काठमाडौँ : पहिलो खेल हारेर पनि ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को च्याम्पियन बनेको छ। उद्घाटन खेलमा गत वर्षको विजेता विराटनगर वारियर्ससँग पराजित भएपनि त्यसपछि लगातार ६ खेल जित्दै ललितपुरले उपाधि जित्यो।
शनिवार कीर्तिपुरस्थित टीयू मैदानमा भएको फाइनलमा गत वर्षको उपविजेता भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो।
फाइनलमा ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो।
त्यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको भैरहवाले ललितपुरलाई १९.१ ओभरमा अलआउट गरेको थियो।
लगातार दोस्रो पटक फाइनल पुगेपनि भैरहवाको उपाधि जित्ने चाहना भने यो पटक पनि अधुरै रह्यो।
अन्तिम ओभरमा भैरहवालाई जितका लागि ६ बलमा १७ रन आवश्यक थियो। तर ललितपुरका योगेन्द्र सिंह कार्कीको उक्त ओभरमा भैरहवाले ३ विकेट गुमायो भने २ रन मात्र बनाउन सक्यो। त्यसओभरमा योगेन्द्रले १ विकेट लिए भने भैरहवाका दुई खेलाडी रनआउट भए।