
काठमाडौँ : नेपालका सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग बीपीएल डेब्युमा उत्कृष्ट प्रदर्शन गरेपनि उनको टिम सिलेट सिक्सर्स पराजित भएको छ।
आइतवार भएको खेलमा सिक्सर्स कोमिला भिक्टोरिएन्ससँग ४ विकेटले पराजित भएको हो।
सन्दीपले डेब्यु खेलमा ४ ओभर बलिङ गर्द १६ रन खर्चेर २ विकेट लिए। सुरुको २ ओभरमा ८ रन खर्चेर विकेट लिन नसकेका सन्दीपले पछिल्लो २ ओभरमा एक-एक विकेट लिएका थिए। सन्दीपले भिक्टोरिएन्सका सोएल मल्लिकलाई सविर रहेमानको हातबाट क्याचआउट गराए भने अनामुल हकलाई बोल्ड गरे।
पाकिस्तानका लिजेण्ड शाहिद अफ्रिदीले शानदार ब्याटिङ गर्दै नटआउट ३९ रन बनाएपछि सिक्सर्सले दिएको १२८ रनको लक्ष्य भिक्टोरिएन्सले १ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गरेको हो।
सातौँ नम्वरमा ब्याटिङ गरेका अफ्रिदीले २५ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे। ओपनर तमिम इकबालले ३४ बल खेल्दै ३५ रन योगदान गरे। सिक्सर्सका लागि सन्दीप र अल-अमिन हुसेनले २-२ विकेट लिए। सन्दीप सिक्सर्सका लागि सबैभन्दा किफायती बलर बने। उनले २४ बल बलिङ गर्दा १२ बल डट फाले भने २ वाइड बल फाले। तर उनले चौका र छक्का भने दिएनन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिक्सर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाउदा सन्दीपले नटआउट १ रन बनाएका थिए। सिक्सर्सका लागि निकोलस पुरनले २६ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ४१ रन बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन्।
सिक्सर्सले अब दोस्रो खेलमा बुधवार चितागोङ भाइकिङ्ससँग प्रतिस्पर्धा गर्नेछ।