताको फाइनल खेल साढे १२ बजे सुरु हुनेछ। यसअघि आयोजकले फाइनल खेल १ बजे सुरु हुने जनाएपनि शुक्रवार आयोजकले नयाँ समयमा फाइनल खेल सुरु हुने जानकारी दिएको हो।
६ टोलीले प्रतिस्पर्धा गरेको इपीएलमा १८ खेलपछि दुई टोली फाइनल भिडन्तका लागि तयारी अवस्थामा छन्। राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर लिग चरणमा शीर्ष स्थानमा रहेको थियो। उता शरद भेषावकरको कप्तानीमा रहेको गत सिजनको उपविजेता भैरहवा लिगमा तेस्रो स्थानमा थियो।
फाइनल पुग्न दुवै टोलीले क्वालिफायर्समा काठमाडौँ किंग्स ११ लाई पराजित गरे। लिगमा दोस्रो भएको काठमाडौँलाई ललितपुरले पहिलो क्वालिफायर्समा १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। यस्तै भैरहवाले एलिमिनेटरमा लिगमा चौथो भएको चितवनलाई पराजित गर्दै दोस्रो क्वालिफायर्समा छनोट भयो र त्यसमा काठमाडौँलाई ६ विकेटले पराजित गर्यो।
दुवै टोलीका कप्तानले क्वालिफायर्स जितेपछि फाइनल खेल्न आतुर रहेको बताएका थिए। यस्तै फाइनलमा यसअघिका गल्तीलाई सुधार गर्दै उपाधि जित्ने लक्ष्य दुवै टोलीको छ।
भैरहवा गत सिजन क्वालिफायर्समा ललितपुरला२ नै पारजित गर्दै फाइनल पुगेको थियो भने उपाधि भिडन्तमा विराटनगर वारियर्ससँग १ रनको झिनो अन्तरले मात्र पराजित भएको थियो। ललितपुर पनि क्वालिफायर्समा क्याच छुटाउँदा भैरहवासँग पराजित भएको थियो। दुवै टोली सामान्य गल्तीलाई नदोहोर्याउने लक्ष्यसहित फाइनल खेल्न चाहन्छन्।
लिग चरणमा ललितपुरले भैहरवालाई ६ विकेटले पराजित गरेको थियो। ललितपुर त्यही लयलाई कायम राख्ने योजनामा हुनेछ र भैरहवा त्यसको बदला लिँदै उपाधि जित्ने दाउमा हुनेछ।
कर्पोरेट हाउसहरुको नाममा २०१६ मा भएको पहिलो संस्करणमा शरद भेषावकरको कप्तानीमा रहेको पञ्चकन्या तेजले ज्ञानेन्द्र मल्लकै कप्तानीमा रहेको कलर्स एक्स-फ्याक्टरलाई पराजित गर्दै उपाधि जितेको थियो।
फ्रेन्चाइज स्वरुपमा लिग हुन थालेपछि भने शरद र ज्ञानेन्द्रको टिम फाइनलमा खेल्न लागेको यो पहिलो पटक हो। यसैगरी घरेलु क्रिकेटमा शरदको कप्तानीमा रहेको टिमले फाइनल खेल्न लागेको यो छैटौँ पटक हो।
पहिलो संस्करणको इपीएल र त्यसअघि भएको ५० ओभरको नेपाल प्रिमियर लिगमा शरदको टिम पञ्चकन्या तेज च्याम्पियन बनेको थियो। यस्तै गत सिजनको इपीएलमा शरदको भैरहवा पारस खड्काको विराटनगरसँग पराजित भयो। धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो संस्करणमा शरदको कपुतानीमा रहेको विराटनगर किंग्स पारसको कप्तानीमा रहेको टिम चौराह धनगढीसँग फाइनलमा पराजित भएको थियो। दुई महिनाअघि पोखरामा भएको पोखरा प्रिमियर लिगमा शरदको पोखरा पल्टनले पारसको चितवन राइनोजलाई पराजित गर्दै उपाधि जितेको थियो।