
काठमाडौँ : ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपाल पहिलो ओडिआईमा युएईसँग ३ विकेटले पराजित भएको छ। आमिर हायत र इमरान हैदरको अलराउण्ड प्रदर्शनमा युएईले खेल जित्दै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
नेपालले दिएको ११४ रनको सामान्य लक्ष्य युएईले ३२.१ ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाउदै पूरा गरेको हो।
२०औँ ओभरमा ७३-७ को अवस्थामा रहेको युएईलाई जित दिलाउन आमिर हायत र इमरान हैदरले आठौँ विकेटको लागि नटआउट ४३ रनको साझेदारी गरेका थिए। आठौँ नम्वरमा ब्याटिङ गरेका हायतले नटआउट २४ रन बनाउँदा हैदर १८ रनमा नटआउट रहे। ४२ बल खेलेका हायतले समान १ चौका र छक्का प्रहार गरे। यस्तै हैदरले ३९ बल खेल्दै २ चौका प्रहार गरे।
युएईको लागि तेस्रो नम्वरमा ब्याटिङ गरेका विकेटकिपर घुलाम शब्बरले सर्वाधिक ३० रन बनाएका थिए। यसतै शाइमन अनवरले ११ रन जोडे।
बलिङमा नेपालको लागि करण केसी, कप्तान पारस खड्का र सन्दीप लामिछानेले २-२ र सोमपाल कामीले १ विकेट लिए।
त्यसअघि दुबईस्थित आइसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३३.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो।
नेपालको लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा, आरिफ शेखले २५ र कप्तान पारस खड्काले २० रन जोडे। यस्तै सन्दीप लामिछानेले १५ रन जोडे।
पारस, सोमपाल र आरिफबाहेक नेपालको इनिङ्समा बाँकी खेलाडीले दोहोरो स्कोर छुन सकेनन्। ओपनर ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मीले खाता समेत खोल्न सकेनन्।
युएईका लागि कप्तान नाभिदले र आमिर हायतले ३-३ तथा इमरान हैदरले २ विकेट लिए।
यस खेलमा नेपालका विनोद भण्डारी, ललित नारायण राजवंशी र पवन सर्राफले ओडिआईमा डेब्यु गरेका थिए।
दोस्रो ओडिआई शनिवार आइसीसी एकेडेमीमै हुनेछ।