PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

न्यू डायमण्ड कप महिला भलिबल प्रतियोगितामा ८ टोली, चार समूहमा विभाजन



पहिलोपोस्ट

न्यू डायमण्ड कप महिला भलिबल प्रतियोगितामा ८ टोली, चार समूहमा विभाजन

काठमाडौँ : न्यू डायमण्ड स्पोर्टस क्लबको आयोजनामा हुने दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा कूल ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

यही पुस २५ देखि २८ गतेसम्म हुने प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, एपीएफ र त्रिभुवन आर्मी,न्यू डायमण्ड एकेडेमी टप्स मावि पोखरा, पारामाउन्ट स्कुल, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवन ताइग्रेसले प्रतिस्पर्धा गर्ने आयोजकले शुक्रवार जानकारी दिएको हो।

यस्तै यसअघि नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने भनिएको थियो। तर खेलस्थल परिवर्तन गर्दै अब न्यू डायमण्ड एकेडेमीको भलिबल कोर्टमा हुने आयोजकले जनाएको छ।

लिगकम नकआउटका आधारमा हुने प्रतियागितामा सहभागी ८ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा न्यू डायमण्ड र चितवन, समूह ‘बी’ मा टप्स र पारामाउन्ट, समूह ‘सी’ मा आर्मी र पुलिस तथा ‘डी’ मा एपिएफ र जावलाखेल छन्।

चार समूहमा विभाजन गरिएपनि समूह चरणको खेलपछि सबै ८ टोली क्वाटरफाइनल पुग्नेछन्। समूह चरणको चार खेलपछि चारवटै समूहको समूहविजेता र उपविजेताको टुङ्गो लाग्नेछ। त्युपछि समूह ए को विजेताले समूह बी को उपविजेता र समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ। यस्तै समूह सी को विजेताले समूह डी को उपविजेता र समूह डी को विजेताले समूह सी को उपविजेतासाग खेल्नेछ।

प्रतियोगिताको विजेता टोलीले तीन लाख, उपविजेताले दुई लाख, तेस्रोले एक लाख एक हजार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट एक खेलाडीले  १५ हजार हात पार्नेछ भने व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले ५-५ हजार प्राप्त गर्नेछन्।

प्रतियोगिता सञ्चालन गर्न नेपाल भलिबल सङ्घले १५ हजार सहयोग गर्ने सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell